उच्च प्रतिस्पर्धाबीच विभिन्न ब्रान्डमा पिठोजन्य वस्तु बिक्री गर्दै आएका ५ कम्पनीले एकै वर्ष ६ अर्बको व्यापार गरेको छ । बजारमा साना र ठूला गरी धेरै फ्लोर मिल्स छन् । त्यसमध्ये सन् २०२१ मा ५ वटा फ्लोर कम्पनीले एकै वर्ष ५ अर्ब ९७ करोड ४० लाख रुपैयाँको कारोबार गरेको छ । उद्योगहरुले कोरोनाकै समयमा उच्च व्यापार गरेको तथ्याङ्कले देखाउँछ ।
सन् २०२१ मा विकास फ्लोर मिल प्रालि, जगदम्बा फ्लोर र एग्रो प्रालि, हिमगिरी फुड प्रोडक्ट प्रालि, दाउन्ने फ्लोर मिल्स प्रालि र घराना फुड्स प्रालिले ६ अर्बको कारोबार गरेका छन् । कम्पनीले सन् २०२१ मा ६ अर्ब बराबरको कारोबार गर्दा अल्पकालीन तथा दीर्घकालीन कर्जाका लागि ५ अर्ब बढीको रेटिङ गराएका छन् । कम्पनीहरुले ५ अर्ब १९ करोड ८० लाख रुपैयाँको रेटिङ गराएका हुन् ।
विकास फ्लोर मिलले १ अर्ब ७१ करोड रुपैयाँ, जगदम्बा फ्लोर र एग्रोले १ अर्ब ५४ करोड रुपैयाँ, हिमगिरी फुड प्रोडक्टले ६३ करोड रुपैयाँ, दाउन्ने फ्लोरले ५६ करोड २२ लाख रुपैयाँ र घराना फुड्सले ७५ करोड ५० लाख रुपैयाँको रेटिङ गराएको हो ।
त्यसैगरी, सन् २०२१ मा सो उद्योगमध्ये सबैभन्दा केएल दुगड ग्रुपद्वारा सञ्चालित विकास फ्लोर मिलले गरेको छ । कम्पनीले सन् २०२१ मा २ अर्ब २० करोड २० लाख रुपैयाँको कारोबार गरेको छ । त्यससँगै अन्य कम्पनीहरुले पनि उच्च व्यापार गरेको छ ।
विकास फ्लोर मिलः केएल दुगड समूहद्वारा सञ्चालित विकास फ्लोर मिल प्रालिको आम्दानी १२ प्रतिशतले वृद्धि भएको छ । बजारमा विभिन्न प्रकारका मैदा तथा आटा बेच्दै आएको कम्पनीले सन् २०२१ मा २ अर्ब २० करोड २० लाख रुपैयाँको व्यापार गरेको छ ।
कम्पनीले सन् २०२० मा २ अर्ब १८ करोड ८० लाख रुपैयाँ र सन् २०१९ मा १ अर्ब ९५ करोड ४० लाख रुपैयाँको व्यापार गरेको छ । सन् १९९४ मा दर्ता भएको कम्पनीले गहुँ प्रशोधन तथा उत्पादन गरी विभिन्न प्रकारका पिठोको व्यापार गर्दै आएको छ ।
कम्पनीले बोडी, मसला, लिटो, चामलको लिटो, चिउरा, मैदा, पिठो, गहुँलगायत विभिन्न प्रकारका पिठोको कारोबार गर्दै आएको छ । कम्पनीले ज्ञान र आशिर्वाद ब्रान्डमा सो वस्तुहरू बिक्री गर्दै आएको छ । कम्पनीले विभिन्न देशबाट कच्चा पदार्थ आयात गरी पिठोजन्य वस्तु उत्पादन गर्दै आएको छ ।
कम्पनीले वार्षिक ३ हजार मेट्रिक टन आटा, १६ हजार ९७६ मेट्रिक टन चामल, २५ हजार मेट्रिक टन चक्की आटा, ३२ हजार ४०० मेट्रिक टन फ्लोर मिल र ४ हजार मेट्रिक टन लिटो गरी ८१ हजार ३७६ मेट्रिक टन उत्पादन गर्दै आएको छ ।
कम्पनीले देशभर १८० भन्दा बढी प्रकारका चामल, दाल, खाद्यान्न, बच्चाको खाना, मसला, चिया, मैदा, तेल, र अन्य वस्तु बिक्री वितरण गर्दै आएको छ ।
जगदम्बा फ्लोर एण्ड एग्रोः शंकर ग्रुपद्धारा सञ्चालित जगदम्बा फ्लोर एण्ड एग्रोले ९४ करोड ९० लाख रुपैयाँको व्यापार गरेको छ । कम्पनीले सन् २०२० मा १ अर्ब २७ करोड ९० लाख रुपैयाँको व्यापार गरेको थियो । त्यस्तै, सन् २०२२ मा कम्पनीले ९५ करोड ६० लाख रुपैयाँ (अपरिष्कृत)को व्यापार गरेको छ ।
भैरहवामा उद्योग भएको कम्पनीले ‘जगदम्बा’ र ‘शक्ति भोग’ ब्रान्डमा मैदा, आटा, सुजी, चोकर र अन्य वस्तु बिक्री वितरण गर्दै आएको छ । साथै,कम्पनीले चामल र चिनीको कारोकार गर्दै आएको छ ।
