बीपी गौतम/रुपन्देही : प्रदेश ५ को प्रदेशसभामा नेकपाबाट प्रतिनिधित्व गर्ने रूपन्देहीमा घर भएका सांसदहरूले घरभाडा नलिने घोषणा गरेका छन् । प्रदेशको राजधानी भएको जिल्लामा घर हुने सांसदहरूलाई नेकपा संसदीय दलको बैठकले घरभाडा नलिन आग्रह गरेको
थियो ।
सोही निर्णय अनुसार नेताहरू आफूले लिँदै आएको घरभाडा माघ महीनादेखि लागू हुने गरी नलिने निर्णय भएको नेकपा संसदीय दलका प्रमुख सचेतक भूमिश्वर ढकालले जानकारी दिए । सांसदहरूले घरभाडा स्वरूप प्रतिमहिना १५ हजार रूपैयाँ बुझ्दै आएका थिए । सचेतक ढकाल, सांसदहरु भोजप्रसाद श्रेष्ठ, दधिराम न्यौपाने, डा. कृष्णप्रसाद न्यौपाने, कमला विकले हस्ताक्षर गरी प्रदेशसभा सचिवालयमा उक्त जानकारी गराएका हुन् ।
ढकाल र विकको घर बुटवलदेखि करिब १८ किलोमिटर पश्चिममा पर्छ भने श्रेष्ठको घर बुटवलमै छ । डा. न्यौपानेको घर देवदहमा र अर्का न्यौपानेको घर बुटवल बेलबासमा पर्छ । तर, यहाँ घर नहुने सांसदहरूले भने भाडा लिनेछन् । जिल्लाबाट प्रतिनिधित्व गर्ने थानकुमारी थापा, विमला पन्थी, दीपा विक, सुनिता थटेरलगायतका सांसदरू भने यहाँ भाडामा बस्दै आएका छन् । संघीय सांसदहरूमा पनि यो विषय उठेपछि केही सांसदहरूले बुझ्दै आएको घरभाडा फिर्ता गरेका थिए ।
यस अगाडि एक वर्षसम्म बुझ्दै आएको रकमलाई पनि संकलन गरी कोषका रूपमा राख्न सकिने नेकपाका सचेतक ढकालले बताए । भाडाको विषयमा कांग्रेस सांसदहरूले कुनै निर्णय गरेका छैनन् । ८७ सदस्यीय प्रदेशसभा रूपन्देहीबाट १ जना मन्त्री सहित १८ सांसदहरूले प्रतिनिधित्व गर्छन् ।