नेपालगन्ज– नेपालगन्ज उपमहानगरपालिकाबाट जमुनाहमा रिक्सा पार्किङ्गको टेण्डर पाएको नेपाल ई–रिक्सा व्यवस्थापन कम्पनी प्रालीले सम्झौता बिपरित प्रति रिक्सा १० रुपैया बढि असुली गरिरहेको छ ।
प्रति रिक्सा रु २० पार्किङ्ग शुल्क लिने सम्झौतामा उल्लेख भएपनि उपमहानगरकै जिम्मेवार व्यक्तिहरुको मौखिक आदेशमा सेवा शुल्कका नाममा उक्त कम्पनीले १० रुपैया बढि पैसा ठगी गर्दा समेत सरोकारवाला निकायले कारवाहीको हिम्मत गर्न सकेका छैनन् ।
नेपालगन्ज उपमहानगरपालिका र स्नेहा मानव कोल्ड स्टोरलाई असोज १ गते रिक्सा पार्किङ्ग गर्न दुई बर्षसम्मका लागि सम्झौता भएको थियो । टेण्डर पछि सबैभन्दा बढि रकम रु ३५ लाख दनिे उक्त कोल्ड स्टोरसंग भएको सम्झौताको चार नंम्बर बुँदामा स्पष्टरुपमा –‘पार्किङ्ग व्यवस्थापनका रिक्सा लगायत अन्य सवारी साधनको प्रतिदिन रु २० का दरले मात्र पार्किङ्ग शूल्क उठाउनु पर्नेछ ।’ उल्लेख गरिएको छ । तर उक्त सम्झौता बिपरित ३० रुपैया त्यो पनि रशिद काटेरै असुलीको काम भइरहेको छ ।
सम्झौता स्नेहा मानव कोल्ड स्टोरसंग गरिएको भएपनि रशिद भने नेपाल ई–रिक्स व्यवस्थापन कम्पनी प्रालिको नाममा संकलन भइरहेको पाइएको छ । नेपालगन्जमा रिक्साको पार्किङ्ग व्यवस्थापन अपरिहार्य भएपनि यसरी कुनै कम्पनीलाई सडकमै नियम बिपरित ठगीको लाइसेन्स दिएर उपमहानगरपालिकाले गल्ती गरेको रिक्सा चालकहरु बताउँछन् । त्यस बिषयमा खुलेर बोल्न नसकेका उनीहरु भन्छन्–‘उपमहानगरले ठेक्का दिएरको संस्थाले बढि पैसा लिन्छ भने त्यसको जवाफदेहि उपमहानगर पनि हुनुपर्छ । नत्र उसको संरक्षणमा लुट भइरहेको हामी मान्छौं ।’ स्रोतका अनुसार लिखित सहमतिमा रु २० शुल्क लिने भने पनि उपमहानगरका शक्तिशाली तहबाट थप १० रुपैया असुली गर्दा अन्यथा नपर्ने ढाडस दिएपछि उक्त कम्पनी हौसिएको हो ।
सरकारी जमिन प्रयोग गरेर पार्किङ्गका नाममा कुनै अमुख संस्थालाई पक्षपोषण हुने गरी त्यो पनि सम्झौता बिपरित काम गर्न छुट दिनुका पछाडी उपमहानगरको नियत लुकेको आशंका गरिएको छ । बिगतमा पनि यसरी पार्किङ्गका नाममा सडकमा हुने असलीका बिरुद्धमा आवाज उठेपछि पदाधिकारी तहबाटै त्यसलाई अन्त्य गरी बिवाद अन्त्य गरिएको थियो ।
दश रुपैया रिक्सा चालककै हितमा प्रयोग हुन्छ–अध्यक्ष, कुमारसिंह ठकुरी
नेपाल ईरिक्सा व्यवस्थापन कम्पनी प्रालिका अध्यक्ष कुमारसिंह ठकुरीले रु १० बढि लिएको स्वीकार गर्दै उक्त रकम रिक्सा चालकका पक्षमै खर्च हुने गरेको दाबी गरेका छन् । सम्झौतामा २० रुपैया नै उल्लेख गरेको बताउँदै ठकुरीले भने,–‘यो दश रुपैया रिक्साचालकको बीमा र भइपरी आउने समस्या समाधानमा खर्च हुन्छ । यसबाट धेरैलाई राहत मिलेको छ ।’
पार्किङ्गको ठेक्का पाउनुभन्दा पहिले देखि नै आफुहरुले रिक्सा चालकबाट स्वइच्छाबाट रु १० रुपैया लिने गरेको र अहिले उपमहानगरको सम्झौतामा उल्लेख गरिएको २० रुपैयामा रु १० रुपैया पहिलेकै रकम भएको ठकुरीले बताए । उनले भने,–‘रु २० उल्लेख गरेर ३० रुपैया लिदा बिवाद हुन्छ भनेर उपमहानगरलाई भनेकै हौं । त्यही पनि यो रकम दुरुपयोग गर्दैनौं ।’ उनले रशिदको पछाडी नै रु १० बढि लिनुको प्रयोजन खुलाउने गरेको बताए ।