- श्याम विष्ट( हाम्रो पिपलबोटबाट)
नेपालगन्ज : कोहलपुरका उद्योगी व्यवसायीको छातासंगठन कोहलपुर उद्योग वाणिज्य संघका अध्यक्षका प्रत्याशी हुन लक्ष्मणराज पौडेल । फागुन २२ गते शनिवार नयाँ नेतृत्व छनोटका लागि कोहलपुरमा ९ औँ अधिवेशन हुँदैछ । संघको अधिवेशनबाट अध्यक्ष सहित २२ जना पदाधिकारी सदस्यहरु चयन हुनेछन् । अध्यक्ष पदका प्रत्याशी पौडेलसंगको कुराकानी-
१. तपाईंको चुनाव जित्ने आधार के हो ?
– कोहलपुर उद्योग वाणिज्य संघको हाम्रो समूहको चुनाव जित्ने मुख्य आधार भनेकै आम व्यवसायी साथीहरूको विश्वास हो । कोहलपुर क्षेत्रका उद्योगी,व्यवसायीहरुको प्राप्त सहयोग र समर्थन तथा म प्रति गर्नु भएको उहाँहरूको भरोसाका आधारमा म निर्वाचनमा जित्नेमा विश्वस्त छु । कोहलपुर क्षेत्रको नगरसम्म फैलिएको मेरो व्यावसायिक नेटवर्क र कोहलपुर क्षेत्रमा साना, मझौला व्यवसायीसँगको सम्बन्ध पनि एउटा महत्वपूर्ण आधार हो । यससँगै हाम्रो सशक्त र सन्तुलित टिम पनि छ, जसले संघ र निजी क्षेत्रसामु देखिएका चुनौती समाधान गर्ने क्षमता राख्छ । हाम्रा एजेन्डा, विगतका अनुभव र भविष्यप्रतिको चिन्तनका आधारमा आम व्यवसायी साथीहरूले हाम्रो टिमलाई मतदान गर्नुहुनेछ ।
२. कोभिड १९ ले अर्थतन्त्र धराशायी भएको छ, यसै समयमा संघको नयाँ नेतृत्व चयन हुँदै छ, अर्थतन्त्र सबल बनाउन निजी क्षेत्रको भूमिका महत्वपूर्ण हुन्छ, के छन् तपाईंका एजेन्डा ?
–विगतमा कोरोना नियन्त्रणका लागि लकडाउन, निषेधाज्ञा लागू भयो, जसको प्रभाव भनेको अर्थतन्त्रमा प¥यो । त्यसैले कोरोनाले प्रभाव पारेका मुख्य क्षेत्रको पुनस्र्थापना पहिलो प्राथमिकता हो । लगानी, उत्पादकत्व, रोजगार, आवागमन र उपभोग सबै पक्षमा कोभिड–१९ ले पारेको असरका कारण अर्थतन्त्र शिथिल भएको छ । साना मझौला तथा स्वरोजगारमा आधारित र अनौपचारिक क्षेत्र समेत उद्योग व्यवसाय बन्द गर्नुपर्ने बाध्यता समेत सिर्जना भएको थियो । तीमध्ये अधिकांश प्रत्यक्ष नगद राहत कार्यक्रम विना पुनर्जीवित हुनै नसक्ने जोखिम देखिएको छ । अब संघको पहिलो जिम्मेवारी बन्द भएका उद्योग व्यवसाय पुनः सञ्चालन गराउनमा केन्द्रित
हुनेछ । नीतिगत र प्रक्रियागत सुधार गरेर कोभिड–१९ ले बन्द हुने सँघारमा पुगेका उद्योग व्यवसाय बचाउन संघले सिर्जनात्मक र निर्णायक पहलकदमी लिनेछ ।
३.संघलाई सशक्त बनाउन तपाईंका कस्ता योजना छन् ?
– संघको भूमिकालाई लिएर धेरै साथीहरू चिन्तित भएको मैले पाएको छु, यो स्वाभाविक हो । संघ निश्चय पनि हामी सबै निजी क्षेत्रको आस्थाको धरोधर हो । त्यसैले आम व्यवसायीको संघप्रति अपेक्षा पनि धेरै छन् र गुनासो पनि उत्तिकै छन् । व्यापार व्यवसायको आकार फराकिलो बन्दै जाँदा संघभित्र सधैंजसो भइरहने पक्ष विपक्षको लडाईंले संघको शाख घटाएको छ । यसको उन्मूलन आवश्यक छ । संघमा सबैलाई समेट्ने गरी अघि बढाउने मेरो योजना छ । यसले निश्चय पनि संघको छवि सुधार्नेछ ।
४. संघले साना तथा मझौला व्यवसायीहरूलाई खासै ध्यान दिन नसकेको गुनासो सुनिन्छ, तपाईं निर्वाचित भएपछि साना तथा मझौला व्यवसायीको हितका लागि के काम गर्नुहुन्छ ?
