कुनै बेला नाम चलेको सहकारी यसरी डुब्यो


बाँके १ कात्र्तिक – कुनै बेला वाहीवाही कमाएको नेपालगन्जको सहकारी वित्तीय विकास संस्था लिमिटेड बचतकर्ताको रकम घोटलासंगै बन्द हुने अवस्थामा आएको छ । नेपाल राष्ट्र बैंकबाट आशिंक वित्तीय कारोवार गर्न पाउने अधिकार पाएका देशका थोरै सहकारी मध्ये यो सहकारी पनि पथ्र्यो । तर कर्मचारीको नियत खराव र सन्चालक समितिको वेवास्ताका कारण एउटा राम्रो चलेको सहकारी ध्वस्तप्राय भएको
छ ।

अहिले उक्त सहकारीको ४३ करोड रुपैयाँ भन्दा बढी हिनामिना सम्बन्धी मुद्दा अदालतलमा बिचाराधिन छ । बचतकर्ताहरु पैसा फिर्ता पाउन दैनिक जसो घाममा धर्नामा बसिरहेको भेटिन्छन् । पाँच महिना लगाएर प्रहरीले गरेको अनुसन्धान अनुसार नेपालगन्जमासहकारी वित्तिय विकास संस्थामा ४३ करोड २ लाख ५३ हजार ९५ रुपैंयाँ हिनामिना भएको छ । हिनामिना गर्नेमा संस्थाका ४१ जना कर्मचारी र संचालकहरुको हात रहेको देखिएको छ ।

संस्थाका अध्यक्ष हरदेवबक्स चौधरी लगायतका कर्मचारी र संचालकहरु मिलेर बचतकर्ताको ४३ करोड बढी रकम हिनामिना गरेको पाइएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । सो सहकारी संस्थाका ४१ जना संचालक, पूर्व कार्यसमिति र कर्मचारी लगायतलाई प्रतिवादी बनाएर जिल्ला अदालत बाँकेमा मुद्दा दायर गरिएको छ । मुद्दामा कुल ४३ करोड २ लाख ५३ हजार ९५ रुपैयाँ हिनामिना भएको निष्कर्ष सहितको मागदाबी प्रहरीले गरेको छ । जसमा बचत रकमको दाबी गर्दै उजुरी गरेका १ हजार ९ जना २६ करोड ९६ लाख ५ हजार ५ सय ८२ रुपैयाँ पनि संलग्न छ । बचतकर्ताहरुका सावाँ र ब्याज सहितको रकम भराई दिन अनुरोध गरिएको छ ।

४१ जना प्रतिवादी रहेको मुद्दामा अधिकांस भने फरार नै छन् । अपचलन प्रकरणमा प्रहरीले ६ जनालाई मात्रै पक्राउ गरेको छ । प्रहरीले अपचलन र हिनामिनामा संलग्न रहेका दाबी गरेका मध्ये ६ जनाको मृत्यु भैसकेकाले उनीहरु विरुद्ध मुद्दा दायर गरेको छैन । जिल्ला प्रहरी कार्यालय बाँकेका डिएसपी शिवबहादुर सिंहका अनुसार, अरुण कुमार पाठक, गंगाधर सुवेदी, गोपाल भण्डारी, बलराम यादव, स्थिरमणी बज्राचार्य, ओम प्रकाश चौधरी, किरण श्रेष्ठ, गौरब कुमार श्रेष्ठ, सुर्य बहादुर बि.क, लिला प्रसाद वली, गंगा भुसाल, सुरत राम खटिक, बिजय कुमार पाठक, हरदेब बक्स चौधरी, रबिन्द्र थापा, चन्द्र प्रसाद तिमिल्सिना लगायत माथि मुद्दा दर्ता भएको छ ।

प्रहरीले विज्ञ समूह बनाएर अपचलनको अनुसन्धान गरेको थियो । सुरुमा ३५ जनालाई पक्राउ पूर्जी जारी गरेको प्रहरीले पछि ६ जनालाई थप गरेको हो । लामो समयदेखि बचत रकम फिर्ता बारे अन्योलता भएपछि बचतकर्ताहरु सडक आन्दोलनमा छन् ।

सहकारीका पीडित बचतकर्ताले एकदिन पहिले मात्र जिल्ला अदालत, जिल्ला सहकारी संघ र जिल्ला सरकारी वकिलको कार्यालय अगाडि दोषीलाई कारवाही र आफ्नो बचत सुनिश्चित गर्न भन्दै प्रदर्शन गरेका थिए । अपचलनमा संलग्न केही कर्मचारीले अपचलन स्वीकार गर्दै सहकारीमा उक्त रकम तिर्ने प्रतिबद्धता सहितको कागज गरेपनि रकम फिर्ता नगरेपछि जेठमा सहकारी वित्तिय विकास संस्था आर्थिक संकटमा फँसेको थियो ।

अपचलन गर्ने कर्मचारीले सुरुमा ३ करोड बढी रकम फिर्ता गरेपछि १० प्रतिशतका दरले केही बचतकर्तालाई फिर्ता समेत गरिएको थियो । तर, पछि प्रतिबद्धता अनुसार, कर्मचारीले रकम फिर्ता नगरेपछि सहकारी बन्द भयो भने प्रहरीले अनुसन्धान प्रक्रिया अगाडि बढाएको थियो ।

गत पाँच महिनादेखि सहकारीका बचतकर्ताहरुले दिनदिनै सहकारीको कार्यालय, जिल्ला प्रशासन कार्यालय, जिल्ला सहकारी संघको कार्यालय र जिल्ला प्रहरी कार्यालयको घेराउ गर्दै आएको रकम अपचलन पीडितहरुको नेतृत्व गरिरहेको बिजय गुप्ताले बताए ।

प्रकाशित मितिः     १ कार्तिक २०७६, शुक्रबार ०७:४२  |