बाँके : कोहलपुरमा रहेका बैंक तथा वित्तिय संघसंस्थाले हरित नगर निर्माणदेखि सामाजिक कार्यमा सघाउने निर्णय गरेका छन् । सामाजिक उत्तरदायित्व बहन गर्दै त्यसक्षेत्रका बैंकहरुको मंगलबार भएको बृहद भेलाले कोहलपुरको प्रमुख केन्द्र वडा नम्बर ११ को विकासमा साथ दिने प्रतिवद्धता जनाए ।
वडा नम्बर ११ का अध्यक्ष कर्ण बहादुर थापाको अध्यक्षतामा भएको भेलामा त्यसक्षेत्रका डेढ दर्जन बैंक तथा बित्तिय संघसंस्था सहभागि थिए । उक्त भेलामा सहभागि नेपाल क्रेडिट एण्ड कमर्श बैंक कोहलपुरका प्रबन्धक बसन्त रेग्मीले उक्त भेलाले शान्ती, सुव्यवस्था, हरित नगर निर्माण र अन्य सामाजिक कार्यक्रममा निरन्तर सहकार्य गर्ने निर्णय गरेको जानकारी दिए ।
सामाजिक उत्तरदायित्व बहन गर्दै बैंकले स्थानीय जनप्रतिनिधिहरुसंग छलफल गर्दै आगामी दिनमा सहकार्य गर्दै जाने निर्णय गरिएको रेग्मीले बताए । पछिल्लो समय कोहलपुरक्षेत्रमा बैंक तथा बित्तिय संघसंस्था खुल्ने क्रम बढेको छ । आर्थिक गतिबिधिसमेत उक्त क्षेत्रमा चलायामान बनेको छ ।