तोरी फुलेर पहेलै खेत ! त्यसमा भुभु गर्दै चरण गरिरहेका मौरी । यतिबेला बर्दियाका खेतहरु मौरीखर्क(मौरी चर्ने ठाउँ)मा परिणत भएका छन् । बाँकेका मौरीपालक कृषक यिनै मौरीखर्कमा आफ्ना मौरी स्याहार्न व्यस्त भेटिन्छन् ।
नेपालगन्ज १७ मंसिर । तोरी फुलेर पहेलै खेत ! त्यसमा भुभु गर्दै चरण गरिरहेका मौरी । यतिबेला बर्दियाका खेतहरु मौरीखर्क(मौरी चर्ने ठाउँ)मा परिणत भएका छन् । बाँकेका मौरीपालक कृषक यिनै मौरीखर्कमा आफ्ना मौरी स्याहार्न व्यस्त भेटिन्छन् ।
अति नै दुर्लभ अवस्थामा पुगेको पुत्काको मौरीको संरक्षणमा लामो समयदेखि जुटेका कोहलपुर —११ का परमुल बस्नेत तीन दिनपछि मौरीको अवस्था बुझ्न बर्दियाको गुलरिय पुगेका छन् । ‘यसपाली तोरी राम्रै फुलेको छ,मह पनि राम्रै उत्पादन हुन्छ ।’—मौरीखर्कमा पुगेर मौरी र वरपरको पहेंलपुर जस्तो बनेको तोरीबारीको अवस्था बुझेपछि बस्नेत भन्छन्,—‘उबेला हाम्रा पुर्खाहरु भेडीखर्क जान्थे रे † हामी अहिले मौरी डुलाउँदै मौरीखर्क आइपुगेका छौं ।’
बस्नेतका करिव ८५ घार छन् । त्यतिकै हाराहारी घार भएका बाँकेका चार जना व्यवसायीक कृषकहरु मौरी चराउन बर्दिया पुग्ने गरेका छन् । प्रशस्त तोरीखेती हुने भएका कारण बाँके,दाङ्ग, सुर्खेतबाट समेत त्यहाँ मौरी चराउन पुग्छन् । तोरीबारी भरी मौरीका घार देख्न पाइन्छ । तोरी फुल्न्जेल घार खेतमै राखिन्छन् त्यसपछि भने मह काडिन्छ । बस्नेत भन्छन्,—‘मह काडेपछि अन्त कहाँ तोरी पाइन्छ त्यही खोज्दै जान्छौं ।’
बाँकेको डुडुवा गाउँपालिका लगायतका ठाउँमा मौरी चरणक्षेत्र भए पनि त्यो प्रभावकारी छैन । त्यसैले व्यवसायिक मौरीपालन गर्ने कृषकहरुले बर्दिया लैजाने गरेका छन् । बर्दियाको राजापुर,गुलरियाको खेतमा तोरी उत्पादन सिजनमा लहरै लागेका मौरीका घार देख्न सकिन्छ । त्यसरी राखेको घारलाई मौरी किसानले जग्गाधनीको जिम्मा छाड्ने गरेका छन् । बस्नेत भन्छन्,—‘त्यसरी हेरिदिए वापत उहाँहरुलाई खुसी साथ मह दिने गरेका छौं ।’
बस्नेत नेपाली सेनाबाट अवकास पाएपछि कृषिकर्ममा लागेका हुन । उनलाई लाई संघीय सरकारले समाजसेवा रत्न पदकबाट विभूषित गरिसकेको छ । २० वर्ष सेनाको जागिर खाएका उनी अहिले माहुरीपालक कृषकका रुपमा परिचित छन् ।
अन्य जातका माहुरीसँगै उनले लोपोन्मुख पुत्काको मौरी पनि पालिरहेका छन् । पुत्का मौरी अत्यन्तै सानो र डंकरहित मौरी हो । यो मौरी बाँके बर्दियाको निकुञ्ज क्षेत्रमा पाइने भए पनि अहिले लोप हुने अवस्थामा पुगेको छ । यसको संरक्षणको लागि अहिलेसम्म कसैबाट ठोस पहल भएको छैन ।
हेर्दा झिंगा जस्तो देखिने अत्यन्तै सानो तर मौरीको वर्गमा पर्ने पुतको मौरी समुन्द्र सतहदेखि १ हजार फिटसम्मको उचाईमा रहेका जंगलको विभिन्न जातका रुखका टोड्कामा पाइन्छ ।
स्थानीय थारु भाषामा पुत्का मौरीलाई ‘मगरासा’ भनिन्छ । यो जातको मौरीको बैज्ञानिक नाम ‘मेलिपोना’ हो । यो मौरीको मह अत्यन्तै बहुउपयोगी र बहुमूल्य मानिन्छ । बस्नेत विगत ५ वर्षदेखि यो मौरीको संरक्षणमा लागेका हुन् । उनीसँग यस मौरीको ५ वटा घार रहेका छन् ।
अन्य धेरै घारहरु बर्दिया लैजाने गरिएको छ । मौरीले बच्चा उत्पादन गर्न र मह उत्पादनका लागि उपयुक्त चरन क्षेत्रको अवश्यक रहेकाले एक स्थानबाट अर्को स्थानमा मौरीका घार स्थानान्तरण गरिंदै आएको पाइन्छ । मौरीलाई आहारा पाइने र शान्त वातावरण भएका ठाँउमा लाने गरेको मौरीपालन किसानले बताउँदै आएका छन् ।
‘वर्षमा दुई पटक मौरी चरनका लागि उपयुक्त फूल फुल्ने र शान्त वातावरणमा पु¥याइन्छ, जहाँ मौरीका छाउरा उत्पादन र मह उत्पादनले तीव्रता पाउन सहयोग मिल्छ’, बस्नेतले भने, ‘मैले प्रत्येक ठाउँमा मह उत्पादनका विषयमा त्यहाँका किसानलाई समेत सिकाउँछु, मौरीपालनका विषयमा जागरूक बनाउँछु, नेपालको पहाडी जिल्लामा उत्पादन भएको मह विदेश निर्यात गर्न सकिन्छ ।’