स्वदेशमै सम्भव छ : युवा, उद्यम र रोजगार


नेपालगन्ज कनक्लेभ
स्वदेशमै सम्भव छ : युवा, उद्यम र रोजगार
सहारा जोशी, अध्यक्ष (युवा उद्यमी मञ्च)
तीर्थ थापा, डाइरेक्टर (डल्फिन गु्रप)
डा. जीत चन्द, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना
सेवा पाठक, सिइओ (भायानेट)
मोडरेटर ः डा. नितेश कनोडिया, निर्देशक (नेपालगञ्ज मेडिकल कलेज)

नेपालगन्ज कनक्लेभको ॅस्वदेशमै सम्भव छ ः युवा, उद्यम र रोजगार’ शिर्षकको सत्रमा उद्यमशिलत, नवप्रवर्तन र रोजगारीका सन्दर्भमा मन्थन भएको छ । युवा उद्यमीहरु भायानेटका सिइओ सेवा पाठक, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाका डा. जित चन्द, डल्फिन ग्रुपका डाइरेक्टर तीर्थ थापा, युवा उद्यमी मन्चका अध्यक्ष सहारा जोशी वक्ताकारुपमा रहेका थिए । नेपालगन्ज मेडिकल कलेजका निर्देशक डा. नितेश कनोडियाले सहजीकरण गरेको कार्यक्रममा उद्यमीहरुले आफ्ना अनुभव र सिकाईहरु आदानप्रदान गरेका थिए ।
तीर्थ थापा
युवा उद्यमी तीर्थ थापाले युवालाई राज्यले कुनै सपोर्ट नगरेको बताए । व्यवहारिक जीवनमा जोडिएको उद्यमशीलताका विषयमा नसिकाइने गरेको उनको गुनासो छ । उनले भने, ॅयुवालाई कृषि र पर्यटनमा लगाउन सकिन्छ । पारिवारिक र सरकारले गर्नुपर्ने जति काम गरेको छैन । सरकारबाट अभिभावकत्व पाउन सकेको छैन ।’
युवालाई विदेश पलायन रोक्न सरकारले युवालाई यही बस्न सक्ने वातावरण बनाउनु पर्ने उनले बताए । काम गर्ने र उद्यम गर्ने सहज वातावरण बनाइदिनु पर्ने उनको भनाइ छ । उनले चिन्ता व्यक्त गर्दै भने, ॅ५० लाख तिरेर गैरकानूनी बाटोबाट विदेश जान तयार छन् । तर, त्यही पैसा लगाएर यहाँ उद्यम गर्ने सोच युवामा देखिदैन । यस्तो हुनुमा सरकार नै दोषी हो भन्ने लाग्छ ।’
नेपालमै परिवारसँग बसेर काम गर्ने वातावरण सरकारले बनाउन उनले आग्रह गरे । उनले भने, ॅहामीसँग खेत छ । त्यो बाँझो छ । युवा दुबईमा छ । छोरालाई खेतमा जोत्न लाज लाग्छ । बुवा बुढा भइसकेका छन् । छोरालाई ट्याक्टर किन्ने पैसा छैन । यो कुरा राज्यले बुझ्न जरुरी छ । खाना र लाउन पुग्ने गरी आम्दानी हुने वातावरण बनेमा युवा विदेश जानबाट रोकिन सक्छ ।’
सरकारले निजी क्षेत्रलाई हातेमालो गर्दै लैजानु पर्ने उनले बताए । नेपालमा बसेर काम गर्ने र कर तिर्ने वातावरण बनाउनु पर्ने उनको आग्रह छ । राज्यको अनुदान समूह लक्षित वा पार्टी कार्यकर्तालाई बाँड्ने गरी भइरहेको उनको बुझाई छ । ॅत्यसै पैसा पाइन्छ भने काम किन गर्ने भन्ने प्रवृत्ति देखिन्छ । राज्य र व्यापार गर्ने मान्छेका बीचमा दुरी धेरै छ । व्यापारीलाई फोन आउदा डर मान्नु पर्ने अवस्था छ । व्यापारीलाई फुल्न दिनु पर्छ । फुलेपछि राज्यलाई फाइदा हुन्छ भन्ने नै छैन ।’