–वास्तवमा तपाईले उठाउनुभएको प्रश्नमा म पनी सहमत छु । म संघको जग बलियो बनाउन आएको हो । नेतृत्वमा पुगेर संघलाई नीति निर्माणदेखि साना मझौला उद्योगका सारथि बनाउने अभियानमा लाग्ने छु । नेपालको अर्थतन्त्र र नेपाल उद्योग वाणिज्य संघको संस्थागत विकासमा लघु, घरेलु, साना तथा मझौला उद्योग–व्यवसायको समेत ठूलो योगदान छ । रोजगार सिर्जना, उपादकत्व बढाउन योगदान रहे पनि संस्थागत कदर हुन नसकेको साना व्यवसायीको अनुभव छ । अब यस्ता गुनासा सम्बोधन गर्न संघभित्र औपचारिक नितिको व्यवस्था गर्ने प्रतिवद्धता गर्दछु ।
५.नेपालको अर्थतन्त्र रेमिट्यान्समा आधारित छ । व्यवसायीहरू पनि विदेशी सामान बेच्नतर्फ केन्द्रित छन्, देशमा औद्योगिक वातावरण बनाउन र पर्याप्त मात्रामा रोजगार सिर्जना गर्न संघको ध्यान जाँदैन ?
– नेपालको अर्थतन्त्रका लागि रेमिट्यान्सको ठूलो योगदान छ । तर त्यो रेमिट्यान्स आयलाई भविष्य सुरक्षित हुने प्रकृतिको लगानीमा सदुपयोग गर्ने ठोस योजना अहिलेसम्म बन्न सकेको छैन । संघले सदस्य संस्था मार्फत मानव र आर्थिक स्रोतलाई उद्यम व्यवसायमा लगानी गर्न उत्प्रेरणा र व्यावसायिक सीप प्रदान गर्ने योजना ल्याउन आवश्यक छ । औद्योगिक वातावरण निर्माण विना आर्थिक विकासको कल्पनै गर्न सकिँदैन । ठूला उद्योग मार्फत रोजगार सिर्जना मात्र नभई स्वरोजगार मूलक आर्थिक नीति आवश्यक छ । संघले यसतर्फ ध्यान दिनेछ ।
६. संघले कृषि क्षेत्रलाई प्राथमिकतामा नराखे जस्तो लाग्यो रु निजी क्षेत्रले यसमा किन ध्यान दिन नसकेको हो ?
– कृषिमा गर्नसक्ने काम धेरै छन् । कृषि उपजमा आधारित आपूर्ति सञ्जाललाई सम्पूर्ण रूपले यथासक्य छिटो पुनस्र्थापित गर्न सक्दा मात्र उद्यमी व्यवसायी र उपभोक्ता सबैले राहत पाउनेछन् । माग र आपूर्तिको सन्तुलनले मूल्यस्थिति नियन्त्रित रहने छ । कृषि सामग्री आपूर्ति र उत्पादित वस्तुको बजार पहुँच दुवैतर्फ देखिएका समस्या समाधान गर्न सके मात्र कृषि उत्पादनको आयात प्रतिस्थापनको आकांक्षा पूरा हुन्छ । कृषिमा आधारित व्यवसाय र रोजगार पुनस्थापित हुन सघाउ पुग्नेछ । महासंघले कृषिजन्य व्यवसाय पुनःसञ्चालनका लागि सरकारसँग काँधमा काँध मिलाएर सहकार्य गर्नेछ । यसबाहेक भूउपयोग नीति, सिँचाइ लगायतका पूर्वाधार पनि कृषिका लागि महत्वपूर्ण छन् ।
७. उद्योग वाणिज्य संघको नेतृत्वले संस्थागत हितभन्दा व्यक्तिगत स्वार्थ र आफ्नो व्यापार व्यवसायको फाइदाका लागि मात्र काम गरेको भन्ने गुनासो सुनिन्छ, यसलाई कसरी चिर्न सक्नुहुन्छ ?
– यसअघि भन्दा पनि अहिलेको अवस्थामा संघले गर्नुपर्ने मुख्य काम दुइटा काममा आम व्यवसायीको हकहित तथा सुरक्षा र नीतिगत पैरवी हो । सरकारका आर्थिक नीतिले लगानीमैत्री वातावरण बनाउन संघले नीतिगत पैरवी गर्दछ । हामीले अहिलेसम्म बाटो बिराएका छैनौं । तर जति गर्न सकिन्थ्यो त्यो गर्न नसकेको अवस्था हो । यसमा हाम्रा आन्तरिक कमजोरी प्रशस्तै छन् यसलाई नयाँ नेतृत्वले चिर्रदै अगाडी बढनेछौ
८. कर छली, अनियमितता, भ्रष्टाचारलगायतका क्षेत्रमा नियमक निकाय र सरकारबीच बेलाबेलामा जुहारी चलेको देखिन्छ, यसमा संघको भूमिका के हुन सक्छ ?
