तारा रोकायले सामाजिक सन्जाल फेसबुक चलाउन सुरु गरेको चार वर्षजति भयो । २०७१ मा उनी फेसबुक संग जोडिएकी हुन । ‘खाता’ खोलेदेखि नै फेसबुकमा सक्रिय छिन् । ‘फेसबुक अब त साथी जस्तो भइसक्यो’ रोकायले भनिन्–‘दिनमा एकपटक नहेर्दा के बिर्सिए झैं
हुन्छ ।’
दिनमा कुनै न कुनै बेला फेसबुक खोलेकै हुन्छिन् । देश दुनियामा के भएको छ भनेर हेर्ने गरेकी छन् । आफु जुन जुन कार्यक्रममा पुग्छिन् त्यहाँको गतिबिधि सहितको तस्बिर अपलोड गर्दै आएकी छिन् । नेपालगन्ज उद्योग वाणिज्य संघको उपमहासचिव रोकाय फेसबुकबाट हरेक गतिबिधि थाहा पाइरहेको बताउँछिन् ।
‘कहाँ के भइरहेको छ ? कस्ले के गर्दै छ । कुन आफन्त, साथी भाईको हालखबर कस्तो छ भन्ने थाहा पाउन फेसबुक हेरे पुग्छ ।’ रोकाय भन्छिन्,–‘फेसबुकले नराम्रो भन्दा राम्रै गरेको छ ।’ सामाजिक सन्जालमा जोडिएकै कारण स्कुले साथी भाई बर्षौपछि भेट्ने अवसर पाएको उनले बताईन । आफन्त पनि भेटिएको उदाहरण दिदै उनले भनिन्,–‘बिर्सिएको मान्छेलाई पनि नजिक बनाईदिएको छ ।’
सामाजिक सन्जालमा नकारात्मक पाटालाई वास्तै नगर्ने रोकायको भनाई छ । ‘नराम्रो कुरा नराम्रो नै हो । त्यसकारण सामाजिक सन्जालमा पोखिने नकारात्मक कुरालाई लिएर फेसबुक गलत छ म भन्दिन ।’– रोकायले भनिन् । नकारात्मक बिचार प्रवाह गर्नेहरु फेसबुकमा नजोडिएकै राम्रो हुने उनको सुझाव छ । रोकाय भन्छिन्,–‘सक्नुहुन्छ भने सकारात्मकरुपमा यसलाई उपयोग गरौं । ’