नेपालगन्ज : प्रादेशिक महोत्सव २०७५ मा ‘कल्चरल फेशन’ शो हुने भएको छ । गत वर्षको महोत्सवमा एक्स जेनेरेसको समन्वयमा भएको कल्चरल फेशन शोले दर्शकको प्रशंसा बटुलेको थियो ।
महोत्सव सांस्कृतिक उपसमितिका संयोजक तपेन्द्र शाहले यसपटकको महोत्सवमा पनि कल्चरल फेशन शो लाई निरन्तरता दिइने बताए । यतिबेला त्यसको तयारी पनि सुरु भइसकेको छ । कल्चरल फेशन शोका लागि मोडलहरु प्रशिक्षण लिइरहेका छन् । उनीहरुलाई क्याटवाक तथा परम्परागत पोशाक लगाउँने शैलीका बिषयमा प्रशिक्षण दिने काम भइरहेको छ ।
मोडलहरुले बिभिन्न भाषाभाषीमा प्रचलित पोशाक लगाएर उनीहरुकै धुनमा क्याटवाक गर्छन् । कला संस्कृतिको संरक्षण र त्यसमा नयाँ पुस्तालाई जोड्न कल्चरल फेशन शो प्रभावकारी बनेको सांस्कृतिक समितिका संयोजक शाहले बताए । उनले भने,–‘जुन दिन जुन भाषाभाषीको पोशाकमा क्याटवाक हुन्छ त्यही दिन त्यसैसंग जोडिएको सांस्कृतिक कार्यक्रम पनि गरिन्छ ।’ मोडलका लागि नेपालगन्जकै फेशन डिजाईनरले डिजाईन तयार गर्दै छन् । यसपटक उक्त कार्य गत वर्ष भन्दा फरक गरिदैछ ।
संयोजक शाहका अनुसार महोत्सवमा लोकगायन तर्फ पशुपति शर्मा, बद्री पंंगेनी, रामजी खाँड, खुमन अधिकारी, प्रकाश सपुत, कृष्ण रेउले, सज्जन धामी, सन्तोष दवाडी, चन्द्र शर्मा, भुमिका गिरी, कला लम्साल, सेजु अधिकारी रहेका छन् । आधुनिक गायनतर्फ राजेशपायल राई, मेलिना राई, शिव परियार, राजनराज सिवाकोटी, यम बराल,कालीप्रसाद बासकोटा, रुपक डोटेल, समिर आचार्य, सिर्जना हाउडे माया, एन्जली रेग्मी रहेका छन् ।
शाहले दिएको जानकारी अनुसार हाँस्यतर्फ चर्चित कलाकार मनोज गजुरेल, पुर्खा बा, ध्रुमुस, माग्ने बुढो
(पोख्रेली), नमस्ते दिवाकर, महोत्सवमा सहभागि हुँदैछन् । पहिलो पटक महोत्सवमा जादुगर सुरज मायावी र नृत्यमा रुबिना अधिकारीलाई पनि आमन्त्रण गरिएको छ ।