नेपालगन्ज : भन्सार विभागले भन्सार एजेन्ट थप गर्ने भएको छ। नेपालको बाह्य व्यापार र भन्सारकै संख्यामा वृद्धि भएपछि एजेन्टको संख्या थप गर्न लागिएको हो।
भन्सार विभागका महानिर्देशक तोयम रायाले परिवर्तित सन्दर्भमा भन्सारका संख्याहरु बढ्दै गएको र भन्सार प्रणालीलाई व्यवस्थित गर्न एजेन्ट थप गर्न लागिएको जानकारी दिए। ुअहिले भन्सारको संख्या नै २१ पुगेको छ, त्यहाँबाट हुने काम कारबाहीलाई व्यवस्थित गर्न पनि एजेन्ट थप गर्नुपर्ने देखिएको छ,ु उनले भने।
भन्सार विभागका अनुसार अहिले १८३ भन्सार एजेन्ट सक्रिय छन्। अब चारसयदेखि पाँचसयसम्म एजेन्ट थप गर्ने तयारी भइरहेको रायाले जानकारी दिए। ुयसको प्रक्रिया छिट्टै अघि बढ्छ,ु रायाले भने। एजेन्ट थप गरेर उनीहरुको वर्गीकरण गर्ने तयारी पनि विभागले गरेको छ। पहिले एजेन्ट थप गर्ने र त्यसपछि वर्गीकरण गर्ने सोच बनाइएको उनले जानकारी दिए।
ुविभिन्न किसिमका वस्तु आयात हुन्छन्, ती वस्तु भन्सारबाट छुटाउने प्रक्रियाम सहजीकरणका लागि फरकफरक क्षेत्रमा काम गर्ने गरी उनीहरुको वर्गीकरणको सोच बनाइएको हो,ु उनले भने। भन्सार ऐनअनुसार अनुमति प्राप्त व्यक्तिले मात्रै एजेन्टको काम गर्न सक्छ। भन्सार ऐनको दफा ५१ मा निकासी वा पैठारी हुने भन्सार कार्यालयबाट छुटाउन वा भन्सार कार्यालयसँग सम्बन्धित कामका लागि निकासी वा पैठारीकर्ताको भन्सार एजेन्ट वा प्रतिनिधिको रुपमा काम गर्न चाहने व्यक्तिले भन्सार विभाग वा भन्सार कार्यालयबाट एजेन्टको इजाजतपत्र लिनुपर्ने व्यवस्था छ।