ट्राफिक प्रहरीलाई प्रोत्साहन भत्ता ३५ प्रतिशतसम्म, कुन पदको भत्ता कति बढ्ने ?


फाइल फोटो: रासस
काठमाडौँ। गृह मन्त्रालयले ट्राफिक प्रहरीलाई प्रोत्साहन भत्ताका लागि प्रकृया अगाडि बढाएको छ। सडकमा खटिने ट्राफिक प्रहरीलाई प्रोत्साहन भत्ताका लागि तयार पारिएको प्रस्ताव अर्थ मन्त्रालयमा पठाइएको हो।
आज बसेको गृह मन्त्रीस्तरीय निर्णयले प्रोत्साहन भत्ताका लागि प्रस्ताव पठाएको हो। ट्राफिक प्रहरीको जोखिम तथा कार्यसम्पादनमा आधारित प्रोत्साहन भत्ता सम्बन्धि निर्देशका २०७५ अनुसार काठमाडौं उपत्यकामा कार्यरत प्रहरी उपरीक्षक भन्दा तलको पदका ट्राफिक प्रहरीले २० प्रतिशत देखि ३५ प्रतिशतसम्म भत्ता पाउने उल्लेख छ।

प्रहरी नायव उपरीक्षकलाई १०, प्रहरी निरीक्षकलाई २०, प्रहरी नायव निरीक्षकलाई २५, प्रहरी सहायक निरीक्षकलाई २५, प्रहरी हवल्दारलाई ३५ र प्रहरी जवानलाई ३५ प्रतिशतसम्म भत्ता थप गर्न प्रस्ताव गरिएको छ।

यसअघि ट्राफिक प्रहरीले चालकलाई गरेको कारबाहीवापत उठेको राजश्वबाट कमिसन पाउँदै आएका थिए। कमिसनको लोभमा ट्राफिकले जथाभावी कारबाही गरेको आरोप लागेपछि सरकारले भत्ताको व्यवस्था लागू गर्न लागेको हो। उपत्यकाभित्र करिब १ हजार २ सय ट्राफिक प्रहरी कार्यरत छन्। बिजमाण्डु डटकमबाट

प्रकाशित मितिः     २६ फाल्गुन २०७५, आईतवार १९:२३  |