नेपालगन्ज–डाक्टर धवल शमशेर राणालाई धेरैले नेताका रुपमा मात्र चिन्छन् । तर उनी र उनको परिवार कृषिसंग समेत जोडिएको छ,जसले पश्चिम नेपालको कृषिलाई नयाँ आयाम दिएको थियो । धवलका दाजु सुमेर शमशेर अहिले पनि कृषिकर्म मै सक्रिय छन् ।
देश निकाला पछि राणा प्रधानमन्त्री देव शमशेर भारत निर्वासित भए । उनका छोरा तथा धवल शमशेरका हजुर बुवा मसुरी शमशेर नेपालगन्ज आएर बसेका थिए । मसुरी शमशेर नेपालगन्ज आएपछि पश्चिम तराइमा राणा खानदानको बीउ रोपियो । मसुरी शमशेरले आफ्नो पालामा महाकाली मिल खोलेर औद्योगिक क्रान्ति गरेका गरेका थिए । यही मिलले बंगलादेशसम्म चामल निर्यात गथ्र्यो । बिडम्बना अहिले भारतबाट दैनिक चामल आयात हुन्छ । मसुरी शमशेरका छोरा कैलाश शमशेरले पनि कृषिलाई प्राथमिकता दिए ।
धवल शमशेरका हजुर बुवाहरूले भारतमा घरजम गरेकाले पनि उनले कक्षा १ देखि स्नातोकोत्तर तहसम्मको अध्ययन भारतमै गरे । धवल शमशेरले भारतबाट राजनीति शास्त्रमा स्नातकोत्तर र अमेरिकाबाट नगर विकासको विषयमा विद्यावारिधी (पिएचडी) गरेका छन् । धवलले बाल्यकालको अधिकांश समय भारतमा पढाइसँगै बिताए । भारतमा वर्षको ९ महिना विद्यालय खुल्ने र ३ महिना जाडो बिदा हुने भएकाले धवल बिदाको ३ महिनाको समय नेपालगन्जमा बिताउँथे ।
धवल शमशेरका बुवा नेपालका पहिलो ‘कृषि इन्जिनियर’ हुन् । अमेरिकामा पढेर नेपालको पहिलो ‘कृषि इन्जिनियर’ बनेपछि तराईका उर्वरभूमिमा कृषि क्रान्ति गर्ने कैलाश शमशेर राणाको सपना थियो । यसका लागि दुई छोरा सुमेर शमशेर र धवल शमशेर पनि कृषि क्षेत्रमै लागून् भन्ने उनी चाहन्थे । बुवाको सपना अनुसार धवलले आफ्नो पढाइसँगै खेती किसानीमा समेत ध्यान दिएका थिए । बिदामा नेपालगन्ज आएको समयमा उनले तरकारी खेती गरेर कृषि पेसालाई आफ्नो व्यवसाय बनाए ।
उनका दाजु सुमेर भने पूर्ण रूपमा बुवाको बाटोमा हिँडे ।धवलले प्रवीणता प्रमाण पत्र तहको पढाइ सकेपछि १९ वर्षको उमेरमा आफूसँगै कलेजमा पढ्ने भारतीय महाराजाकी छोरीसँग प्रेम विवाह गरे । घरपरिवारको कृषि पेसासँगै धवलले पढाइलाई निरन्तता दिन भने छोडेनन् । स्नातक तह अध्ययनसँगै उनले भारतमै कन्सट्रक्सन कम्पनीमा केही समय नोकरी गरे । त्यसपछि स्नातकोत्तर तहको पढाइ सकिएपछि उनले कपास विकास समिति खजुरामा सहसचिव स्तरको नोकरी गरे । ३ वर्ष सम्म काम गरेपछि काम छोडेर उनी पूर्ण रूपमा व्यवसायमा लागे । उनले नेपालगन्जमा होटल बाटिका, बर्दियामा एड्भेन्चर रिसोर्ट र नेपालगन्जमा मोडर्न पब्लिक स्कुल खोलेर व्यवसायिक क्षेत्रमा फड्को मारे ।
केही समयको व्यवसायिक सफलतापछि व्यवसायसँगै धवलले जिन्दगीको नयाँ बाटो तय गरे । उनले राजनीतिमार्फत् विकासमा कायापलट गर्ने योजना बनाए । भारतमा अध्ययनको क्रममा नेपालमा फर्किएपछि राजनीति गरेर देश विकासमा लाग्ने भावना उनमा जागेर आएको थियो । नेपालमा भएको २०४६ सालको जनआन्दोलनमा दुःख पाएपछि उनि २०४७ सालमा राजनीतिमा आबद्ध भए । त्यसयता धवल दुईपटक नेपालगन्जको मेयर भए । अहिले प्रतिनिधिसभाका लागि बाँके क्षेत्र नं. २ को उम्मेदवार छ् । खेती किसानीसंग जोडिएका धवलले मेयर हुँदा कृषिहरुलाई बिउबिजन तथा बिभिन्न सहयोग गरे । साथै सिंचाईका योजना अघि सारेका थिए । संसदीय चुनावका क्रममा समेत उनले कृषिलाई महत्वमा राखेर एजेण्डा स्थापित गरेका छन् ।