सेवा पाठक
भायानेटका सिइओ सेवा पाठकले आफू व्यवसायमा लागेको लागेको १५ वर्ष भएको बताउँदै त्यतिबेला र अहिलेको व्यवसायिक वातारण धेरै परिवर्तन आएको उल्लेख गरिन् । ॅपहिला परिवारमा कोही पनि नलागेका व्यक्तिलाई व्यवसायमा लाग्न झन गाह्रो थियो । अहिले त्यो सहज छ । हामी रिस्क नलिने प्रवृत्ति थियो । अहिलेका जेनेरेशन चुनौती मोल्न तयार छन् । उनीहरुलाई वातावरण बनाइदिनु पर्ने छ । युथमा निकै जोश र जागर देख्छुु म,’ उनले भनिन् ।
आफूले दश वर्षमा धेरै युवासँग काम गर्ने अवसर पाएको बताउँदै उनले नेपालमा भन्दा बढी पैसा पाउने भएकाले युवा विदेशिने गरेको बुझाई व्यक्त गरिन् । ॅनेपालमा काम गर्ने वातावरण पनि राम्रो छैन । पेट पाल्न गाह्रो भएको बेला घर खेत राख्दा पनि सहज लोन पाउने अवस्था छैन । विदेशको मात्रै राम्रो देख्ने गरिन्छ । धेरैले यही पनि राम्रो गरेका छन्,’ उनले थपिन् ।
अहिलेको युग डिजिटिलाइजेसनको भएको बताउँदै पाठकले टेक्नोलोजीले विगतमा कामदारले गर्ने काम गरिरहेकोले त्यो चुनौतिलाई ध्यानमा राखेर राज्यका नीतिहरु बन्नुपर्ने बताइन् । उनले एआईको प्रयागले निम्त्याउने चुनौति र अवसरप्रति अहिलेको युवा पुस्ता सचेत रहनु आवश्यक रहेकोमा जोड दिइन् ।

सहारा जोशी
युवा उद्यमी मन्चका अध्यक्ष सहारा जोशीले पनि अहिलेको युवाहरुमा जोश जागर उच्च रहेकोमा सही थपिन् । उनले भनिन्, ॅनेपालमै केही गरौ भन्ने हुटहुटी छ । युवाले अवसर खोजिरहेका छन् । अवसर दिनु पर्नेछ ।’ उनले युवा पलायन डर लाग्दो रहेको बताउँदै युवाहरुलाई नेपालमा रोक्न जरुरी रहेको बताइन् । ॅउनीहरुलाई नेपालमा बसाउने वातावरण बनाउनु पर्छ । रोजगार र उद्यमी बनाउनु पर्छ । युवालाई नेपालमा भविष्य छ भन्ने देखाउनु पर्छ । शिक्षा र अनुसन्धानमा युवालाई लगाउनु पर्छ,’ उनले भनिन् ।
उनले वित्तिय र आर्थिक शिक्षा अति नै जरुरी रहेको बताउँदै भनिन्, ॅनाफा कसरी कमाइन्छ भन्ने जानकारी हुनु पर्यो । भविष्यको आर्थिक योजना बनाउन पनि सिकाउनुपर्छ ।’

डा. जीत चन्द
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाका डा. जित चन्दले नेपालको युवा नीति उत्कृष्ट रहेको बताए । तर त्यसलाई कार्यान्वयनमा ल्याउन नसक्दा युवाहरुमा चरम असन्तुष्टि रहेको उनको भनाइ छ । उनले भने, ॅयुवाहरुमा खर्च गरिने बजेट नै कम छ । त्यसैकारण प्लस २ पास भएका युवालाई रोक्न नेपालमा चुनौती देखिएको छ ।’
नेपालमा ४० प्रतिशत युवाहरु रहेको बताउँदै उनले युवाको ब्रेन ड्रेन डरलाग्दो रुपमा रहेको बताए । ॅहाम्रो युथमा दिमागमा पैसा मात्रै जोडिएको छ । विदेशमा गएर राती दुई बजे शौचालय सफा गर्न तयार छौं । तर, देशमा गोबर सफा गर्न तयार छैनौ,’ उनले भने ।
उनले राज्यको संयन्त्र र सामाजिक मनोविज्ञान नै विदेश जान दुरुत्साहित गर्ने खालको रहेको बताए । उनले भने, ॅविदेश जानका लागि लोन प्रक्रिया सजिलो छ । हामीकहाँ लक्षित गरेर बजेट आउँछ । विदेशमा त्यस्तो हुँदैन । उनीहरुसँग सिस्टम छ । त्यसमा रहेर उनीहरुले काम गर्छन् । बजारको ग्यारेन्टी गर्छ । नेपालमा त्यो छैन ।’

प्रकाशित मितिः     ८ मंसिर २०८०, शुक्रबार १७:५६  |