भारतका कारण अनिश्चित बन्दै नेपालगञ्ज र महेन्द्रनगर हवाई प्रवेश बिन्दु


  • उत्तम काप्री | काठमाडौं

विश्वका विभिन्न मुलुकबाट नेपाल आउने विमान प्रवेशका लागि भारतीय पक्षले दिनुपर्ने सबैभन्दा आवश्यक मानिएको पश्चिम नेपालको महेन्द्रनगर र नेपालगञ्ज हवाई प्रवेश विन्दु नदिने पक्कापक्की भएको छ। २०७५ जेठको पहिलो साता भएको दुईपक्षीय सम्झौताको उल्लंघन गर्दै भारतीय उड्डयन नियामक भारतीय विमानपत्तन प्राधिकरणले नेपालका लागि अति आवश्यक हवाई प्रवेश बिन्दु मानिएका महेन्द्रनगर र नेपालगञ्जको सट्टा भैरहवा प्रवेश बिन्दुको ‘ललीपप’ देखाएको छ।

दुईपक्षीय सहमतिबाट नै गत फागुनमा नेपाल नागरिक उड्डयन प्राधिकरण र भारतीय विमानपत्तन प्राधिकरणले अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ)मा संयुक्त रूपमा नयाँ हवाई प्रवेश बिन्दुका लागि आवदेन गरेका थिए। तर भारतीय पक्षले एक्लौटी रुपमा नेपालको पश्चिमतर्फका प्रवेश बिन्दुबाट हवाईजहाज भित्रने गरी अनुमति नदिने व्यहोराको पत्रचार नेपाललाई गरेको छ। तर आइकाओलाई संयुक्त रुपमा बुझाएको पत्रको जवाफ भने दुवै पक्षलाई आइसकेको छैन।

प्राधिकरण स्रोतका अनुसार भारतीय पक्षले सुरक्षाका कारण देखाउँदै पश्चिम नेपालतर्फका प्रवेश बिन्दुको सट्टा भैरहवा प्रवेश बिन्दुको प्रस्ताव गरेको छ। गत वर्ष असोज अन्तिम साता भारतमा भएको दुईपक्षीय प्राविधिक टोलीको छलफलमा पनि भारतीय पक्षले पश्चिम नेपालको मेहन्द्रनगरदेखि नेपालगञ्जसम्मका कुनै पनि स्थानबाट नेपाल प्रवेशका लागि अनुमति दिन नसक्ने बताएको थियो। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणका क्रममा नयाँ हवाई प्रवेश बिन्दुको विषय सुल्झाउन दुबै देशका प्राविधिक टोली खटाउने सहमति भएको थियो। तर, उक्त सहमति भएको ५ महिना पनि नबित्दै भारतीय पक्ष पश्चिम नेपालको कुनै पनि बिन्दूबाट विमान नेपाल प्रवेश गर्न नदिने पक्षमा पुगेका थिए। त्यसपछि दुवै पक्षले संयुक्त रुपमा नयाँ हवाई प्रवेश बिन्दुका विषयमा ‘सेफ्टी अटिड’ गर्ने गरी सहमति गरी आइकाओमा पत्र पठाएका थिए।

यसरी विभिन्न समयमा भएको सम्झौताभन्दा बाहिर गएर भारतीय पक्षले अन्तिम समयमा आएर फेरि पाकिस्तानसँग युद्धको विषय देखाउँदै अन्य बिन्दुको विकल्प अघि सारेको छ। भारतले भैरहवा प्रवेश बिन्दुको ’ललिपप’ मात्र देखाएको पुष्टि भन्दै भारतको आलोचना समेत हुने गरेको छ। भारतीय पक्षले पश्चिम नेपालको नेपालगञ्ज र महेन्द्रनगरबाट हवाई प्रवेश बिन्दू दिन भने आर्मी बेस क्याम्पको समस्या रहेको भन्दै आलटाल गरिरहेको थियो। अन्ततः भारतीय पक्षले पश्चिमका प्रवेश बिन्दुको सट्टा भैरहवा बिन्दुमै नेपाललाई चित बुझाउन बाध्य बनाउन लागको स्रोतको दाबी छ।

अहिले भारतले दिन तयार भएको जनकपुर रुट निजगढ विमानस्थल सञ्चालनमा लागि आवश्यक हो। तर, अन्य विमानस्थलका लागि पश्चिम नेपालको नेपालगञ्जदेखि महेन्द्रनगरसम्मको कुनै एक ठाउँ प्रवेश बिन्दु हुनुपर्ने नेपालको आवश्यकता हो। नेपालले भारतीय पक्षसँग पूर्वका देशबाट आउने विमान प्रवेशका लागि जनकपुर र विराटनगर बिन्दु माग गर्दै आएको थियो। सोही मागअनुसार भारतीय पक्ष जनकपुर र विराटनगर प्रवेश बिन्दु दिन भने सहमत भएको हो। तर, नेपालको लागि सबैभन्दा बढी प्राथमिकतामा रहेको पश्चिमतर्फका देशबाट आउने जहाजका लागि महेन्द्रनगर प्रवेश बिन्दु दिन माग गरेको थियो।

