बाँके : कपडाको होलसेल ब्यापार राम्रै गरी चलेकाले पनि बुवा बद्रीनाथ टण्डन छोराले त्यही व्यापार सम्हालेर सहयोग गरिदिओस् भन्थे । भर्खर एसएलसी सकेर उच्च शिक्षाको तयारी गरिरहेको छोरा कन्हैयालाललाई उनी भन्थे,—‘परिवारका अरु मान्छेले यहीबाट उच्च शिक्षा लिएका छन् । तिमिले पनि यतै पढ्ने र व्यापारमा हात बढाउने काम गर्नुपर्छ ।’
तर कन्हैयालालले के पढ्ने भन्ने बिषयमा फरक ‘मुड’ बनाइसकेका थिए ।बुवाले भनेजस्तै व्यापारमा हात बढाउन त चाहान्थे तर त्यो भन्दा पहिले चाटर्ड एकाउण्टेन्ट ( सिए) पढ््ेरै छाड्ने भित्रि अडान उनले लिइसकेका थिए ।बिक्रम सम्बद्ध २०२० सालमा जतिबेला कन्हैयालालले नारायण स्कुलबाट एसएलसी दिएका थिए,त्यतिबेला नेपालगन्जमै चाटर्ड एकाउण्टेन्ट पढेको मान्छे सम्भवत कोही थिएन । उनका अनुसार त देशमै सिए पढ्नेको नाम औैंलामा गणना गर्न सकिन्थ्यो ।
त्यस्तो बिषय रोजेका थिए, उनले । पढ्नका लागि अति नै मेहेनत गर्नुपर्ने र कमैले पढ्ने क्षेत्र छनौट गरेका कन्हैयालाललाई परिवारमा सहमत गराउन केही मुस्किल परेको थियो । तर काका कृष्णगोपाल टण्डनले उनको साथ दिए । समाजसेवाका क्षेत्रमा कहलिएका र सबैले मानेका कृष्णगोपालको निर्णय परिवारमा नमान्ने कुरै थिएन । उनकै कुरा लागेपछि कन्हैयालालको सिए पढ्ने सपना पुरा हुने भयो । उनी उच्च शिक्षा पढ्नका लागि नेपालगन्जबाट वनारस लागे । त्यहाँ उनले बिकमसम्मपढे । नेपालगन्जमा व्यवस्थापन संकाय पढाउने कलेज कतै नभएकाले नजिक पर्ने भारतको वनारसमा गएका हुन
उनी । जहाँ धेरै नेपालीहरु उच्च शिक्षाका लागि पढ्न जान्थे । बिकमपछि आफुले रोजेको क्षेत्र सिए पढ्न कन्हैयालाल दिल्ली गए । अनि सुरु भयो नेपालगन्जमा सम्भवत पहिलो सिएका रुपमा कन्हैयालाल टण्डनको यात्रा ।
‘नेपालगन्जमै उच्च शिक्षा पढ्ने र व्यापार पनि सम्हाल्ने भन्नुहुन्थ्यो पिता ज्यू ।नत्र छोराले नपढोस् भनेर उहाँले कहिल्यै सोच्नु भएन । हाम्रोमा कोही नपढ्ने भन्ने परिवारिक वातावरण पनि थिएन ।’—७० बसन्तमा लागेका नेपालगन्जका पहिलो सिए कन्हैयालाल टण्डनले त्रिभुवनचोकस्थित आफ्नैै घरमा पुराना दिनहरु सम्झदै भने,—‘टाडा र सिए जस्तो बिषय पढ््ने बिषयमा मात्र थोरै बहस भएको थियो ।’तर पछि सबै सहमत भएपछि आफ्नो सिए पढाईको यात्रा राम्रै गरी चलेको अनुभव सुनाउँछन््, उनी ।
