दबंग लेडी राइडर बर्षा


लेडी राइडर बर्षाको बहुमुखी प्रतिभा

एउटा तस्बिर छ, त्यसमा बर्षा बस्नेत उभिएकी छिन् । भन्छिन्, ‘बाटो जति नै च्यालेन्जिङ किन नहोस्, एड्भेन्चर त बन्छ नै ।’ माउन्टेन डिउले आयोजना गर्ने डेयर टु विन सिजन टुका लागि मोडलिङ गर्दा बर्षा बस्नेत बाइक स्टन्ट राइडरको रुपमा प्रस्तुत भएकी छिन् । लेडी बाइक राइडर कमै छन् नेपालमा । ती मध्ये पनि बर्षा बस्नेत अलि फरक छिन् । उनी राइडिङका साथै अन्य विभिन्न क्रियाकलापमा समेत संलग्न छिन् । रेसिङ ट्र्याकमा प्रवेश गरेपछि बर्षाको भावभंगीमा बद्लिन्छ । कुनै बलिष्ठ युवा झै बाइकमा आत्मविश्वासका साथ बस्छिन् । एक्सिलरेटर बटार्छिन् र तीव्र रफ्तारमा हुँइकिन्छिन् । यसरी रेसिङ ट्र्याकमा उनले थुप्रै पटक जादु देखाइसकेकी छिन् ।

अहिले पनि कुनै मोटरसाइकल वा स्कुटर रेसिङ भइरहेको स्थानमा बर्षाको उपस्थिति अनिवार्य हुन्छ । उनी तालिमप्राप्त मार्सल समेत हुन् । त्यसैले आफूले प्रतियोगितामा भाग नलिए पनि रेसिङ व्यवस्थापनका लागि आवश्यक कार्य गरिरहेकी हुन्छिन् ।

सन् २०१३ मा सम्पन्न होन्डा डिभा कपबाट पोडियम प्रवेश गरेकी वर्षाले त्यसयता मौका पाउना साथ धेरै रेसिङ तथा अन्य मोटर स्पोर्ट्समा सहभागी भइसकेकी छिन् । पहिलो पटक रेसिङ ट्रयाकमा प्रवेश गर्दा नै होन्डा डिभा कपमा उनी फस्र्ट रनर अप भएकी थिइन् । २०१५ मा सम्पन्न रेसमान्डुमा उनी सेकेन्ड रनर अप बनिन् । २०१६ मा धरानमा सम्पन्न जिमखाना प्रतियोगिताकी विजेता बर्षा त्यसपछि २०१७ मा स्लो रेस तथा अफरोड राइडको समेत विजेता बनिन् । २०१७ मै सम्पन्न रेसनारी प्रतियोगितामा उनी फस्र्ट रनर अप बनिन् ।

नेपाली मोटर स्पोर्टस् क्षेत्रमा उनलाई नचिन्ने कमै होलान् । किनभने मोटर स्पोर्टस्को थुप्रै स्पर्धामा उनले बिजेताको शिल्ड उचालिसकेकी
छिन् । चाहे रेसमान्डुको कुरा गरौं वा अफरोड रेसको । उनले पटक–पटक रेसिङ ट्र्याकमा सबैलाई उछिनेकी छिन् । मोटर स्पोर्टस्मा बर्षाको आफ्नै चिनारी छ । नेपालमा भर्खरै मात्र अभ्यास भइरहेको मोटर स्पोर्टस्मा बर्षा यस्ती पात्र हुन्, जो अनन्त संभावनाका साथ उदाएकी छिन् ।

बर्षा हाल २ सय ५० सीसीको क्रसफायर बाइक चढेर हुँइकिन्छिन् । उनी यो बाइकमा सवार भएर सहर घुम्दा धेरैको आँखा यही बाइकमा मात्र जाँदैन, उनको सुन्दरतालाई पनि धेरैले नियाल्ने प्रयास गरिरहेका हुन्छन् । क्रसफायर बाइक सहरी क्षेत्रका साथै खासगरी अफरोड यात्राका लागि उपयुक्त बाइक हो ।

महिलाले स्कुटर मात्र चढ्न सक्छन् भन्ने आम धारणालाई बर्षाले गलत सावित गरिदिएकी छिन् । उनी यही हेभी बाइकमा चढेर धेरै स्थानमा पुगिसकेकी छिन् । उनका लागि यो बाइक नै अहिले साथी बनेको छ ।

बहुमुखी प्रतिभा
बर्षा बस्नेतलाई ‘बहुमुखी प्रतिभाशाली’ भन्दा फरक पर्दैन । उनी एउटा कुरामा मात्र अडिएकी छैनन् । आफुलाई हरेक क्षेत्रमा उत्तिकै सफलतापूर्वक अगाडि बढाइरहेकी छिन् । उनको लगाव र काम गर्ने शैली हेर्दा लाग्दैन कि एउटी भर्खरकी नवयौवनाले यति धेरै गर्न
सक्छिन् ।