– हामी स्वस्थ प्रतिस्पर्धा र स्वच्छ व्यवसायका हिमायती हौं हरेक उद्योगी व्यवसायीहरुले राज्यलाई कर अनिर्वाय तिर्नुपर्दछ तर राज्यले आम व्यवसायीहरुको भावना र उद्योगी व्यवसायीहरुको मर्कालाई गहन रुपले बुझिदिनुपर्दछ । जसरी अपारदर्शिता र भ्रष्टाचारलाई आर्थिक समृद्धिको मूल बाधक मानिएको छ, त्यसरी निजी क्षेत्र पनि यसतर्फ सचेत हुनुपर्छ । मुलुकको सुशासनमा स्वच्छ व्यवसायको महत्वलाई आत्मसात गरेरै संघले स्वच्छ व्यवसाय प्रवद्र्धन अभियान र व्यवहारमै प्रभावकारी तुल्याउनु आवश्यक
छ ।
९. चुनावी घोषणामै आर्थिक समृद्घिका लागि निजी क्षेत्र र सरकारको साझेदारीका कुरा उठाउनुभएको छ, कसरी सहकार्य हुन सक्छ ?
– हामीले निर्वाचनको मूल नारा ‘समृद्धिको आधार–सरकार निजी क्षेत्र साझेदार’ भनेका छौं । आर्थिक विकासमा सरकारसँग हातेमालो गर्दै अगाडि बढ्नुपर्छ । सरकारले नीतिगत तहबाट सहजीकरण गर्ने र हामीले लगानीका माध्यमले रोजगार सिर्जना तथा राजस्व जम्मा गरेरै मुलुकको दिगो आर्थिक विकास सम्भव छ । सार्वजनिक निजी साझेदारीका माध्यमले सरकारसँग सहकार्य गर्न सकिन्छ । छरिएर रहेको पुँजी परिचालन गर्न सरकारले ठोस नीति ल्याउनुपर्छ । सरकारसँग सहकार्य र साझेदारीका क्षेत्र विराट् भए पनि नीतिगत स्पष्टता चाहिन्छ ।
१०. उद्योगी र बैंकको जुहारी बेलाबेलामा चलिरहन्छ, यस्ता समस्या समाधानका लागि के सोच्नुभएको छ ?
– वित्तीय क्षेत्र र उत्पादन एवम् सेवा क्षेत्र एकअर्काका प्रतिस्पर्धी नभएर आर्थिक स्रोत व्यवस्थापन एवम् परिचालनमा परिपूरक हुन् । बैंकिङ र उत्पादनमूलक क्षेत्रले आरोप–प्रत्यारोप होइन समन्वयात्मक सहकार्य गर्नुपर्छ । दुवै क्षेत्रका समस्याको सहानुभूतिपूर्वक सम्बोधन गरी सहकार्यमूलक वातावरण निर्माण गर्ने जिम्मेवारी सरकार र संघ दुवैको हो । बैंकविना व्यवसाय अगाडि बढाउन सम्भव छैन । व्यवसाय नै नरहे बैंक पनि रहन नसक्ने भएकाले सहअस्तित्व स्वीकार्नै पर्छ ।
११. बैंकहरूले लिने चर्को ब्याजका कारण पनि उद्योगी व्यवसायीहरुको विकास हुन नसकेको कतिपयको बुझाइ छ, सस्तो ब्याजमा उद्योगी व्यवसायीले कहिले ऋण पाउने ?
– बैंकमा सञ्चालक समिति वा व्यवस्थापनको भन्दा राष्ट्र बैंकको गाइडलाइन महत्त्वपूर्ण हुन्छ । जनताका निक्षेपलाई लगानी गरेर थोरै प्रतिफलका लागि ठूलो जोखिम मोल्नुपर्ने अवस्था छ । केन्द्रीय बैंकमार्फत नीतिगत सहजीकरण हुने हो भने सुलभ ब्याजदरमा कर्जा असम्भव पनि छैन । बैंकको ब्याजद झार्ने भनेर हामीले बारम्बार आवाज उठाइरहेका छौँ । तर त्यसको व्यवहारमा कमै कार्यान्वयन भएको छ । यसका लागि नयाँ नेतृत्व शैक्षिक हिसावले पनी अगाडी छ । समस्याको समाधान अवश्य हुनेछ ।
१२. अन्तमा तपाईको भन्नु केही छ ?
– कोहलपुरको समग्र व्यवसायिक क्षेत्रको नविनतम् सोच साझा संकल्प सहितको एकताका साथ व्यवसायिक उत्थान र समग्र व्यवसायीहरुको हितका लागी निरन्तर लाग्ने,आर्थिक सम्वृद्धि सहितको सुशासन मैत्री व्यवसायिकका निम्ती अघि बढने प्रतिवद्धता सहित हामी अघि बढ्ने छौँ । आशा छ समस्त उद्योगी ,व्यवसायीहरुले हाम्रो व्यवसायिक उत्थान,विकास र समग्र समाजको समृद्धिको यात्रामा आसन्न कोहलपुर उद्योग वाणिज्य संघको निर्वाचनमा मेरो नेतृत्वमा रहेको प्रजातान्त्रिक उद्योगी व्यवसायीहरुको समूहलाई अमुल्य मतदान गरि बिजय गराउनु हुनेछ भन्ने आशा एवं अपेक्षा राख्दछु ।धन्यवाद ।