राजा महेन्द्रको निधन भएको दियालो बंगला दरबार सर्वसाधारणका लागि खुल्ला 


 

चितवन । तत्कालिन राजा महेन्द्रको निधन भएको भरतपुर आँपटारीस्थित दियालो बंगला दरबार सर्वसाधारणका लागि खुल्ला  भएको छ । नेपाल ट्रष्टको स्वामित्वमा रहेको दरबार असार २३ गतेदेखि सर्वसाधारणले अवलोकन गर्न पाउने गरी खुला गरिएको छ ।

नेपाल ट्रष्ट मातहतका सम्पदाहरु स्थानीय तहसँग समन्वय गरेर सर्वसाधारणका लागि खुला गर्ने उद्देश्य अनुरुप भरतपुर महानगरको व्यवस्थापन रहने गरी गत चैत ९ गते महानगरपालिका र नेपाल ट्रष्टका बीचमा सम्झौता भएको थियो ।

नेपाल ट्रष्टले ऐतिहासिक एवं साँस्कृतिक महत्वका सम्पदा अवलोकन तथा सञ्चालन कार्यविधि २०८० बनाएर पूर्वराजाहरूले भोगचलन गरेका दरबारहरू सर्वसाधारणका लागि खुला गर्ने नीति लिएको छ ।

सोही अनुसार गत बर्ष पोखरामा रहेको रत्नमन्दिर सर्वसाधारणका लागि खुला गरिएको थियो भने, यसबर्ष दियालो बंगला दरबार खुला गरिएको छ । हेटौंडाको कान्ति ईश्वरी गृह पनि खुला गरिएको छ ।

राजा महेन्द्रले २०२६ सालमा निर्माण गरेको यो दरवारलाई शीतकालीन दरबारसमेत भनिन्छ । राजा महेन्द्र राजपरिवारका सदस्यहरुहरू यहीँ आउने गर्दथे ।

झण्डै ५४ बिघा फैलिएको यो दरबारको ६ बिघा ३ कट्ठा जग्गा भने नारायणगढ मुग्लिन सडकखण्डको दायाँ तर्फ र बाँकी दरबारसहितको भाग भने बायाँ तर्फ पर्छ ।

 

नारायणी नदीको किनारमा, धार्मिकस्थल देवघाटको नजिकै जंगल नै जंगल नै ढाकिएको यो दरबार राजा महेन्द्र, वीरेन्द्र, ज्ञानेन्द्रहरु विशेष गरी जाडोको समयमा शिकार खेल्न र जाडो छल्नका लागि यहाँ आएर बस्ने गर्दथे ।

चितवन देशको मध्यभागमा भएकाले गर्दा पनि पूर्व तथा पश्चिमको यात्रामा निस्कन पर्दा पनि राजाहरू यहीँ आएर बस्थे । शान्त सुन्दर र एकान्त ठाउँमा रहेको दरबार क्षेत्र वरपरको सुरक्षा भने नेपाली सेनाले गर्दै आएको छ । दरबारको दक्षिणतर्फ जाडोमा राजाहरुले आगो बालेर ताप्ने ठाउँ पनि छ

उत्तरतर्फ राजाहरू तथा परिवारका सदस्यहरूले स्वीमिङ पुल छ । अहिले यो जीर्ण बनेको छ । नजिकै त्यसलाई छेक्न बनाइएको पर्खाल छ ।

 

दरबारको पहिलो तलामा ठूलो बैठक कक्ष छ । जसको भित्तामा पूर्व राजारानी महेन्द्र र वीरेन्द्रको तस्वीर देख्न सकिन्छ । भ¥याङमा २०२६ सालमा राजा महेन्द्रले शिकार गरी मारेको घडियाल गोही राखिएको छ ।

 

भित्तामा बाघको टाउको जस्ताको तस्तै अवस्थामा राखिएको छ । दरबारमा पाँचवटा बेडरुम छन् । राजपरिवारका सदस्यले प्रयोग गरेका सामग्री अहिले पनि जस्ताको तस्तै छ ।

दरबारको छेउमा दरबारका महिला सुसारेका लागि ‘नानीगञ्ज’ छ भने सँगै राजाको सुरक्षा गार्डका लागि एडिसी क्वार्टर छ । केही पर सवारी साधन राख्नका लागि ग्यारेज छ ।

मनमोहक तटीय क्षेत्र, जलपर्यटनका क्रियाक्रलापहरु, साल, जामुन, यमुना, सिन्दुर, सिसौ जस्ता रुखहरूको हरियालीे, वनस्पति, विभिन्न प्रजातिका चराचुरुङ्गी एवम् राजाहरूले प्रयोग गरेका सामग्रीहरू दियालो बंगलाको प्रमुख आकर्षण हुन् ।

