हेर्ने छुटाउनै नहुने १५७ बर्ष पुरानाे रामलीला (भिडियो सहित)


नेपालगन्ज । विगत १५६ वर्षदेखि निरन्तर मञ्चन हुँदैआएको नेपालगन्जको ऐतिहासिक रामलीलाको महत्व बेग्लै छ । यहाँको रामलीला मञ्चनले चाडपर्वको रौनक बेग्लै बनाउने गरेको छ ।  रामलिलाकाे १५७ औं संस्करण यहि असाेज १७ गतेदेखि शुरु हुँदै छ जसका लागि यतिबेला रामलिला मैदानमा धमाधम काम भइरहेकाे छ ।

विजयादशमीका अवसरमा नेपालगन्जको रामलीला मैदानमा घटस्थापनाको दिनदेखि सुरु हुने रामलीला मञ्चनले रामायण बुझ्न सहज हुनेगरेको आयोजकले जनाएको छ । रामलीलाका कारण रातिको समयमा नेपालगन्जमा मानिसको चहलपहल हुँदैआएको छ ।
सत्यमाथि विजयको प्रतीकका रूपमा मनाइने दसैँको पहिलो दिन घटस्थापनादेखि विजयादशमीको दिनसम्म रामलीला मञ्चन हुने गरेकाे छ ।

२५ जना भारतीय कलाकारको समूहले रामायणमा आधारित रामलीला मञ्चन गर्दै आएका छन् । भगवान् श्रीराम र सीताको जीवनलाई वृन्दावनबाट आएका भारतीय कलाकारले घटस्थापनाको दिनदेखि सुरु भएको रामलीला मञ्चन एकादशी अर्थात् दसैँको भोलिपल्टसम्म यसैगरी प्रस्तुत गर्ने गरेका छन् ।

नेपालगञ्जको मौलिक इतिहास बोकेको रामलीलालाई यहाँका स्थानीयले डेढसय वर्षदेखि संरक्षण गरिरहेका छन् । नेपालगन्जवासी चासो र उत्साहका साथ रामलीला महोत्सवमा सयौँको सङ्ख्यामा मध्यरातसम्म सहभागी भइरहेका छन् । धनुषयज्ञ, रावणवध, भरतमिलाप र रामको शुभ राज्याभिषेक भएर रामलीला महोत्सव समापन हुने गर्दछ ।

यस क्षेत्रको परिचय बनेको रामलीला मञ्चनले नेपाल तथा भारतमा नेपालगञ्जलाई चिनाएको आयोजकको भनाइ छ ।

प्रकाशित मितिः     १४ आश्विन २०८१, सोमबार २०:१९  |