नेपालको पूर्वमा पर्ने बंगलादेश, भारतको कोलकाता, थाइल्यान्ड, सिंगापुर, मलेसियालगायतका देशबाट आउने विमान ’रोमियो-५८१’ रुट हुँदै सिमराबाट नेपाल प्रवेश गरी काठमाडौं अवतरण गरिरहेका छन्। यसैगरी, पश्चिमबाट आउने विमानले ’गल्फ -५८९’ रुट हुँदै सिमराबाटै काठमाडौं अवतरण गर्छन्। भुटानको पारोबाट आउने विमान मेची प्रवेश बिन्दूबाट छिरेर तुम्लिङटार हुँदै काठमाडौं अवतरण गर्छन्। चीनको ल्हासाबाट आउने विमान भने ’ब्राबो–३४५’ रुट हुँदै नुनिम बिन्दुबाट नेपाल छिरेर तुम्लिङटार हुँदै काठमाडौं अवतरण हुने गरेका छन्। यसैगरी, नेपालबाट पश्चिमतर्फका देश र दिल्ली जाने जहाजका लागि भने दुई वटा मात्र रुट छन्। एउटा काठमाडौंबाट उडेर भैरहवा हुँदै निस्कने र अर्को काठमाडौंबाट महेन्द्रनगर हुँदै बाहिरिने। तर, बढी मात्रामा जहाज महेन्द्रनगर भएर बाहिरने गर्छन्।

यसैगरी, पूर्वका देश जाने विमानका हकमा भने विराटनगर बिन्दु मात्रै प्रयोगमा आएको छ। नेपालबाट कोलकाता, हङकङ र कोरिया जाने जहाजले यही बिन्दु प्रयोग गर्छन्। भुटानको पारो विमानस्थल जाने विमानले भने काठमाडौंबाट तुम्लिङटार हुँदै मेची बिन्दुबाट बाहिरिने गर्छन्। चीनको ल्हासा जाने विमान जुन बाटो भएर आएका छन्, त्यही बाटो भएर जाने गरेका छन्।

सिमरा बिन्दुका तुलनामा नेपालगञ्ज प्रवेश बिन्दुबाट काठमाडौं आउँदा १४ नटिकल माइल, भैरहवाबाट आउन १ सय ६९ नटिकल माइल र पोखरा जान १ सय ६५ नटिकल माइल दूरी कम पर्छ। तर, भारतीय पक्षले अहिले भैरहवा बिन्दु दिन सकारात्मक भएपनि सोही बिन्दुबाट जहाज प्रवेश गरी गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा जहाज अवतरण गर्न सहज भने छैन। गौतम बुद्ध विमानस्थलको रन–वे पूर्व पश्चिम फैलिएको छ। भारतीय पक्षले भैरहवा प्रवेश बिन्दु दिँदा पनि जहाज अवतरणका लागि आधा घन्टाभन्दा बढी समय आकाशमा नै फन्को नमारी अवतरण गर्न सक्दैन। भारतीय पक्षले भैरहवा प्रवेश बिन्दु दिँदा पनि कम उचाईबाट दिनुपर्ने नेपालको माग छ। यसका तुलनामा पश्चिम तर्फबाट प्रवेशका लागि अनुमति दिँदा केही सहज हुने नेपाल नागरिक उड्डयन प्राधिकरणको भनाइ छ। तर, बढी उचाईमा भैरहवाबाट प्रवेश गर्दाको कुनै फाइदा नहुने प्राधिकरणको भनाइ छ।

नेपालले भारतीय नागरिक उड्डयनसँग नयाँ हवाई प्रवेश बिन्दुका लागि छलफल सुरु गरेको तीन वर्ष पुग्नै लाग्दा पनि कुनै प्रगति भएको छैन। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र नेपाल नागरिक उड्डयन प्राधिकरणले २०१६ डिसेम्बरदेखि छलफल सुरु गरे पनि नयाँ हवाई प्रवेश विन्दुको विषय ओझेलमै छ। नयाँ हवाई बिन्दु नपाउँदासम्म नेपालले पूर्व र पश्चिमबाट आएका सबै जहाज सिमराबाट प्रवेश गरी काठमाडौं, पोखरा, भैरहवा र निजगढ विमानस्थलमा अवतरण गराउनुपर्ने बाध्यता हुनेछ।  नेपाल लाईभबाट साभार

प्रकाशित मितिः     २२ भाद्र २०७६, आईतवार १६:१३  |