यी हुन् विश्वबजारमा आएका फाइभजी स्मार्टफोन


पछिल्लो समय नयाँ पुस्ताको इन्टरनेट फाइभजीका लागि तीव्र गतिमा काम भइरहेको छ । यस वर्षसम्ममा यो प्रविधि आइसक्ने अनुमान छ । सोहीअनुसार स्मार्टफोन निर्माताले पनि फाइभजी स्मार्टफोन ल्याउन शुरू गरेका छन् । फाइभजी सपोर्ट गर्न सक्ने अहिलेसम्म आएका स्मार्टफोन यस्ता छन् :

हुवावे मेट एक्स

चिनियाँ स्मार्टफोन निर्माता हुवावेले गत महीनामा स्पेनमा भएको मोबाइल वर्ल्ड कंग्रेसको क्रममा आफ्नो पट्याउन मिल्ने र फाइभजी सपोर्ट गर्ने स्मार्टफोन सार्वजनिक सारेको छ । हुवावेको फाइभजी सपोर्ट गर्ने यो डिभाइस पट्याउँदा ६ दशमलव ६ इन्चको बन्न सक्छ । यसलाई ८ इन्चको ट्याबलेट पनि बनाउन सकिन्छ । चिनियाँ कम्पनीले यो स्मार्टफोन २०१९ को मध्यदेखि बजारमा उपलब्ध हुने बताएको छ ।

शियाओमी मी मिक्स ३

चिनियाँ स्मार्टफोन निर्माता शियाओमीले पनि मोबाइल वर्ल्ड कंग्रेसमा फाइभजी सपोर्ट गर्ने मी मिक्स३ स्मार्टफोन सार्वजनिक गरेको छ । पछिल्लो ३ वर्षदेखि कम्पनीले फाइभजी चल्ने स्मार्टफोन निर्माणमा काम गरिरहेको थियो । आगामी मे महीनामा यो स्मार्टफोन बजारमा उपलब्ध हुनेछ ।

सामसुङ ग्यालेक्सी एस१० फाइभजी

दक्षिण कोरियन प्रविधि कम्पनी सामसुङले पनि फाइभजी सपोर्ट गर्ने आफ्नो नयाँ स्मार्टफोन ग्यालेक्सी एस१० उत्पादन ल्याएको छ । यसले निकै तीव्र गतिको फाइभजी नेटवर्क सपोर्ट गर्ने बताइएको छ । यो उत्पादन सन् २०१९ को दोस्रो त्रैमासमा बजारमा आउने अनुमान छ । साथै सामसुङले फाइभजी सपोर्ट गर्ने तथा पट्याउन मिल्ने स्मार्टफोन ग्यालेक्सी फोल्ड पनि ल्याएको छ ।


एलजी भी ५० थिनक्यु

दक्षिण कोरियन कम्पनी एलजीले पनि फाइभजी सपोर्ट गर्ने भी५० थिनक्यु स्मार्टफोन सार्वजनिक गरेको छ । ६ दशमलव ४ इन्चको डिस्प्ले भएको यो स्मार्टफोनमा तीनओटा रियर क्यामेरा रहेका छन् । यो स्मार्टफोन कहिले बजारमा आउने र मूल्य कति पर्ने भन्नेबारे भने अहिलेसम्म कुनै जानकारी दिइएको छैन ।

जेडटीई एक्शन १० प्रो फाइभजी

फाइभ जी विस्तारको क्षेत्रमा काम गरिरहेको स्मार्टफोन निर्माता जेडटीईले पनि नयाँ पुस्ताको इन्टरनेट सपोर्ट गर्ने स्मार्टफोन सार्वजनिक गरेको छ । कम्पनीले एक्शन१० प्रो फाइभजी स्मार्टफोन सार्वजनिक गरेको हो । यो स्मार्टफोन २०१९ को शुरुआती ६ महीनाभित्र यूरोप र चीनको बजारमा उपलब्ध हुने बताइएको छ ।

प्रकाशित मितिः     १० चैत्र २०७५, आईतवार ०७:३५  |
error: Content is protected !!