राज्यले व्यवसायीलाई करदाता, मतदाता र चन्दादाताका रूपमा मात्र प्रयोग गर्ने गरेको छ । निजी क्षेत्र र सरकारको सम्बन्ध नङ र मासुको जस्तो हुनुपर्नेमा व्यवसायीलाई प्रयोग गर्नतिर मात्र राज्यको ध्यान जाने हो भने व्यवसायीले पनि सरकारलाई सहयोग गर्नुको अर्थ रहँदैन ।
सरकारले ठूलो हिस्सा कर व्यवसायीहरूबाट उठाउँछ, तर व्यवसायीको समस्याप्रति गम्भीर नहुँदा हामी तमाम उद्योगी व्यवसायीले बेला–बेलामा विभिन्न समस्या झेल्नुपरेको छ । जबसम्म राज्यले व्यवसायीलाई सम्मान गर्दैन, तबसम्म व्यवसायीले पनि राज्यलाई कर तिरेर सहयोग गरिराख्न गाह्रो हुन्छ । झन् अहिले कोरोना महामारीको संकटमा परेका बेला सरकारले व्यवसायीहरूलाई टिकाइराख्न प्रोत्साहनका कार्यक्रम खासै ल्याउन सकेको छैन ।
सहुलियतपूर्ण बैंक ब्याज, लघु उद्यम कर्जालगायत कुराहरूमा समेत सरकार उदासीन छ । यस्तो अवस्थाबाट उद्योगी–व्यवसायीहरू गुज्रिरहँदा समेत निजी क्षेत्रबाट प्रतिनिधित्व गर्ने नेपाल उद्योग वाणिज्य महासंघले ठोस पहल कदम चाल्न सकेको छैन । यसअघि हामीले भ्याट वृद्धिको विषयमा आन्दोलन थालेका बेला जिल्ला तहले सशक्त रूपमा आन्दोलन अघि बढाइरहे पनि महासंघले हाम्रो आन्दोलनप्रति बेवास्ता गरी रोक्न लगाएको उदाहरण हाम्रा सामु छ ।
जति हामी जिल्लाका व्यवसायीहरूलाई चासो छ, त्यति चासो केन्द्रमा बसेर महासंघ चलाउनेलाई छैन । यहाँ सबै कुरा केन्द्रबाटै निर्धारण हुन्छ । केन्द्रबाट जिल्ला, नगरप्रति उत्तरदायित्व बहन गर्न नसकिरहेका बेला जबसम्म आफैं केन्द्रमा भइँदैन तबसम्म हामी व्यवसायीका नीतिगतदेखि जिल्लास्तरका समस्या समाधान हुँदैन ।
महासंघले धेरै कुरा गर्नुपर्ने देखिएको छ । स्वदेशमा अवसर नपाएको भन्दै दैनिक सयौं युवा विदेश पलायन भइरहेका छन् । नेपालमै उद्योग तथा पर्यटन व्यवसायको ठूलो सम्भावना हुँदाहुँदै पनि युवाहरू विदेशमा गएर श्रम बेच्न बाध्य छन् । त्यहाँ गएर उनीहरूले जति श्रम गरे पनि पारिश्रमिक कमाएर रेमिट्यान्स भिœयाउनेबाहेक राज्यको उत्पादनमूलक कार्यमा कुनै योगदान रहँदैन । यहाँबाट हामीले स्थानीय उत्पादनमूलक उद्योग–व्यवसाय सञ्चालन गरेर विदेशमा निर्यात गर्न सकिने थुप्रै सम्भावना भए पनि सरकारी नीति तथा भएका नीति–नियमको कार्यान्वयनको अभावमा त्यसो हुन सकेको छैन । महासंघका तर्फबाट सरकारलाई उद्योगधन्दा सञ्चालनका लागि लगानीमैत्री वातावरण बनाउन बेलाबेलामा झकझक्याउन जरुरी छ ।
अर्को कुरा, नेपालगन्ज भनेको पश्चिम नेपालको व्यावसायिक नेतृत्व गर्ने ठाउँ हो । पश्चिम क्षेत्रको आर्थिक सहर भएका कारण यसले आर्थिक क्षेत्रको विकासमा पश्चिमको नेतृत्व गरेको छ । हरेक कुरामा केन्द्रलाई मात्र प्राथमिकतामा राखेर हुँदैन, तसर्थ यी यावत् कुराहरू सशक्त ढंगले उठाउन पश्चिम क्षेत्रको गतिलो व्यक्तिको प्रतिनिधित्व केन्द्रमा हुन जरुरी छ । यस क्षेत्रसँगसँगै देशभरिका वास्तविक व्यवसायीहरूको हक–हितका लागि जुुझारु रूपमा आवाज उठाउनुका साथै व्यवसायीको आत्मबल बढाउन सरकारलाई दबाब दिन जरुरी भएकाले केन्द्रीय सदस्य पदमा चण्डीप्रसाद ढकाल नेतृत्वको टिमबाट मेरो उम्मेदवारी हो ।
यसमा जिल्लादेखि केन्द्रसम्मका सबै साथीहरूको साथ, समर्थन र सहयोग मैले पाएको छु । यही हौसलाले चुनाव जित्ने उत्साह झन बढेको छ । मलाई मतदान गर्ने मेरा सम्पूर्ण मतदाताको अमूल्य मत खेर नजाने र सो मतको उचित सदुपयोग भएर सम्पूर्ण उद्योगी, व्यवसायी लाभान्वित हुने विश्वास दिलाउन चाहन्छु ।
बैश्य, नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य उम्मेदवार हुन