नेपालगञ्ज ७ असोज – नेपालगञ्जको ट्राफिक व्यवस्थापनको प्रमुख चुनौती भनेकै पार्किङ्ग हो । सवारीसाधनको बढ्दो चाप छ तर व्यवस्थित पार्किङ्गस्थल छैन । कहाँ पार्किङ्ग गर्ने ? सवारीचालकले पार्किङ्गस्थल नदेखेपछि आधा सडक ढाकेर सवारी थन्क्याउँछन् । सडक कुरुप अनि दुर्घटनाको जोखिम उस्तै । यसरी पार्किङ्ग गर्नु उनीहरुको बाध्यता हो । तर बाध्यता सिर्जना गर्ने काम कस्ले गर्दै छ ?
देशको ठुलो शहर मध्ये एक र जनघनत्वसंगै सवारीसाधन बढ्दै गएको नेपालगञ्जमा पार्किङ्गस्थलको व्यवस्थापनका बारेमा बेलैमा केही नगरे पछि दुःख पाइने निश्चित छ । अहिल्यै तपाई शहरका मुख्य–मुख्य ठाउँमा जानु भयो भने अव्यवस्थित पार्किङ्गको भयावह रुप देख्न सक्नुहुन्छ । त्यही अवस्था देखेर कयौं ठाउँमा ट्राफिक प्रहरीले चारपाँग्रे सवारीसाधन निषेध नै गर्दै आएको छ । तर यि सबै उपाय तत्कालका लागि काम चलाउ भए पनि दिर्घकालिन निकास भने दिदैन् ।
व्यवसायीक सटर वा भवन बनाउनेले पाकिङ्गस्थल बनाउँदैनन् । त्यस्ता प्रतिष्ठानमा आउने सेवाग्राहीका साईकल, मोटरसाईकल वा कार सडक ढाकेरै पार्किङ्ग गर्न बाध्य छन् । यसले सवारी दुर्घटनाको जोखिम बढाएको छ । व्यक्तिले पार्किङ्गस्थल आवश्यकताका आधारमा बनाउँछन् नत्र बनाउनै पर्ने कुनै बाध्यकारी नीति छैन । नेपालगञ्ज उपमहानगरपालिकाले उनीहरुलाई कस्न पनि सकेको देखिदैन ।
प्रत्येक घरमा मोटरसाईकलदेखि कारसम्म हुन थालिसक्यो । घर–घरमै पार्किङ्गस्थल बनाउनुपर्ने अवस्था भइसक्दा शहरका मुख्य ठाउँमा सटर वा व्यवसायीक प्रतिष्ठान बनाउनेले पार्किङ्गस्थललाई प्राथमिकतामा राख्दैनन् । सडकभरोसे पार्किङ्गबाटै काम चलाउँछन् । उपमहानरपालिकासंग भवन निर्माण सम्बन्धी मापदण्ड त छ तर त्यसमा पार्किङ्गस्थल प्राथमिकतामा पर्दैन । यस्तै रहे भोलीको नेपालगञ्जमा सवारीपार्किङ्गको अवस्था भयावह हुन सक्छ ।
नेपालगञ्ज उपमहानगरपालिकासंग भवन निर्माणको मापदण्ड भए पनि पार्किङ्गस्थल निर्माण सम्बन्धी नीति नभएको सूचना अधिकारी शरद पौडेल बताउँछन् । उनी भन्छन्–‘घरमै मोटरसाईकल र कारका लागि पार्किङ्गस्थल जरुरी भइसकेका बेला व्यवसायीक प्रतिष्ठानमा त झन नहुने त कुरै भएन । पार्किङ्गस्थल नियमन गर्नका लाग मापदण्ड बनाउन जरुरी छ ।’ उनले नेपालगञ्ज उपमहानगरपालिकाले यस विषयमा आगामी दिनमा सोंच्ने बताए ।
नेपालगञ्जमा नयाँ बनेका व्यवसायीक प्रतिष्ठानले अन्डरग्राउण्ड पार्किङ्गसम्म बनाएका छन् । पुरानाले भने त्यस्तो नबनाएकाले ट्राफिक व्यवस्थापनको चुनौती संधै थपिने छ । जुन भवनमा पार्किङ्गको व्यवस्था छैन त्यही अत्याधिक सेवाग्राही जाने कार्यालय सन्चालनमा छन् । ‘ट्राफिक व्यवस्थापनको दिर्घकालिन सोंच नराखेर पहिले धमाधम घर बने । अहिले उनीहरुकै कारण समस्या भएको छ ।’ ट्राफिक प्रहरी बिट नेपालगञ्जका प्रमुख भिम ओली भन्छन्–‘हामीले जति भने पनि मान्दैनन् । बन्ने घर बनिसके ।’ नयाँ बनेका होटल , हस्पिटलले मात्र पार्किङ्गस्थल बनाएको पाईन्छ । अन्य कयौं व्यवसायीक भवन बनाएकालाई भने सडकमै पार्किङ्गको भर छ ।
घर–घरमा अलग्गै पार्किङ्गको व्यवस्थापन गर्न जरुरी भइसकेका बेला शहरका मुख्य व्यवसायीक क्षेत्रमै रहेका भवनको पार्किङ्गस्थल भने सडकभरोसे छ । ‘हिजो भन्दा आज कयौं गुण सवारीसाधनको चाप बढेको छ । त्यसलाई मध्यनजर गरेर पार्किङ्गस्थलको व्यवस्थापन गर्न जरुरी छ ।’– ट्राफिक प्रहरीका सई ओली भन्छन्,–‘हामीले समयमै त्यस बारेमा सोंचेनौ भने पछि समस्या झन् जटिल हुन सक्छ ।’ दिनप्रतिदिन सवारीसाधनको संख्या बढ्दै जाँदा नेपालगञ्जमा समयमै पार्किङ्गस्थल निर्माण सम्बन्धी नीति बनाउन जरुरी रहेको छ ।
https://nepalgunjbusiness.com/2019/09/11795/