२०२८ माघ ३ गते यो दरबारमा बस्न आएका राजा महेन्द्रलाई माघ १६ गते राति ११ बजेतिर अचानक हृदयघात भएको थियो । उनलाई चिकित्सकहरुले विहान पौने ४ बजे मृत घोषणा गरेका थिए । उनी एक महिना बस्ने भनेर त्यतिबेला चितवन आएका थिए ।

राजपरिवारका सदस्यले बसोबास गर्ने र राजा महेन्द्रको निधन यहीं बंगलामा भएकाले पनि चासोको विषय बन्दै आएको छ । राजा महेन्द्र बेलाबखत परिवारसहित यहीँ दरबारमा आएर बस्ने, नारायणी नदीको तटीय क्षेत्रमा घुम्ने गर्दथे ।

राजा वीरेन्द्रले २०५७ सालमा आफ्नो जन्मोत्सव पनि यही दरबारमा मनाएका थिए । देशमा गणतन्त्र आए पछि लामो समयसम्म मर्मत सम्भार र उपभोग नहुँदा दरबार जीर्ण बन्दै गएको थियो । दरबारको अगाडिको भागको बार्दली नै भत्किएकोले हालै मर्मत गरिएको छ ।

नेपाल ट्रष्टको ९० लाख र भरतपुर महानगरको २० लाखको लागतमा दरबारको मर्मत तथा सरसफाइ र विभिन्न पूर्वाधारहरु तयार गरिएका छन् ।

दरबारमा विगत २५ बर्षदेखि काम गर्दै आएका नेपाल ट्रष्टका कार्यालय सहयोगी नवराज ढकालले दरबारको भत्किएका केही संरचनाहरु पछिल्लो समयमा पुनर्निर्माण हुँदा खुसी लागेको बताए ।

दरबारको मूल भवनको अगाडिको भत्किएको भाग जस्ताको त्यस्तै पुनर्निर्माण गरिएको छ । अन्य संरचनाहरुमा रंगरोगन गरिएको छ ।

दरबारको बगैंचा, पेटीजस्ता संरचनाहरुमा सुधार गरिएको छ । टिकट घर, शौचालय, पार्किङ, गार्डेनिङका लगायतका कामहरु हुँदैछन् ।

 

दरबारमा यतिकै रहेका सामानहरुलाई मिलाएर ¥याकमा राख्ने, तिनीहरुको कोडिङ गर्ने र संक्षिप्त विवरण राख्ने काम बाँकी रहेको भरतपुर महानगरका इन्जिनियर साकार लामाले जानकारी दिए ।

महानगरले ५ लाख रुपैयाँ बजेटले ती कामहरू गर्ने उनले बताए । दरबारमा अवलोकनका लागि जान आँपटारीमा अहिले भइरहेको गेटबाट नभई अर्को गेटबाट भित्र जाने व्यवस्था मिलाइने छ ।

दरबार खुला गरिएको भनिए पनि सर्वसाधारणले अहिले नै भित्र गएर अवलोकन गर्न भने पाउँदैनन् । भित्रका आन्तरिक केही कामहरु सकेपछि मात्रै घुम्ने व्यवस्था गरिने महानगरका इन्जिनियर लामाले बताए । दरबार भित्रको आन्तरिक व्यवस्था, रेखदेख र व्यवस्थापनको काम नेपाल ट्रष्टका ४ जना कर्मचारीहरुले गर्नेछन् ।

दरबारका कर्मचारी ढकालले भित्री भागको हेर्ने जिम्मा आफूहरुको रहेको भन्दैं अहिले दरबारको मूल भवन हेर्न पाइए पनि एडीसी भवनहरु भने खुला नगरिएको बताए ।

भित्र सीसीटिभी जडानका काम भइसकेका छन् । टिकट काट्नका लागि टिकट घर सञ्चालन गर्न बाँकी छ । टिकटको दर कति राख्ने भन्नेबारेमा निर्णय लिन पनि बाँकी छ ।

बिहान १० बजेदेखि साँझ ५ बजेसम्म अवलोकन गर्न पाइने छ । टिकटबाट उठेको रकमबाट ५० प्रतिशत रकम ट्रष्टलाई र ५० प्रतिशत महानगरले लिने सम्झौतामा उल्लेख छ ।

२०८२ चैतसम्म महानगरले यसको व्यवस्थापन लिने गरी सम्झौता गरिएको नगर प्रमुख रेनु दाहालले जानकारी दिइन् । त्यसपछि पुनः म्याद थप गरेर काम गर्न सकिने प्रावधान पनि छ । महानगरले नचाहेको खण्डमा मात्रै दरवारको व्यवस्थापन ट्रष्टले लिन सक्छ ।

 

प्रकाशित मितिः     २५ असार २०८१, सोमबार १५:०८  |