नेपालगञ्ज ३ भदौ – शुक्रवार संविधान दिवश धुमधामका मनाइयो । संयोगले यसै दिनमा होटल सिद्धार्थ भ्यू कारकाँदोमा नेपालगञ्जको भविष्यका बारेमा चिन्तन मनन गर्न एउटा सानो जमघटको आयोजना गरिएको छ । संख्यात्मकरुपमा सानो भए पनि विकासका मुद्दामा भने ‘ठुलै माने’ राख्ने उक्त जमघटको चाजोपाजो होटल व्यवसायी संघ, बाँकेले मिलाएको थियो । जमघटमा उद्योग, व्यवसाय, होटल,पर्यटन जस्ता क्षेत्रमा लामो अनुभव भएका अगुवाको सहभागिता थियो । नेपालगञ्ज विमानस्थलबाट आन्तरिक /अन्र्तराष्ट्रिय हवाई उडान गराउन कसरी पहल गर्ने भन्ने विषयमा छलफल केन्द्रीत थियो ।
‘आज देशले संविधान जारी भएको खुसियाली मनाउँदैछौं । संविधान आएकोमा हामी पनि खुसी नै छौं तर संघीय संरचना कार्यान्वयन पछि नेपालगञ्ज जसरी एक पछि अर्को गर्दै पछि परेको छ त्यसप्रति भने हामी खिन्न छौं ।’ –जमघटको गर्नुको कारण खुलाउँदै होटल व्यवसायी संघ, बाँकेका अध्यक्ष भिमलाल कँडेलले भने–‘ हो, त्यही निरासा कसरी हटाउने भन्ने विषयमा छलफल गर्न यहाँहरुलाई बोलाएका हौं ।’ उनले जमघटले सबै काम गर्न नसक्ने भए पनि यहाँको पर्यटकिय विकासका लागि ‘फ्रेम’ भने तयार गर्ने बताए । भने,–‘अहिले खाका तयार गरे पछि आगामी दिनमा हरेक क्षेत्रसंग बृहद छलफल गरी एउटा तस्वीर बनाउँछौ ।’
कँडेलले जमघट गर्नुको औचित्य बताए पछि सबैभन्दा पहिले बोल्ने पालो राजनीतिज्ञ र सामाजिक अगुवा पशुपति दयाल मिश्रको आयो । हालै मात्र पर्यटनमन्त्री योगेश भट्टराईसंग भेटेर नेपालगञ्जको पर्यटकिय विकासका बारेमा छलफल गरेर फर्किएका मिश्रले विकासका लागि ‘प्रेसर दिन सके’ दिन ढिला गर्न नहुने स्पष्ट पारे । ‘मन्त्री ज्यू यहाँ आफै आएर छलफल गर्छु भन्नु भएको छ । उहाँ सकारात्मक नै हुनुहुन्छ । हामी यो मुद्दाको मात्र कुरा गरिरहेका छैनौ । हरेक मुद्दामा प्रेसर दिने गरी अगाडी बढ्नुपर्छ’ मिश्रले भने–‘नत्र अहिलेकै अवस्थामा नेपालगञ्जमा राज्यको नजर पर्नेवाला छैन ।’
मिश्रले यहाँको विकासप्रति निरासा छाएको बताउँदै त्यसलाई हटाउन नसके यहाँबाट लगानी पलायन हुँने खतरा रहेको औल्याए । ‘राज्यको नजरमा नपर्ने र हामीले पनि केही नगर्ने हो भने पक्कै पनि लगानी बाहिर जान्छन । त्यो दिन नेपालगञ्ज कोइलावास बन्यो भने अचम्म नमाने पनि हुन्छ ।’– मिश्रले भने । यद्यपी उनले निरासालाई आशामा परिणत गर्न बाँकेका सबै नागरिक एक भएर लाग्नुपर्नेमा जोड दिए ।
नेकपाका युवा नेता रत्न खत्रीले हवाई उडानका विषयमा नेपालगञ्जप्रति पर्यटनमन्त्री नकारात्मक नभएको स्पष्ट पारे । नेता खत्रीले भने,–‘पोखरा,रारा, भैरहवा उडान छिटै हुन सक्छन् । तर दिल्ली उडानका लागि समय लाग्ने कुरा स्वभाविक हो । त्यसमा मन्त्री ज्यू नकारात्मक हुनुहुन्छ भन्ने मलाई लाग्दैन ।’ खत्रीले पर्यटन मन्त्री नेपालगञ्ज आउँदा बिस्तृत योजना बनाएर देखाउन छलफलमा सहभागिलाई सुझाव दिएका छन् । पर्यटनमन्त्री नेपालगञ्जप्रति सकारात्मक भएकाले उहाँको समयमा नेपालगञ्जको विकास गर्न सकिने खत्रीले बताए । जमघटमा सहभागि नेपाल उद्योग वाणिज्य संघका केन्द्रीय सदस्य कृष्णप्रसाद श्रेष्ठले नेपालगञ्जको विकासको लागि एक भएर अगाडी बढ्न ढिलो गर्न नहुने बताउँदै भने,–‘विकासका मुद्दामा एउटै दलका नेतासंग फरक धारणा छ । नागरिकस्तरसम्म रहेको त्यस्तो धारणाले नेपालगञ्जलाई कमजोर पारेको छ । अब हामी एक भएर राज्यलाई दवाव दिउँ ।’
उक्त जघमटले नेपालगञ्जमा थप गन्तव्यमा हवाई उडान गर्न किन आवश्यक छ भन्ने देखाउन आधारपत्र तयार पार्ने सात सदस्यीय समिति गठन गरेको छ । भिम कँडेलको संयोजकत्वमा मझौला र तारे होटल, पर्यटन व्यवसायीका तर्फबाट प्रतिनिधि, पत्रकार टिएस ठकुरी लगायत सदस्य छन् । बिशेष गरी पोखरा, भैरहवा, रारा र दिल्ली उडानका लागि नेपालगञ्ज कति आवश्यक हो भन्ने विषयमा उक्त समितिले अध्ययन गर्नेछ । होटल सिद्धार्थ भ्यूका क्षेत्रीय निर्देशक केशव न्यौपानेले अब कुरा मात्र नभई आधार नैै प्रस्तुत गर्ने जानकारी दिए । न्यौपानले भने,–‘कारण सहित हामी सरोकारवाला निकायलाई जानकारी गराउँछौ ।’ ट्राभल एण्ड टुर एशोसियन बाँकेका महासचिव झविन्द्र शर्माले बृहद छलफल गरेर सरोकारावाला निकायको ध्यानार्कषण गराउनुपर्नेमा जोड दिएका छन् ।