घरको चिन्ता भन्दा अब उनलाई सिएको पढाईमा ध्यान दिनु थियो । उनले त्यसैमा जोड दिए । रात, दिन लगाए । कडा मेहेनत गरे । ‘निन्द्रामा पनि हिसावकिताव गरेको सपना देख्थ्यौै । कलेजमै छौंकी भन्ने पथ्र्यो । तर आँखा खोल्दा टाउको सिरानीमा हुन्थ्यो ।’— दिल्लीमा सिए पढ्दा गरेको मेहेनत सम्झिदै कन्हैयालाल भन्छन््—‘ आफैले रोजेर पढ्न आएको बिषय राम्रोसंग नपढी सुःख पनि थिएन । ’
सिए पढ्दा पढ्दै बिदामा उनी घर आउथे । बुवाले सम्हालेको व्यवसाय हेर्थे । आन्दोलनले सिएको परिक्षा बीचमा रोकियो पनि । बिभिन्न कारणले गर्दा सन् १९७३ मा उनले सिए बनेर घर फर्किए । नेपालगन्जको पहिलो सिएका रुपमा नाम लेखाउन सफल भए, उनी । ‘खुसीको सिमा थिएन । म मात्र होइन, परिवारका सदस्य पनि धेरै खुसी हुनुहुन्थ्यो ।’—कन्हैया भन्छन्—‘सोंचेको पुरा भएको थियो, त्यसबेला ।’ सिए त बने, कन्हैया । अब के गर्ने ? त्यतिका मेहेनत र खर्च गरेर सिए पढियो । उनको मनमा पनि के गर्ने भन्ने अन्यौलता थियो । जागिरको सोंच पनि बनाए । बुवासंग राम्रो चिनजान भएका राष्ट्र बैैंकका उच्च तहका कर्मचारीले त्यसबेला काठमाण्डौैंमा आउन भने । तर उनले खासै सहयोग गरेनन छन्, कन्हैयालाललाई । त्यसपछि फर्किए उनी, नेपालगन्ज नै । जागिर नै गर्नुपर्ने बाध्यता पनि थिएन उनलाई । आफ्नै व्यवसाय सम्हाले पुग्थ्यो । त्यसै पनि बुवाले सम्हाल्न पहिल्यैदेखि भनिरहेकै थिए । ‘अनि मैले आफ्नै व्यवसायमा हात बढाए । मैले सोंचेको सिए बन्ने सपना पनि पुरा भइसकेको थियो । अब बुवाले भनेको कुरा पनि पुरा गर्नु जो थियो ।’— कन्हैैयालालले भने ।
व्यवसायमा हात अघि बढाए पनि उनले सिएको काम चटक्कै छाडेनन् । घरमै बसेर काम गरिरहे । ७० वर्षको उमेरसम्म आईपुग्दा अहिले पनि उनी सिएले गर्ने काम गरिरहेका भेटिन्छन् । तर थोरै मात्रामा । उनी समाजसेवाको काममा पनि उत्तिकै सक्रिय छन् । जहाँ सक्रिय छन््, त्यहाँ उनी कोषाध्यक्ष नै हुन्छन् । बिषयगत जानकार भएका कारण पनि उनलाई त्यो जिम्मेवारी दिएको हो । नेपालगन्ज उद्योग वाणिज्य संघको त पूर्व अध्यक्ष नै हुन उनी । परिवार नियोजन संघ, फत्तेबाल आँखा अस्पतालमा कोषाध्यक्ष भई काम गरिसकेका छन् । हरेक वर्ष लाग्ने रामलिला महोत्सवमा वर्षौदेखि उनी सक्रिय भई आएका छन् । समाजसेवामा सक्रिय हुँदा आत्मसन्तुष्टि मिल्ने उनको तर्क छ । सिए पढेका कन्हैयालालले जहाँ भन्यो त्यही जागिर खान सक्थे । तर जागिरकै पछि दौडिएनन् उनी । जागिरकै लागि पढ्नुपर्छ भन्ने पक्षमा छैनन् उनी । भन्छन््—‘ एकेडेमीक इन्ट्रेस्टको कुरा हो यो ।’