नेपालगन्जमा हर्न निषेध ख्याल ठट्टा नसम्झनु


बाँके : जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेले मंसिर महिनामा हर्न निषेध घोषणा गर्दा धेरैले ख्याल ठट्टा सम्झिएका थिए । हर्न नबजाएर नेपालगन्जमा सवारीसाधन चलाउन असम्भव छ भन्नेहरुको कमी थिएन । अधिकांसले हर्न निषेध कार्यक्रम सफल नहुने दाबी गरे ।
तर हर्न निषेधको बिषय अब ख्याल ठट्टाको बिषय रहेन ।

ट्राफिक प्रहरी कार्यालय बाँकेले हर्न बजाउनेलाई सम्झाउने होइन कारवाही नै गर्न सुरु गरेको छ । मंसिर महिनाभर हर्न नबजाउन आग्रह गर्दै आएको ट्राफिक प्रहरीले अब भने त्यत्तिकै नछाड्ने भएको छ । पुसको पहिलो दिन आईतबार प्रहरीले नेपालगन्जका बिभिन्न ठाउँबाट हर्न बजाउने सवारीसाधनका चालकलाई जरिवाना तिराएको छ ।
मोटरसाईकल ५, कारजिप ३, ट्रक २, बस २ वटाका चालकहरुलाई कारवाही गरिएको हो । ट्राफिक प्रहरी प्रमुख हिरेन्द्र रोकायले अब हर्न निषेध योजना कडाईका साथ कार्यान्वयन हुने बताए । एक महिनासम्म हर्न निषेधको जनचेतना फैलाईएको र अब भने कारवाही नै सुरु गरिएको उनले बताए । नेपालगन्जमा हर्न निषेध मात्र नभई जिल्ला प्रशासन कार्यालयले ध्वनी प्रदुषण समेत नियन्त्रण सुरु गरेको
छ ।

प्रकाशित मितिः     १ पुष २०७५, आईतवार २०:५६  |