तस्करी नियन्त्रण व्यवसायीको चुनावमा बन्न सकेन एजेण्डा


नेपालगन्ज । तस्करी नियन्त्रणमा व्यवसायीले दोहोरो भूमिका निर्वाह गरेको भन्दै आलोचना भएको छ । नेपालगन्ज उद्योग वाणिज्य संघको निर्वाचनमा प्रतिस्पर्धा गरिरहेका उम्मेदवारले सीमापार बजारले गर्दा स्वदेशी व्यापार सुकेको भन्दै त्यसलाई नियन्त्रण गर्ने उपायलाई आफ्नो मुद्दा बनाएका छन् ।

तर बजार अनुगमन र छापामार्दा तस्करीका सामान स्वंय व्यापारीका पसल र गोदाममा भेटिने गरेका छन् । स्वदेशी बजार सुकेको भन्दै सर्बसाधारणलाई सीमापार नजाउँ भन्ने व्यवसायीकै पसलदेखि गोदामसम्म तस्करीका सामान बग्रेल्ती भेटिने कुरा कुनै नौलो बिषय होइन । तर यिनै बिषयलाई नजरअन्दाज गरेर सस्तोको लोभमा सीमापार जाने सर्वसाधारणलाई मात्रै दोषी देखाएर आफु चोख्खिने कार्य गर्न नहुने धेरैको भनाई छ ।

नेपालगन्ज–१२ मा बसोबास गर्ने दिलसरा पुन जबसम्म व्यवसायीले तस्करीका सामान बेच्न छाड्दैनन् तवसम्म नेपालगन्ज उद्योग वाणिज्य संघको निर्वाचनमा मतदाता लोभ्याइरहेका व्यवसायीका नेताले ‘तस्करी नियन्त्रण हुनुपर्छ’ भन्दै गरेका प्रतिवद्धता र भाषणलाई कसैले पत्याउनेवाला नपत्याउने बताइन । उनी भन्छिन्,–‘सीमापारबाट अवैध सामानका नाममा किनमेल गर्ने सर्बसाधारण भन्दा खतरनाक कुरा त तस्करी मार्फत भित्रिने लाखौंको सामान स्टक गरेर बेच्ने व्यवसायी हुन । उनीहरुलाई रोक्ने को ?’

 

जिल्ला प्रशासन कार्यालय बाँकेको नेतृत्वमा रहेको संयुक्त बजार अनुगमन टोलीले गर्ने हरेक बजार अनुगमनमा अवैधरुपमा भित्रिएका सामान फेला पर्छन । त्यसरी फेला परेका सामान समितिले नष्ट गर्दै व्यवसायीलाई जरिवाना गर्दै आएको छ । यसरी पसल–पसलमा भेटिने अवैध सामान भन्सार नाकाको कमजोर सुरक्षा व्यवस्था छलेर बजारमा भित्रिएका हुन ।

अवैध सामान भित्रिने मुल स्रोत भंसार नाका फितलो तर बजार अनुगमन कडाई भइरहेको छ । नेपालगन्जको चौलिकाचोकदेखि जमुनाहसम्म नेपाल प्रहरी र सशस्त्र प्रहरीका आधा दर्जन चेकपोष्ट छन् तर त्यसलाई समेत छलेर नेपालगन्जमा अवैध सामान भित्रिन्छ ।

नाकाको फितलो सुरक्षा व्यवस्थाको फाईदा उठाउँदै भित्रिएको सामान बजार पुगिसकेपछि बजार अनुगमन समितिले बरामद गर्ने गरेको छ । नाकाबाटै भित्रिनै नदिने गरी कडाई गर्न कस्ले रोक्छ ? मुख्य नाका मात्रै होइन सहायक नाकामा समेत सुरक्षाकर्मी उपस्थिती हुने ठाउँबाट समेत तस्करी भइरहेको छ ।

शुक्रवार सांझा जिल्ला प्रहरी कार्यालय बाँकेले नेपालगन्ज–१ मा चेकजांच गर्दा जिल्ला दाङ तुलसिपुर –९ बस्ने बर्ष २४ को चालक कमल बिकले चलाएको रा.१ ज. ३८१ नम्बरको बोलेरो पिकअप गाडीमा भारतबाट अवैध रुपमा भन्सार छली ल्याएको सामान बराद गर्यो । दाङ तर्फ लैजादै गरेको अबस्थामा जुत्ता, चप्पल र बोलेरो पिकअप गाडी सहित नौ लाख बाईस हजार दुई सय पचास बराबरको मालसामान थप कारवाहीका लागि भंसार बुझाइएको छ ।

यता जिल्ला बजार अनुगमन समितिले पसल–पसलमा छापामार्दा चिसोपिय पदार्थ र सुर्तीजन्य पदार्थ फेला पारेर नष्ट गदै आएको छ ।

यसरी अवैधरुपमा भित्रिने सामान व्यवसायीहरुले र्नै खरिद गरी विक्री गर्दै आएका छन् । उनीहरुकै कारण तस्करी मौलाएको छ । तर नेपालगन्ज उद्योग वाणिज्य संघले त्यस्तो कार्य गर्ने व्यवसायीलाई संरक्षण नगर्ने प्रष्ट भन्दै आएको छ । उनीहरुले आफ्नो छाता संस्था, नेपालगन्ज उद्योग वाणिज्य संघ मार्फत बजार, व्यवसाय पर्वका बीच पनि उत्साहप्रद हुन नसेकको भन्दै उपभोक्ता सरासर सीमापार जाने र तस्करहरुले निर्वाध सामान विभिन्न जिल्ला पुर्याउने अवस्था रोक्न सम्बद्धहरुसँग माग गरेका हुन् ।

