लकडाउनले सबैभन्दा बढी प्रभावित क्षेत्रहरु


कोरोनाका कारण केही यस्ता व्यबसायहरु छन् जो निकै लामो समयसम्म सुचारु हुन नसक्ने अबस्थामा छन् । ती क्षेत्रका कतिपय व्यबसायीहरुले व्यबसायबाटै पलायन भएका छन् भने कतिपय समय पर्खेर बसेका छन् । केही यस्ता व्यबसाय जो अझै कति समयपछि संचालनमा आउँछन् भन्न कठिन छ ।

बढी प्रभावित क्षेत्रहरु :

पर्यटन क्षेत्र
संसारभरि एक स्थानबाट अर्को स्थानमा जान रोक लगाइएको छ । बाह्य मात्रै हैन आन्तरिक आवतजावतमा साधनमा समेत कडाई गरिएको छ । यसको प्रत्यक्ष प्रभाव पर्यटन क्षेत्रमा परेको छ । पर्यटन क्षेत्रमा परेको असरको एउटा उदाहरण नेपाललाई नै लिन सकिन्छ । लामो समयको तयारी पश्चात् ठूलो लगानी र योजनामार्फत भिजिट नेपाल २०२० को सुरुवात गरिएको थियो । यद्यपि, कोरोना भाइरसका कारण कार्यक्रम नै स्थगित गर्नुपर्यो । यस्ता थुप्रै देशहरु छन् जहाँ पर्यटनलाई मूख्य आम्दानीको स्रोत मानिन्छ । ती देशहरुमा पर्यटन व्यवसाय पूरै बन्द भएको छ । कोरोना भाइरसको उपचार अहिलेसम्म पत्ता लागेको छैन । पत्ता नलाग्दासम्म मानिसहरुमा त्रास कायम रहने सम्भावना छ । यसले गर्दा, लक डाउन खुला नै गरे तापनि पर्यटन व्यवसाय सामान्य अवस्थामा आउन निकै लामो समय लाग्ने देखिन्छ ।

ठुला होटलहरु :
होटलहरुको आम्दानी पर्यटन व्यवसायसँग सम्बन्धित हुन्छ । त्यसमाथि धेरै लगानीमा खोलिएका होटलहरु आन्तरिक एवम् बाह्य पर्यटक, अन्तर्राष्ट्रिय सभा सम्मलेनहरु लगायतलाई नै लक्षित गरेर खोलिएका हुन्छन् । तर, लक डाउनका कारण सभा सम्मेलन हुन सकेका छैनन् । अफिसियल मिटिङहरु समेत अनलाइनमार्फत भइरहेको छ । कुनै पनि ठूलो कार्यक्रमहरु भएका छैनन् । यसकारण ठूला लगानीका होटलहरु घाटामा गएका छन् । कोरोनाको त्रास कहिलेसम्म रहने भन्ने निश्चत नभएका कारण अझ लामो समयसम्म होटल व्यवसायहरु प्रभावित हुने देखिन्छ । कोरोना महामारी संक्रमणपछि विश्वव्यापी रुपमा अववस्था सामान्य भएपछि पनि होटल व्यवसाय सामान्य अवस्थामा फर्किन थप समय लाग्ने देखिन्छ ।

अन्तर्राष्ट्रिय उडानहरु :
लक डाउनमा सबैभन्दा बढी कडाई अन्तर्राष्ट्रिय उडानमा गरिएको छ । सबै देशका अन्तर्राष्ट्रिय उडानहरु स्थगित गरिएका छन् । यसले गर्दा अन्तर्राष्ट्रिय हवाई क्षेत्र धेरै प्रभावित भएको छ । वैज्ञानिक एवम् स्वास्थ्य विज्ञहरुले कोरोना भाइरसको संक्रमण फैलिन छोडेपछि पनि केही वर्षसम्म नै सामाजिक दूरता कायम गर्नुपर्ने र स्वास्थ्य सम्बन्धि सुरक्षाका उपायहरु अपनाइरहनुपर्ने बताएका छन् । यस हिसाबले हेर्दा केही समयसम्म अन्तर्राष्ट्रिय आवातजावतमा कमी हुने सम्भावना छ । यसले अन्तर्राष्ट्रिय हवाई यातायातको व्यवसायमा ठूलो धक्का लाग्ने देखिन्छ ।

वित्तीय क्षेत्र :
लामो समयको लक डाउनका कारण मानिसहरुको आम्दानी घटेको छ भने बचत पनि खर्च भइरहेका छन् । धेरै मानिसहरुले रोजगारी गुमाएका कारण लामो समयसम्म उनीहरुको आम्दानी बढ्ने अवस्था छैन । यसले गर्दा बैंक तथा वित्तीय क्षेत्रको निक्षेपमा प्रभाव पर्ने देखिन्छ । त्यस्तै, व्यापार, व्यवसाय एवम् उद्योगधन्दाहरुमा परेको प्रभावका कारण बैंकहरुको कर्जा असुलीमा असर पर्ने देखिन्छ । यसले गर्दा, वित्तीय असन्तुलन पैदा हुने सम्भावना रहेको छ ।

सभा सम्मेलन तथा चलचित्र र मनोरंजन
कोरोनाका कारण सेमीनार गोष्ठी, सभा सम्मेलन तथा सिनेमा क्षेत्रहरु अझै धेरै प्रभावित हुने देखिएको छ । मानिसहरु एक आपसमा रहेर गर्नुपर्ने कामहरुलाई कोरोनाले ठुलो असर गरेको छ । सन्सारमै फिल्म क्षेत्र, रात्रीकालीन मनोरंजन व्यबसायहरु, खेलकुँद क्षेत्र एवं सभासम्मेलनहरु सुचारु हुन अझै धेरै नै समय कुर्नुपर्ने देखिन्छ ।

प्रकाशित मितिः     १५ असार २०७७, सोमबार १९:३४  |