जानकी गाउँपालिकामा परीक्षणको दायरा बढाउन माग


बाँके १३ जेठ : बाँकेको जानकी गाउँपालिकाले कोरोना परीक्षणको दायरा बढाउन माग गरेको छ ।

नेपालगन्ज र खजुरामा कोरोना देखिसकेको अवस्थामा त्यसको बीचमा रहेको र भारतसंग सीमा जोडिएको जानकी गाउँपालिका कोरोनाको उच्च जोखिममा रहेको प्रमुख प्रशासकिय अधिकृत हरिबहादुर खत्रीले बताए ।

‘यहाँ परीक्षणको दायरा बढाउनुपर्ने देखिन्छ । क्वारेन्टाइनमा राखेर मात्र के गर्ने ?’ प्रेस संगठन बाँकेको भर्चुअल प्रेस मिटको तेश्रो श्रृखंला अन्र्तगत मंगलवार पत्रकारसंग बोल्दै खत्रीले भने–‘परीक्षण गर्यौ भने हामी ढुक्क रहने अवस्था हुन्थ्यो ।’ जानकी गाउँपालिकामा आठ वटा क्वारेन्टाइन र एउटा आइसोलेशन रहेको छ । प्रत्येक वडामा क्वारेन्टाइन राखिएको छ ।

बाँकेमा झण्डै डेढ सय संक्रमित भेटिएका छन् । एकजनाको मृत्यु भइसकेको अवस्थामा जानकी जस्तो गाउँपालिकामा परीक्षणको दायरा बढाउन माग गरिएको हो । प्रमुख प्रशासकिय अधिकृत खत्रीले गाउँपालिकामा पनि जोखिमको अवस्था हेरेर कोरोना परीक्षणका लागि सरोकारवाला निकायसंग माग गरिएको बताए ।

प्रकाशित मितिः     १३ जेष्ठ २०७७, मंगलवार १२:४६  |