‘खेती किसानी’मा आबद्ध भएकै कारण किसानले भाेग्नुपरेकाे समस्या उनले नजिकबाट नियालेका छन् । समयमै मल नपाउने जुन समस्या छ निर्वाचनमा जिते संसदमा निरन्तर मल उत्पादन गर्ने उद्योग खाेल्ने बारेमा आवाज उठाउने उनले मतदाता माझ अठाेट लिएका छन् ।
नाम : सुमेर शमसेर राणा
उमेरले छ दशक काटे पनि सुमेर शमसेर राणाको कृषिक्षेत्रमा सक्रियता कुनै लक्काजवानको जोश,जाँगर भन्दा कम देखिन्न । जानकी गाउँपालिका–२ मा ७४ बिगाहमा फैलिएको राधेपुर कार्प हेचरी (माछाको भुरा उत्पादन) फार्म सम्हालेका छन् । सामान्य कृषक जस्तै काम गरिरहेको भेटिने सुमेर राणा खानदानमा जन्मिए । नेपालगन्जमा कहलिएका कैलाश शमसेर राणाका छोरा हुन । सुमेरका भाई डा धवल शमसेर राणा नेपालगन्ज उपमहानगरपालिकाको मेयर छन् ।
बुवा कैलाश शमसेर राणाको पदचाप पछ्याउँदै सुमेरले पनि कृषि पढे । भारतबाट बिएससी एजि गरे । उनका बुवाले पनि कृषि पढेका थिए । कैलाश शमसेर अमेरिकाबाट कृषिक्षेत्रको इन्जिनियरिङ्ग अध्ययन गर्ने सम्भवत पहिलो नेपाली हुन । कृषिक्षेत्रमै संलग्न हुँदा हालको राधेपुर फार्म जोडे । त्यही फार्ममा छोराहरुले पनि कृषि कार्यलाई निरन्तरता दिए । अहिले फार्मभित्र डा धवल शमसेर राणाको आप बँगैचा रहेको
छ । लाखौ रुपैयाको आप उत्पादन हुने उक्त बगैचा ठेक्कामा दिईन्छ । जानकारहरुका अनुसार कृषिक्षेत्रमा मेयर राणाको लगाव पनि कम छैन । फार्ममा गए भने कुनै न कुनै काम गर्न पछि पर्दैनन् ।
आँपको बैगचा पछि बाँकी जग्गामा सुमेर शमसेरको २६ वर्ष पुरानो माछाको भुरा उत्पादन हुने राधेपुर कार्प हेचरी सन्चालन गर्दै आएका छन् । यो हेचरी पश्चिम नेपालको माछाको भुरा उत्पादनको इतिहास हो । सबैभन्दा पुरानो भुरा उत्पादन केन्द्र जुन अहिलेसम्म निरन्तर चलिरहेको छ । मनबाटै कृषिकर्ममा जुटेका सुमेरले जस्तोसुकै समस्या परेपनि हेचरी तलमाथि हुन दिएका छैनन् । खानदानी परिवारका उनलाई फार्ममा बसेर कुटो र कोदालो चलाउन कुनै खिन्नता महसुस हुँदैन । कामदारलाई निर्देशन दिने मात्र होइन आफै पनि काममा सक्रिय हुन्छन् । त्यसैले फार्ममा काम गर्ने कामदारहरु भन्दै थिए,‘उहाँ मालिक हो भन्ने महसुस कहिल्यै हुँदैन । संधै हामी जस्तै बराबर भएर काममा जुट्नुहुन्छ ।’ उनलाई धेरैले सम्मानले ‘राजा र राणा साहेब’ पनि भन्छन् । २४ घण्टामा कति पटक फार्ममा आउँछन् त सुमेर ? हाँस्दै जवाफ फर्काउछन्,–‘२४ घण्टा नै ।’ कसरी ?
उनी भन्छन,–‘दिनभर यही हुन्छु । रातीमा सुते पनि यहीको सपना देख्छु । अनि भएन त २४ घण्टा ….।’
कृषिक्षेत्रमा सुमेर शमसेरको मनबाटै लगाव छ । त्यसैले उनी भन्छन्,–‘सरकारी जागिर खाएको भए रिटायर्ड हुने बेला हुन्थ्यो । तर यता भने म अझै सक्रिय छु । काम सकियो भन्ने महसुस नै हुँदैन । किसान नेभर रिटायर्ड ।’ कृषिक्षेत्रमा सुमेरको यही सक्रियतालाई देखेर सरकारले २०७३ र २०७४ मा उत्कृष्ट कृषक पुरस्कार समेत दिएको थियो ।