बाँके १० जेठ : नरैनापुर गाउँपालिकाले कोरोना संक्रमित र उनीहरुका परिवारलाई केही व्यक्तिहरुले भ्रम छर्दै उक्साउने काम गरेको बताएको छ ।
एकजनाको मृत्यु र एक सय चौध जना संक्रमित भएको उक्त गाउँपालिकामा संक्रमितलाई खजुरा स्थित कोरोना बिशेष अस्पतालमा लैजानेक्रममा पटक पटक अवरोध हुँदै आएका बेला गाउँपालिकाले कोरोना बारेमा भ्रम सिर्जना गरी काममा अवरोध सिर्जना गर्ने काम भइरहेको स्पष्ट पारेको छ ।
गाउँपालिकाले नरैनापुरमा संक्रमणको अवस्था थप भयावह हुन नदिन उच्चस्तरीय चिकित्सक र सुरक्षाकर्मीको टोली पठाइदिन हारगुहार गरेको छ ।
नरैनापुरले प्रधानमन्त्री कार्यालय लगायत सबैजसो निकायमा पत्र पठाएर कोरोना नियन्त्रणका लागि आवश्यक सहयोगको माग गरेको छ ।
नरैनापुरमा अवस्था जटिल बनेका बेला पनि जनता उचाल्ने काम कस्ले गरिरहेको छ ?
गाउँपालिका स्वयंले केही व्यक्तिले स्थानीय भड्काउने काम गरिरहेको भनेका बेला प्रहरी प्रशासनले कारवाही गर्छ की गर्दैन हेर्न बाँकी छ । जिल्ला जनस्वास्थ्य कार्यालय बाँकेका फोकल पर्सन नरेश श्रेष्ठले नरैनापुर घटनालाई संकेत गर्दै सामाजिक सन्जालमा लेखेका छन्, –
कठिन परिस्थिति बिच आफु, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, एम्बुलेन्स चालक लगायत अन्य रास्ट्रसेबकहरुलाइ जोखिममा राखेर बाँके CCMC को नेतृत्वमा Covid-19 केस पत्ता लगाँउदै ब्यवस्थापन गर्न खोज्दा बिरामी लाई क्वारेन्टाइनबाट आइसोलेसन सेन्टर र अस्पताल सम्म ल्याउन सबैको साथ नपाउँदा रोग नियन्त्रण गर्न खोज्दै छौ कि समुदायमा फैलाउन ? सरोकारवाला हरूले एकचोटी सोच्ने बेला आएको छ ।
नरैनापुरका स्थानीय पत्रकार गुरमुरत यादव कोरोनाको कहरमा राजनीति नगर्न सुझाउँदै लेख्छन्-
नरैनापुरका युवा र नागरिक समाजका अगुवा दाजुभाईहरू वडा अनुसार समिति नै बनाएर कोरोना रोकथाममा पुलिस प्रशासनलाई सहयोग गर्न अगाडि आउ,बाँच्यो भने राजनीति पछि गरौला ।