प्रदेश ५ मा आत्महत्या भयावह बन्दै, छ महिनामा ५ सय २२ जनाले यस्तो अपराधको बाटो रोजे


बाँके : प्रदेश नम्बर ५ मा आत्महत्या जस्तो गम्भीर खाले अपराधका घटना भयावह बन्दै गएको छ । आवेगमा आएर आफ्नो ज्यान आफै लिनेसम्मका घटनाहरु दिनप्रतिदिन बढ्दै गएपछि त्यसलाई कसरी नियन्त्रण गर्ने भन्नेमा प्रहरी अधिकारीहरु चिन्तित देखिन्छन् ।
प्रदेश नम्बर ५ प्रहरी कार्यालय दाङ्गका अनुसार आर्थिक वर्ष २०७५र २०७६ को साउन महिनादेखि पुस महिनाको अवधीमा मात्र ५ सय २२ जनाले आत्महत्या जस्तो जघन्य अपराध गरेर आफ्नो ज्यान लिए । यस प्रदेशमा सबैभन्दा बढि मान्छेको मृत्युको कारण सम्भवत आत्महत्या नै बनेको छ । प्रदेश नम्बर ५ का प्रहरी प्रमुख डिआईजी पिताम्बर अधिकारीले आत्महत्याका घटना भयावह बन्दै गएको बताए । ‘यस्तो जघन्य अपराधको घटना समाजमा बढ्दै गएको देखियो । यसलाई नियन्त्रण गर्न ढिला गर्नु हुँदैन ’– डिआईजि अधिकारीले भने ।
प्रहरीका अनुसार पछिल्लो छ महिनामा ३ सय ४९ जनाले झुण्डिएर आत्महत्या गरेका छन् । १८ लाई अरुले झुण्डाएर मारेको आशंका गरिएको छ । बिष सेवन गरी १ सय ४१ जनाले आत्महत्या गरेका छन् । पानीमा डुबेर ४, हातहतियारबाट १, करेन्ट लगाएर १, हामफालेर ९ जनाले आफनो ज्यान लिएका छन् । आत्महत्या जस्तो अपराध नियन्त्रण गर्न समाजमा मनोपरामर्श कार्यक्रम गर्नुपर्ने सुझाव बिज्ञहरुले दिने गरेका छन् । कानुन त आत्महत्या गर्नु पनि अपराध नै मानिन्छ । यस्ता अपराध हुन नदिन परामर्शका कामहरु गर्नुपर्नेमा जोड दिईएको छ ।

प्रकाशित मितिः     १५ माघ २०७५, मंगलवार १६:१८  |