बचत तथा ऋणको वित्तीय प्रतिवेदन छुट्टाछुट्टै बनाउन आन्तरिक राजश्व विभागको परिपत्र


काठमाडौं-आन्तरिक राजश्व विभागले बचत तथा ऋणको कारोबार गर्ने बहुउद्देश्यीय सहकारी संस्थालाई आयकरमा छुट पाउन बचत तथा ऋण र अन्य कारोबारको फरक फरक वित्तीय विवरण बनाउन परिपत्र गरेको छ।

विभागले गरेको परिपत्रअनुसार बचत तथा ऋणको कारोबार गर्ने सहकारी संस्थाका लागि तोकिएको कर छुटको सुविधा पाउन बहुउद्देश्यीय सहकारी संस्थाले बचत तथा ऋणको कारोबारसम्बन्धी छुट्टै विवरण बनाउनुपर्ने व्यवस्था गरेको हो।

‘केही नेपाल संशोधन गर्ने ऐन, २०७५’ ले गतवर्ष फागुन १९ गते आयकर ऐन २०५८ को अनुसुची १ को दफा २ को उपदफा ३ मा संशोधन गरी बचत तथा ऋणको कारोबार गर्न सहकारी संस्थाका लागि करको दरमा छुट सुविधा उपलब्ध गराउने व्यवस्था गरेको थियो।

बम
जसअनुसार नगरपालिका क्षेत्रभित्र संचालन भएका बचत तथा ऋण कारोबार गर्ने सहकारीका लागि लाग्ने करको दरमा ७५ प्रतिशत छुट र उपमहानगरपालिका र महानगरपालिका क्षेत्रभित्र संचालन भएकोमा लाग्ने करको दरमा ५० प्रतिशत छुटको व्यवस्था गरिएको छ।

बहुउद्देश्यीय सहकारी संस्थाले बचत तथा ऋणको कारोबार गर्ने भएपनि यस्तो कर छुटको सुविधा भने पाएका थिएनन्। उनीहरुलाइ पनि कर छुटको व्यवस्था लागू गर्न विभागले यस्तो परिपत्र जारी गरेको जनाएको छ।

‘सहकारी ऐन २०४८ अनुसार दर्ता भई वित्तीयलगायत बहुउद्देश्यीय कारोबार गर्ने गरी नियामक निकायबाट स्वीकृत भएको विधानबमोजिम बचत तथा ऋणको कारोबार गर्ने सबै किसिमका सहकारी संस्थाले बचत तथा ऋणको कारोबार र अन्य कारोबारको अलग अलग आय(व्यय देखिने गरी हिसाब तयार गर्नुपर्नेछ,’ विभागको परिपत्रमा भनिएको छ‚ ‘छ्ट्टाछुट्टै शीर्षकसहितको वित्तीय प्रतिवेदनसमेत संलग्न गरी बचत तथा ऋणको कारोबार र अन्य कारोबारको अलग अलग आय विवरण पेश गरेमा बचत तथा ऋणको करयोग्य आयमा मात्र सहकारी संस्थालाई लाग्ने करको दरमा छुट सुविधा पाउनेछन।’

प्रकाशित मितिः     ७ पुष २०७६, सोमबार १७:११  |