बजारको अवस्था चिन्ताजनक भएपछि तस्करी रोक्न माग गरेको उद्योग वाणिज्य संघले दसँैंको किनमेल स्वदेशमै गर्न सचेतना अभियान सुरु गर्ने भएको छ । नेपालगन्ज उद्योग वाणिज्य सङ्घले उपभोक्ता सचेतना अभियान सञ्चालन गर्ने भएको हो ।

सिमावर्ती भारतीय रुपैडिहामा किनमेल गर्न जाने नेपाली ग्राहकलाई लक्षित गरी नेपालगन्जमा उपभोक्ता सचेतना र अवैध आयात रोकथाम लगायतका अभियान सन्चालन गर्ने निर्णय गरिएको संघका महासचिव चिरञ्जीवी वलीले जानकारी दिए । उनका अनुसार, नेपालीका चाडपर्वमा आम उपभोक्तालाई स्वदेशी बजारमा खरिद गर्ने बानीको विकास गराउन सीमा क्षेत्रमा उपभोक्तालाई पर्चा पम्प्लेटका साथ सचेतना गराइने भएको छ ।

नेपालगन्जमै गुणस्तरीय तथा सस्तो पाइने सामग्रीसमेत भारतीय बजारमा खरिद गर्न पुग्ने उपभोक्ताको धारणामा परिवर्तन ल्याउने गरी सचेतना कार्यक्रम सञ्चालन गरिने छ ।

दसैंँको किनमेल गर्न भारतीय बजार रुपैडिहामा नेपाली उपभोक्ताको लर्को लागेपछि यतिबेला नेपालगन्जका व्यापारी चिन्तित छन् । बाँकेका ग्रामीण क्षेत्र र बर्दिया, दाङ, सुर्खेत, दैलेख, जाजरकोट र सल्यान लगायतका उपभोक्तासमेत किनमेलका लागि भारत जाने गरेका छन् ।

सिमापारी भारतीय बजार रुपैडिहामा नेपाली उपभोक्ताको बाक्लो उपस्थितिले नेपालगन्जका व्यापारीलाई वर्षौंदेखि पिरोल्दै आएको छ । सरकारी निकायको उदाससिनताका कारण नेपालगन्जमा नेपाली उपभोक्ताको आकर्षण बढ्न नसकेको उपभोक्ताहित संरक्षण मञ्च बाँकेका अध्यक्ष वसन्त गौतम बताए ।

पछिल्लो आर्थिक संकट र तस्करी मौलाएपछि नेपालगन्ज भन्सार कार्यालयले लक्ष्यअनुसार राजस्व उठाउन सकेन । २९ अर्ब ३२ करोड ९५ लाख रुपैयाँ लक्ष्य लिएको भन्सार कार्यालयले झन्डै ११ अर्ब नोक्सान व्यहोर्दै १८ अर्ब १९ करोड राजस्व संकलन भयो । यो वर्ष मात्र होइन, बर्सेनि भन्सार कार्यालयले राजस्व गुमाउँदै आएको छ।

यसरी दैनिक भन्सार छली चोरी पैठारी गरेर सामान आयात हुँदा यसको प्रत्यक्ष असर राजस्व सङ्कलनमा परेको छ। बर्सेनि राजस्व गिरावट हुनुको प्रमुख कारण नै यही भएको कतिपयको भनाइ छ। राजस्वको लक्ष्य भेटाउन नसक्नुको प्रमुख कारण भने आयात घट्नु भएको नेपालगन्ज भन्सार कार्यालयले जनाएको छ। ‘पछिल्लो समय भारतबाट आयात घट्दो छ,’ नेपालगन्ज भन्सार कार्यालयका सूचना अधिकारी डिल्लुप्रसाद शर्माले भने, ‘जसका कारण, हाम्रो राजस्वको लक्ष्य पूरा हुन सकेन।’ उनका अनुसार पेट्रोलियम पदार्थमा धेरै कम आयात भएको छ। जसबाट करिब तीन अर्ब बराबरको राजस्व घाटा भएको उनी बताउँछन् ।

नेपालगन्ज उद्योग वाणिज्य संघको भदौ २ गते हुने निर्वाचनमा ललित रौनियार र टंक धामीको नेतृत्वमा प्यानल प्रतिस्पर्धामा छन् । उनीहरुले तस्करी नियन्त्रणका लागि सरोकारवाला निकायलाई सहयोग गर्ने प्रतिवद्धता जनाएका छन् । दुबैको मत मत छ,–‘व्यक्ति बिशेषले गरेको अपराधको दण्ड सबै व्यवसायीले पाउँनुहुँदैन र एउटै डालोमा राख्नुहुँदैन । जसले अपराध गरेको उनीहरुको संरक्षण गरिदैन ।’

अध्यक्षका उम्मेदवार धामीले कुनै व्यक्ति बिशेषले गर्ने अपराधलाई समग्र व्यवसायीसंग जोड्न नहुने बताउँछन् । उनी भन्छन्,–‘नियम बिपरितको कामलाई कुनै हालतमा हामी सही हो भन्न सक्दैनौं त्यसलाई साथ दिने कुरा पनि आउँदैन ।’ अवैध सामानको आयातले वैधरुपमा व्यापार गरिरहेका व्यवसायीलाई ठूलो मार परिरहेको बताउँछन् । उनी भन्छन्,–‘हामी वैध व्यापार गर्नेको संरक्षण गर्छौ र अवैध व्यापार गर्ने माथी कारवाही होेस् भन्छौ ।’

प्रकाशित मितिः     १ भाद्र २०८०, शुक्रबार ०७:३६  |