कर्णाली प्रदेशको राजधानी सुर्खेतमा यसरी बढ्दैछ औद्योगिकक्षेत्रमा बैंकको लगानी


फाइल फोटो

बाँके : कर्णाली प्रदेशको राजधानी सुर्खेतमा बैंक तथा वित्तियक्षेत्रले कर्जा प्रवाह हरेक वर्ष जसो बृद्धि गर्दै लगेका छन् । नेपाल राष्ट्र बैंक अनुसार गत आर्थिक वर्षमा मात्र सुर्खेतमा रु २ अर्ब ९५ करोड ८० लाख कर्जा प्रवाह भएको छ । यो औद्योगिकक्षेत्रमा मात्र प्रवाह भएको कर्जा हो ।
गत आर्थिक वर्ष २०७४ र २०७५ मा प्रवाह भएको कर्जा आर्थिक वर्ष २०७३र२०७४ भन्दा ३९ प्रतिशतले बढि हो । आर्थिक वर्ष २०७३ र २०७४ मा २ अर्ब ११ करोड ५० लाख कर्जा लगानी भएको थियो । त्यसैगरी आर्थिक वर्ष २०७२ र २०७३ मा रु १ अर्ब ५१ करोड ९० लाख कर्जा प्रवाह भएको थियो ।
राष्ट्र बैंकले गत आर्थिक वर्ष आर्थिक सर्वेक्षण गरेको थियो । राष्ट्र बैंक नेपालगन्ज कार्यक्षेत्रभित्र पर्ने बाँके, बर्दिया, दाङ्ग, सल्यान, सुर्खेत र जुम्लाको पनि आर्थिक सर्वेक्षणको अवस्था सार्वजनिक गरिएको हो । उक्त सर्वेक्षण अनुसार सुर्खेत जिल्लामा गत आर्थिक वर्षमा बैंक तथा बित्तियक्षेत्रले औद्योगिकक्षेत्रमा पनि निर्माणक्षेत्रमा सबैभन्दा धेरै कर्जा प्रवाह भएको छ ।
निर्माणक्षेत्रमा सबैभन्दा बढि रु १ अर्व ६४ करोड ५० लाख, दोस्रोमा उत्पादनमुखीक्षेत्रमा रु ५५ करोड १० लाख, पर्यटन उद्योगमा रु ४ करोड ८० लाख, धातुका सामाग्री उत्पादनमा रु २४ करोड ८० लाख,बिद्युत, ग्याँस र पानी उत्पादनमा २ करोड ५० लाख, खानी सम्बन्धी उद्योगमा रु ७० लाख कर्जा प्रवाह भएको छ । कर्णाली प्रदेशको राजधानी बनेसंगै सुर्खेतमा लगानीको वातावरण बनेको छ भने औद्योगिकक्षेत्रमा कर्जा प्रवाहको दर पनि बढेको छ ।

सुर्खेतमा कृषि तथा जडिबुटीको प्रशस्त सम्भावना रहेको छ । कृषिमा सुर्खेतमा आफूलाई पुग्ने मात्र होइन, पर्याप्त मात्रामा उत्पादन गरेर निकासी गर्नसक्ने क्षमता रहेको रहेको छ । सुर्खेतले उद्योगका हिसाबले पनि प्रदेश नम्बर ६ का सबै जिल्लाको नेतृत्व गरेको छ । एसियाको सबैभन्दा ठूलो चुनढुंगाको खानी चौकुने सुर्खेतमा नै छ । सरकारले व्यापारी अजय सुमार्गीलाई उद्योग सञ्चालनको लाइसेन्स दिइसकेको छ ।

सुर्खेतलाई राजधानीका रूपमा विकास गर्न सक्ने अर्को महत्वपूर्ण आधार भनेको जलस्रोत हो । यस क्षेत्रको केन्द्रमा रहेको सुर्खेतमा नै जलस्रोतको विकासमा महत्वपूर्ण मानिने भेरी–बबई आयोजना निर्माण भइरहेको छ । यस्तै माथिल्लो कर्णाली आयोजना पनि सुरु हुँदैछ । यहाँका काँक्रेविहार, बुलबुले, भेरीमा (याफ्टिङ, प्याराग्लाइडिङ र अन्य पदयात्रामा समेत सम्भावना छन् । रारा ताल जाने बाटो पनि सुर्खेत भएर नै जाने भएकाले यो केन्द्रविन्दू रहेको  छ ।

प्रकाशित मितिः     १६ चैत्र २०७५, शनिबार ०८:०६  |