आकाशतारा बयक\सुर्खेत : कर्णाली प्रदेश सरकारले हवाई भाडामा सहुलियत दिने भएको छ । सरकारले सडक यातायात नपुगेका प्रदेशका विकट हुम्ला र डोल्पा जिल्लाका नागरिकलाई हवाई भाडामा सहुलियत दिन लागेको हो । प्रदेश सरकारले निर्माण गरेको पूर्ण अपाङ्ग तथा जेष्ठ नागरिकका लागि हवाई यातायातमा सहुलियत सम्बन्धी कार्यविधि २०७५ जारी गरेपछि हुम्ला र डोल्पाका नागरिकले हवाई यातायात प्रयोग गरे वापत प्रति टिकट एक हजार रुपैयाँ पाउने भएका हुन् ।
प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले यातायातको पहुँचबाट टाढा रहेका डोल्पा र हुम्ला जिल्लाका पूर्ण अपाङ्ग तथा जेष्ठ नागरिकलाई हवाई टिकटको भाडामा सहुलियत दिने बताएको छ । प्रदेश सरकारले हवाई भाडामा सहुलियत दिन चालु आर्थिक वर्षमा एक करोड रुपैयाँ वजेट विनियोजन गरेको प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री नन्दसिंह बुढाले बताए । उनले प्रदेश भित्र यातायातको पहुँच नपुगेका र डोल्पा जिल्लाका पूर्ण अपाङ्ग तथा जेष्ठ नागरिकलाई हवाई भाडामा सहुलियत प्रदान गरिएको जानकारी दिए । ‘प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरदेखि हुम्ला र डोल्पा तथा हुम्ला र डोल्पादेखि नेपालगञ्ज र सुर्खेत विमानस्थलसम्म हवाई यातायात गर्ने यात्रुलाई भाडामा सहुलियत दिइएको छ,’ उनले भने, ‘डोल्पा र हुम्लाका पूर्ण अपाङ्ग तथा जेष्ठ नागरिकलाई प्रति टिकट एक हजार रुपैयाँका दरले सहुलियत प्रदान गरिने छ ।’
उनले कर्णालीको हवाई यातायातलाई सहज बनाउनुका साथै विमानस्थलहरुमा नियमित उडान गर्नका लागि प्रदेश सरकारले हवाई इन्धनमा सहुलियत दिनका लागि एक करोड रुपैयाँ विनियोजन गरिएको जानकारी दिए । उनका अनुसार यसका लागि प्रदेश भित्रका विमानस्थलमा उडान गर्ने हवाईसेवा प्रदायक संस्थासँग आवश्यक छलफल तथा समन्वय भईरहेको छ ।
हवाई यातायात गरेका पूर्ण अपाङ्ग तथा जेष्ठ नागरिकलाई प्रदान गर्न विनियोजन गरिएको सहुलियत रकम डिभिजन वन कार्यालय हुम्ला, डोल्पा तथा प्रदेश वन निर्देशनालय सुर्खेतबाट वितरण गर्ने व्यवस्था मिलाईएको मन्त्रालयका सचिव धिरेन्द्रकुमार प्रधानले जानकारी दिए । उनले डोल्पा र हुम्लाबाट नेपालगन्ज र सुर्खेतमा आउनेहरुका लागि प्रदेश वन निर्देशनालय सुर्खेतबाट भुक्तानी दिइने व्यवस्था मिलाइएको बताए ।
‘प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगर तथा नेपालगन्ज आउने तथा उक्त विमानस्थलबाट हुम्ला र डोल्पा जानेलाई मात्रै सहुलियत प्रदान गरिनेछ,’ उनले भने, ‘पूर्ण अपाङ्ग तथा जेष्ठ नागरिकलाई सेवा लिन सहज होस भनेर मन्त्रालयले हुम्ला र डोल्पामा डिभिजन वन कार्यालय भएका मध्येबाट एक जना कर्मचारीलाई विमानस्थलमा खटाइएको छ ।’ यसका लागि डिभिजन वन कार्यालय हुम्ला, डोल्पा तथा प्रदेश वन निर्देशनालय सुर्खेतलाई पेश्की स्वरुप १०/१० लाख रुपैयाँ उपलब्ध गराइएको छ ।
सरकारी सहुलियतबाट हवाई सेवा लिने नागरिकले नागरिकताको प्रतिलिपि, परिचयपत्र र टिकटको फोटोकपी तोकिएको स्थानमा बुझाउनु पर्नेछ । प्रदेश सरकारले निर्माण गरेको कार्यविधि अनुसार कर्णालीमा रहेका ६० वर्षभन्दा माथिका जेष्ठ नागरिकलाई यो सेवा उपलब्ध रहने छ ।