वाणिज्य बैंकहरुको शाखा ८ हजार नाघ्यो


नेपालगन्ज : यसै आर्थिक वर्षको फागुन मासान्त सम्म बैंक तथा वित्तीय संस्थाहरुको कुल शाखा संख्या ८ हजार ५५ पुगेको छ । नेपाल राष्ट्र बैंकको तथ्याङक अनुसार ‘क’ वर्गका वाणिज्य बैंकहरुको शाखा संख्या ३ हजार ३ सय ५ पुगेको छ । ‘ख’ वर्गका विकास बैंकहरुको शाखा संख्या १ हजार १ सय ९६ पुगेको छ । ‘ग’ वर्गका वित्त कम्पनीको शाखा संख्या भने २ सय मात्र छ । ‘घ’ वर्गका लघुवित्तहरुको शाखा संख्या ३ हजार ३ सय ५४ पुगेको छ । सरकारले हरेक स्थानीय सरकारको कारोबार वाणिज्य बैंकबाट हुनुपर्ने व्यवस्था गरेपछि बैंकहरु हरेक स्थानीय तहमा शाखा विस्तार गरिरहेका छन् ।

तथ्याङ्क अनुसार प्रदेश–१ मा ‘क’ वर्गका वाणिज्य बैंकहरुको शाखा संख्या ५ सय ३५ रहेको छ । प्रदेश–२ मा ३ सय ९१ पुगेको छ । सबैभन्दा बढी शाखा प्रदेश–३ मा स्थापना भएका छन् । प्रदेश–३ मा वाणिज्य बैंकहरुको शाखा १ हजार १ सय २० रहेका छन् । गण्डकी प्रदेशमा ३ सय ७६ शाखाबाट वाणिज्य बैंकहरुले सेवा दिइरहेका छन् । प्रदेश–५ मा ४ सय ८६ शाखा सञ्चालनमा रहेका छन् । सबै प्रदेश मध्ये सबैभन्दा कम शाखा कर्णाली प्रदेशमा रहेका छन् । भौगोलिक विकटता र व्यापारिक दृष्टिकोणले पनि कम गतिविधि हुने भएकाले यो प्रदेशमा बैंकका शाखा न्यून रहेको देखिन्छ । यो प्रदेशमा १ सय ५६ वटा मात्र बैंकका शाखा रहेका छन् । सुदूरपश्चिम प्रदेशमा पनि जम्मा २ सय ४१ वटा शाखा सञ्चालनमा रहेका छन् ।

‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाको स्थिति हेर्दा प्रदेश–१ मा ७ सय ३५ वटा शाखा रहेका छन् । प्रदेश–२ मा ४ सय ९९ वटा, प्रदेश–३ मा १ हजार ५ सय ६ वटा, गण्डकी प्रदेशमा ६ सय ५२ वटा, प्रदेश–५ मा ८ सय २४ वटा, कर्णाली प्रदेशमा १ सय ७८ वटा र सुदूरपश्चिम प्रदेशमा ३ सय ७ वटा शाखा रहेका छन् ।  #बैंकिंग खबरबाट#

प्रकाशित मितिः     २६ चैत्र २०७५, मंगलवार १६:२१  |