भैंसेपाटीमा बस्ने बर्षा अहिले त्रिभूवन विश्वविद्यालयबाट स्नातकोत्तर गर्दैछिन् । तर निर्धक्कसाथ के भन्न सकिन्छ भने, उनी पढेर लोकसेवा आयोग भिड्ने वा जागिरको लाममा उभिने युवती होइनन् । उमेरले २२ बर्ष टेक्न नपाउँदै उनले आफ्नो करियरका अनन्त ढोका ढकढकाइसकेकी छिन् । भोलि उनी प्रोफेसनल बाइक राइडर बन्न सक्छिन् । भोलि उनी अभिनेत्री बन्न सक्छिन् । भोलि उनी राम्रो ‘मोटिभेसनल स्पिकर’ पनि बन्न सक्छिन् । उनको करियर यही क्षेत्रमा निर्धारित हुन्छ भन्ने छैन । किनभने उनी जे पनि गर्छिन् । साथै जे गर्छिन्, त्यो पूर्ण लगावका साथ गर्छिन् ।

दबंग गर्ल
बाहिरबाट हेर्दा उनी शान्त, सौम्य देखिन्छिन् । तर उनी निरिह छैनिन् । उनी युवाहरुलाई हाँक दिन सक्छिन् । त्यसैले त बर्षा स्कुटरमा होइन, डर्ट बाइकमा हुँइकिन्छिन् । उनलाई लाग्दैन, केटी भएपछि स्कुटर नै चढ्नुपर्छ । उनलाई के पनि लग्दैन भने, हेभी बाइकमा केटाहरुले मात्र राज गर्नुपर्छ ।


बर्षालाई बुबाआमाले भन्थे, ‘तिमी कान्छी छोरी, छोरा जस्तै हुनुपर्छ ।’ तर, उनलाई छोराजस्तो होइन, छोरी जस्तै बन्नुपर्छ भन्ने लाग्छ । तर, छोरी भन्नासाथ जुन किसिमले ‘कमजोर’ ठानिन्छ । त्यो मानसिकतालाई उनी बदल्न चाहन्छिन् ।

समस्या छोरा वा छोरीमा होइन । मानसिकतामा हो । छोरीप्रतिको मानसिकता नै बदल्नुपर्छ भन्ने लागेर हुनुपर्छ, बर्षा कुनै कुरामा पनि पछि हट्दैनिन् । उनी केटासँग सराबरी कुनैपनि क्षेत्रमा अगाडि बढ्न तम्सिन्छिन् । उनी हक्की छिन् । निर्भिक छिन् ।

उनलाई छोरा जस्तो किन हुनुप¥यो ? छोरी जस्तै भएर पनि उनले अरुलाई उछिनेकी छिन् । २ सय ५० सीसीको डर्ट बाइकमा हुँइकिने बर्षामा नारीशुलभ शालिनता पनि छ ।

सायद यही कारण हुनु पर्छ, उनले आफ्नो फेसबुकमा पनि आफ्नो नाम ‘द वर्ष बस्नेत’ राखेकी छिन् ।

शालिन बर्षा
बर्षालाई बाइक राइडर मात्र भनियो भने त्यो पूर्ण हुँदैन । बर्षा बाइक लभर्स हुन् । उनी बाइक राइडर पनि हुन् । हेभी बाइकमा हुँइकिन्छिन् । बेलाबेला आफ्ना समूहसँग बाइक राइडिङको आनन्द लिन काठमाडौं बाहिर चक्कर लगाउँछिन् ।

यससँगै उनलाई चिनाउने अरु थुप्रै उपमा छ । उनी मोटिभेसनल स्पिकर हुन् । उनी मोडल हुन् । उनी नाचगानकी सौखिन हुन् । अनेक रुपभित्र बर्षा छिन् ।

बर्षाले मोटिभेसनल स्पिकरको रुपमा आफुलाई अब्बल सावित गरिसकेकी छिन् । उनले दुई पटक त यस्ता प्रतियोगितामा जित पनि हासिल गरिसकेकी छिन् । यसबाट बुझिन्छ, उनमा कति राम्रो वाककला छ । भनौं, उनी कुनैपनि कुरालाई उत्प्रेरक ढंगले प्रस्तुत गर्न सक्छिन् । त्यसबाहेक उनी गाउँछिन् । नाच्छिन् ।

बर्षाले सुरुवाती दिनहरुमा मोडलिङ गरिन् । कैयौं पटक ¥याम्प शोमा उत्रिइन् । केही विज्ञापनमा मोडलिङ गरिन् । अहिले मोडलिङ त गरेकी छैनन्, यद्यपि ग्ल्यामर क्षेत्रको ह्याङ उत्रिसकेको छैन । उनी घरमै ‘म्युजिकल्ली’ भिडियो बनाएर पछिल्लो ट्रेन्डमा आफुलाई दौडाइरहेकी छिन् । विश्वव्यापी रुपमा आएको यो ट्रेन्डबाट उनले भरपुर मज्जा मात्र लिइरहेकी छैनन्, आफ्नो क्षमता पनि पेश गरिरहेकी
छिन् ।  नेपाल अटोबाट साभार

प्रकाशित मितिः     २५ फाल्गुन २०७५, शनिबार १४:२४  |
error: Content is protected !!