होटल व्यवसायीको प्रतिक्रिया–‘आठौं राष्ट्रिय खेलकुद प्रतियोगितामा उत्कृष्ट सेवा दिन्छौं’


बाँके १६ चैत : आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताबाट नेपालगन्जका होटल व्यवसायीहरु उत्साहित छन् । यहाँका होटल व्यवसायी प्रतियोगितामा सहभागि हुन आउने खेलाडी, प्रशिक्षक र अन्य पाहुनालाई स्वागत गर्न तयार भएर बसेका छन् ।

‘धेरै समयपछि नेपालगन्जका यति ठुलो कार्यक्रम हुँदैछ । यसले व्यवसाय बढाउने मात्र नभई नेपालगन्जलाई चिनाउन पनि सहयोग गर्छ ।’ होटल व्यवसायी महासंघ प्रदेश ५ का अध्यक्ष भाष्कर काफ्लेले भने–‘प्रतियोगिताका पाहुनालाई स्वागत गर्न हामी तयार भएर बसेका छौं ।’ होटल व्यवसायीहरु स्वस्फुर्तरुपमा आठौं राष्ट्रिय खेलकुद प्रतियोगितालाई सफल पार्न होटल व्यवसायका तर्फबाट गर्नुपर्ने तयारीमा जुटेको अध्यक्ष काफ्लेले बताए ।

आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताले यहाँका तारेदेखि साना होटलसम्मलाई प्रत्यक्ष र अप्रत्यक्षरुपमा फाईदा पुर्याउने होटल व्यवसायी संघ बाँकेका अध्यक्ष भिमलाल कंडेलले बताए । उनले भने,–‘हजारौ मानिसहरु यहाँ आउँदा हरेक होटललाई आर्थिक लाभ हुन्छ ।’ कंडेलले प्रतियोगितामा आउने पाहुनालाई कुनै गुनासो गर्न नपाउने गरी होटलको पुर्वाधारदेखि खानपिनसम्मको स्तोरन्न्ती गर्न व्यवसायीहरुबीच छलफल भएको छ । ‘आठौं राष्ट्रिय खेलकुद प्रतियोगितामा आउने पाहुनाहरुलाई यहाँ होटलहरुले उत्कृष्ट सेवा दिने छन् ।’–कँडेलले भने ।
होटल व्यवसायी संघ बाँकेका पूर्व उपाध्यक्ष नारद पुरीले यहाँका होटल व्यवसायी जस्तोसुकै ठुला कार्यक्रम पनि सफल बनाउन सक्षम छन् भन्ने सन्देश दिन चाहेको बताए ।

होटल व्यवसायीहरु स्वस्फुर्तरुपमा तयारीमा जुटेको भएपनि आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताको आवास तथा भोजन समितिका तर्फबाट कुनै औपचारिक छलफल नभएकोमा खिन्न छन् । काफ्ले भन्छन्,–‘औपचारिक छलफलहरु भएको भए के कसरी अगाडी बढ्न सकिन्छ भन्ने थाहा हुन्थ्यो । मिति तोकिसकेकाले जतिसक्यो छिटो छलफल गर्न जरुरी छ ।’ प्रतियोगिता २०७६ बैशाख ५ गते उद्घाटन हुने भएको छ । शुक्रबार काठमाण्डौंमा बसेको राखेपको १११ औं बोर्ड बैठकले बैशाख ५ गते ११ गतेसम्म आयोजना गर्ने निर्णय गरेको हो ।

प्रकाशित मितिः     १८ चैत्र २०७५, सोमबार ०९:५६  |