फिक्स डिपोजिट के हो ?


बाँके : बैंक तथा वित्तीय संस्थाहरुले सर्वसाधारणहरुद्धारा बचत गरिएको रकम विभिन्न क्षेत्रमा परिचालन गर्ने गर्दछन् । सर्वसाधारणले बैंकमा जम्मा गरेको रकम निक्षेप हो । निक्षेप चार किसिमका हुन्छन, सेभिङ डिपोजिट, रिकरिङ डिपोजिट, करेन्ट डिपोजिट र फिक्स डिपोजिट ।
फिक्स डिपोजिट के हो ?
फिक्स डिपोजिट अर्थात मुद्दति निक्षेप निश्चित अवधिका लागि बैंकमा जम्मा गरिने रकम हो । यसरी संकलन गरिएको रकम बैंकहरुले लगानीका क्षेत्रमा प्रयोग गर्छन् र बचतको समयावधि सक्किएपछि बचत गरिएको रकम तोकिएको व्याजसहित फिर्ता गर्दछन् । मुद्दति निक्षेपमा अरु निक्षेपको तुलनामा बढी व्याज प्राप्त हुन्छ । बैंकहरुले निश्चित समयावधि तोकेर मुद्दति निक्षेपका विभिन्न योजनाहरु समेत ल्याएका हुन्छन् । संस्थामा लगानीयोग्य पुँजी कम भएको अवस्थामा निक्षेपलाई आकर्षित गर्ने उद्देश्यले बैंक तथा वित्तीय संस्थाले यस्ता योजना ल्याउने गर्दछन् । फिक्स डिपोजिट गरिएको रकम निर्धा्रित अवधि नसकिँदासम्म चलाउन पाइँदैन ।
किन गर्ने फिक्स डिपोजिट ?
तपाईँसँग ठूलै रकम छ, तर कतै लगानी गर्ने उपयुक्त ठाउँ भेट्नुभएको छैन भने बैंकमा फिक्स डिपोजिट गर्नु राम्रो हुन्छ । अरु खाताको तुलनामा बढी व्याज पाइने भएकाले केही नगरी रकम बढीरहेको हुन्छ । बैंकहरुले तीन महिना, चार महिना, छ महिना, नौ महिना, एक वर्ष जस्ता विभिन्न समयावधिका मुद्दति खाता संचालन गरिरहेका हुन्छन् । यदि, तीन महिनासम्म कतै लगानी गर्ने ठाउँ छैन भने तीन महिने मुद्दति खाता खोल्नु उपयुक्त हुन्छ । यसो गर्दा, तीन महिनासम्म उक्त रकम सुरक्षित बस्ने मात्र नभएर साथमा व्याज समेत प्राप्त हुन्छ ।
साधारण, बचत वा चल्ती खातामा जम्मा गरिएको रकम ग्राहकले कारोबार गरिरहने भएकाले उक्त रकम बैंकहरुले लगानी गर्न मिल्दैन । यद्यपि, फिक्स डिपोजिटमा निश्चित अवधिका लागि रकम राखिने भएकाले उक्त अवधिसम्मका लागि बैंकहरुले लगानी गर्दछन् । अहिले नेपालको बैंकिङ क्षेत्रमा लगानीयोग्य पुँजीको अभाव देखिएको छ । फलस्वरुप बैंकहरुले ११ प्रतिशतसम्म व्याज दिएर निक्षेप तानिरहेका छन् । कर्जाको माग आइरहँदा पनि लगानी गर्ने रकम नभएपछि बैंकहरुले व्याज बढाएर निक्षेप तानिरहेका हुन् ।

प्रकाशित मितिः     १० मंसिर २०७५, सोमबार १९:५४  |