कम्पनीले वार्षिक ३८ हजार २ सय मेट्रिक टन गहुँजन्य वस्तु उत्पादन गर्दै आएको छ । सुलभ अग्रवाल अध्यक्ष रहेको कम्पनीले कम्पनीले आन्तरिक बजारमा मात्रै नभएर शक्ति भोज ब्रान्डको आँटा पनि निर्यात गर्दै आएको छ ।
हिमगिरी फुड प्रोडक्टः बंसी ब्राण्डको मैदा, आँटा, सुजी र चोकर बेच्ने हिमगिरी फुड प्रोडक्टको नाफा ६ प्रतिशतले घटेको छ । कम्पनीको सन् २०२० मा ८ प्रतिशतले नाफा घटेको थियो भने सन् २०२१ मा ६ प्रतिशतले नाफा घटेको जनाएको छ ।
कम्पनीले सन् २०२० मा ८८ करोड ८० लाख र सन् २०१९ मा ७९ करोड ८० लाख रुपैयाँको व्यापार गरेको थियो । विगत ८ वर्षदेखि निरन्तर रेडिमेड गार्मेन्ट, इलेक्ट्रोनिक्स, फुड र दानामा संलग्न कम्पनीको अध्यक्ष तरुन अग्रवाल हुन् भने सञ्जय अग्रवाल निर्देशक हुन् ।
कम्पनीले विशेषगरी चार वटा सेग्मेन्टमा खाद्यान्न उत्पादन गर्दै आएको छ । कम्पनीले मैदा, आटा, सुजी, चोकर र चिउरा ‘बंसी’ ब्रान्डमा उत्पादन तथा बिक्री वितरण गर्दै आएको जनाएको छ । कम्पनीले मुख्यगरी कच्चा पदार्थको रुपमा गहुँ र धान प्रयोग गर्दै आएको छ ।
रुपन्देहीमा उद्योग स्थापना भएको कम्पनीले वार्षिक ३६ हजार २४० मेट्रिक टन गहुँ र ७ हजार ८ सय मेट्रिक टन चिउरा उत्पादन क्षमता छ ।
दाउन्ने फ्लोर मिल्स प्रालिः दाउन्ने मिल्स फ्लोरले सन् २०२१ मा ७२ करोड २० लाख रुपैयाँको व्यापार गरेको छ । कम्पनीले सन् २०२० मा ६७ करोड २० लाख रुपैयाँ र सा् २०१९ मा ४५ करोड १० लाख रुपैयाँको व्यापार गरेको छ ।
कम्पनीअनुसार सन् २०२१ मा २६.५२ प्रतिशतले आम्दानी बढेको जनाएको छ । जसमा कम्पनीले ७.७१ प्रतिशतले नाफा कमाएको छ ।
कम्पनीले विशेषगरी गहुँजन्य वस्तुको कारोबार गर्दै आएको छ । कम्पनीसँग दैनिक १८० मेट्रिक टन मैदा र ६० मेट्रिक टन आटा उत्पादन गर्ने क्षमता छ । कम्पनीले ‘दाउन्ने गोल्ड’ ब्रान्डमा १ केजीदेखि ५० केजीसम्मको प्याकेजमा घरायसी तथा उद्योगहरुमा मैदा तथा आटा बिक्री वितरण गर्दै आएको छ ।
यी कम्पनीका उत्पादन मुख्यगरी पश्चिमका जिल्लाहरुमा बिक्री वितरण हुँदै आएको छ । कम्पनीले मैदा, आटा चक्की आटा, चोकर, सुजी र दलीयाजस्ता वस्तु प्रशोधन गर्दै आएको छ ।
कम्पनीअनुसार उत्पादित फ्लोर पास्ता, नुडल्स तथा विस्कुट कम्पनीमा खपत हुँदै आएको जनाएको छ । जसमा ३ सय बढी नियमित ग्राहक रहेको कम्पनीको भनाइ छ । सात जना सञ्चालक समिति रहेको कम्पनीमा गणेशप्रसाद पोखरेल अध्यक्ष छन् ।
घराना फुड्स प्रालिः गोयन्का परिवारबाट सञ्चालित घराना फुड्स प्रालिले सन् २०२१ मा १ अर्ब २१ करोड ८० लाख रुपैयाँ (अपरिष्कृत) को व्यापार गरेको छ । कम्पनीले सन् २०२० मा १ अर्ब ७ करोड ८० लाख रुपैयाँ, सन् २०१९ मा ९६ करोड ३० लाख रुपैयाँ र सन् २०१८ मा ७२ करोड २० लाख रुपैयाँको व्यापार गरेको छ ।
कम्पनीले देशभर ‘घराना’ ब्रान्डको फ्लोर, चक्की आटा, सेमोलिना र ब्रान उत्पादन गरी बिक्री वितरण गर्दै आएको छ । गोयन्का परिवारको विनयकुमार गोयन्काको ६० प्रतिशत, स्रीचन्द गोयन्काको २० प्रतिशत र गोभिन्दप्रसाद गोयन्काको २० प्रतिशत हिस्सा रहेको कम्पनीले वार्षिक ३२ हजार ४ सय मेट्रिक टन उत्पादन क्षमता छ । त्यसमध्ये सन् २०२१ मा ६० प्रतिशत मात्रै उत्पादन भएको कम्पनीको भनाइ छ ।
कम्पनीले विशेषगरी भारतबाट गहुँ आयात गर्दै प्रशोधन गरी नेपाली बजारमा फ्लोर बिक्री वितरण गर्दै आएको छ । कम्पनीको सन् २०२१ मा १३ प्रतिशतले आम्दानी बढेको छ । क्लिकमाण्डुबाट