भन्सार महसुल कटौतीले उपभोक्तालाई खानेतेलमा राहत


क्यापिटल नेपालबाट

काठमाडौं  । अर्थमन्त्री जनार्दन शर्माले दैनिक उपभोग्य वस्तु खानेतेलको कच्चापदार्थमा लिइँदै आएको भन्सार महसुल ९० प्रतिशत कटौती गरेपछि उपभोक्तालाई ठूलो राहत मिलेको छ।

कर प्रशासन सुधार्न हालै बनेको समितिले दिएको सिफारिसलाई आधार मानेर अर्थमन्त्री शर्माले खानेतेलको कच्चापदार्थको भन्सार एकैचोटि ९० प्रतिशत घटाइदिएर उपभोक्तालाई राहत दिएका हुन्।
शर्माले खानेतेलको कच्चापदार्थ आयातमा लाग्दै आएको १० प्रतिशत भन्सार दर घटाएर एक प्रतिशतमा झारेपछि खानेतेलको मूल्य लिटरमै २० रुपैयाँ सस्तिएको छ।

खानेतेलको मूल्य अचाक्ली वृद्धि हुँदा उपभोक्ताको भान्सा महँगिएका बेला अर्थमन्त्री शर्माले कर घटाएर चाडपर्वका बेला राहत दिएका छन्।

सोयाबिन, सनफ्लावर, पामतेलको कच्चापदार्थको भन्सार १० प्रतिशत थियो। वर्षौंदेखि कच्चातेल आयातको भन्सार १० प्रतिशत थियो। तर, शर्माले उद्योगीका मागभन्दा फरक तरिकाले भन्सार घटाइदिएका हुन्।

चालु आर्थिक वर्ष २०७९र८० को बजेटमा अर्थमन्त्री शर्माले तयारी वस्तुको भन्सार घटाएर पाँच प्रतिशतमा झारेका थिए। खासगरी, बिस्कुट उद्योगले विदेशबाट तयारी वस्तु मगाउँछन्। यसअघिसम्म उनीहरू पनि १५ प्रतिशत भन्सार तिरेर तयारी पाम आयल मगाइरहेका थिए।

तेल उद्योगीले कच्चातेल मगाउँदा १० प्रतिशत भन्सार तिर्थे। तर, शर्माले तयारी वस्तुको भन्सार १५ बाट झारेर ५ मा ल्याए भने तेल उद्योगीले कच्चा पदार्थ नै १० प्रतिशतमा आयात गर्नुपर्ने अवस्था बनेको थियो।

त्यसपछि तेल उद्योगीले बिस्कुटलाई दिइएको सुविधा हटाउन माग गरिरहेका थिए। तर, शर्माले बिस्कुट उद्योगीलाई अन्याय नगरी तेल उद्योगीले ल्याउने कच्चापदार्थ एक प्रतिशतमा झारेका हुन्। यसमा मूल्य अभिवृद्धि कर ९भ्याट० भने यथावत छ।

अहिले बिस्कुट उद्योगीले तयारी तेल पाँच प्रतिशतमै मगाउँछन्। तर, तेल उद्योगीले एक प्रतिशतमा कच्चातेल ल्याउन सक्ने अवस्था बनेको छ, जसको सिधा असर उपभोक्ताको भान्सामा पर्ने भएको हो।

हाल तीनवटै वस्तुको अन्तर्राष्ट्रिय मूल्य प्रतिटन १ हजार ३ सय अमेरिकी डलर छ। त्यस हिसाबले सोयाबिन र पाम तेलको मूल्य लिटरमै १६ देखि १७ रुपैयाँ सस्तो पर्छ भने सनफ्लावरको मूल्य प्रतिलिटरमै २० देखि २२ रुपैयाँसम्म सस्तिने उद्योगीहरु बताउँछन्।

तोरीगेडा आयातमा पनि अर्थमन्त्री शर्माले ठूलो राहत दिएका छन्। तोरीगेडा आयात गर्दा यसअघि पाँच प्रतिशत भन्सार लाग्थ्यो। वास्तवमा तोरीगेडाको भन्सार १० प्रतिशत हो। ५० प्रतिशत छुट मिललाई दिइएको थियो। तर, शर्माले त्यसमा पनि ९० प्रतिशत छुट दिएका छन्।

अब तोरीगेडा आयात गर्दा पनि एक प्रतिशतमात्रै भन्सार तिरे पुग्छ। तोरीतेलको मूल्य पनि १२ देखि १३ रुपैयाँ लिटरमै सस्तिने छ। शर्माले दसैं मुखमा उपभोक्तालाई ठूलो राहत दिएको उद्योगीहरूको भनाइ छ।

तोरीगेडा आयातमा भन्सार कटौतीको सकारात्मक असर दानाको मूल्यमा पर्ने देखिएको छ। उद्योगीका अनुसार दानाको भाउ पनि किलोमा एकदेखि डेढ रुपैयाँ घट्ने देखिएको हो। बजारमा उद्योगीले खानेतेल लिटरमा १० रुपैयाँमात्रै घटाएका छन्। तर, घट्नुपर्ने २० रुपैयाँ हो।

प्रकाशित मितिः     २८ भाद्र २०७९, मंगलवार १८:०६  |