बाँके १२ जेठ : बाँकेका प्रहरी प्रमुख एसपी बीरबहादुर ओली एक मुठी साग किन्ने बहाना बनाएर दिनभर लकडाउन उल्लंघन गर्ने जस्ता प्रवृत्ती देखिएको बताएका छन् ।
असामान्य अवस्थामा पनि लकडाउन उल्लंघन नगर्न आग्रह गर्दै एसपी ओलीले अन्यथा ठाउँको ठाउँ कारवाही गरिने चेतावनी दिए ।
प्रेस संगठन बाँकेको भर्चुअल प्रेस मिटको तेश्रो श्रृखंलामा मंगलवार पत्रकारसंग बोल्दै एसपी ओलीले भने,- अहिलेको विषम अवस्थामा बल प्रयोग गरेर कानुन कार्यान्वयन हुन्छ भन्ने नठान्नुहोला । सबै मिलेर लकडाउन कार्यान्वयनमा लागौं । एसपी ओलीले लकडाउन कार्यान्वयन गरी घरमै बस्न आग्रह गरेका छन् ।
एसपी ओलीले भने- प्रहरी एकातिर जाँदा जनता अर्को तर्फ जाने दोहोरी नखेलौ । आमनगारिकको सहयोगमा मात्र हामी कोरोना बिरुद्धको अभियानमा सफलता पाउन सक्छौं । त्यसैले गम्भीर बनौं ।
एसपी ओलीले सबैभन्दा संक्रमित भएको जिल्ला भएका कारण आमनागरिक स्वस्फुर्तरुपमा लकडाउन कार्यान्वयनमा लाग्नुपर्ने बताए । एसपी ओलीले जोखिमका बीच प्रहरीले फ्रन्टलाइनमा काम गरिरहेको बताएका छन् । कारवाही गरेर समस्याको समाधान नहुने भन्दै ओलीले नागरिकलाई सचेत र सजग भई बस्न आग्रह गरेका छन् । लकडाउन उल्लंघन गर्नेलाई कारवाही गरिरहेको पनि बताए ।
प्रेस संगठन बाँकेले कोरोना संक्रमण बिरुद्धको अभियानमा भर्चुअल प्रेस मिट आयोजना गर्दै आएको छ । यो तेश्रो श्रृखंला हो ।