इन्टरनेट सेवामा डिसहोम : २० करोड लगानी गर्दै


  • युवराज बस्नेत

काठमाडौं । डिस मिडिया नेटवर्क प्रालि अन्तर्गतको डिसहोमले इन्टरनेट सेवा विस्तारका लागि रू. २० करोड लगानी गर्ने भएको छ । ३ महीनाभित्र तारमार्फत सेवा विस्तार थाल्ने तयारी भइरहेको कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुदीप आचार्यले बताए । डिसहोमले ९ वर्षदेखि स्याटेलाइट प्रविधिमा आधारित डीटीएच टीभी सेवा दिँदै आएको छ । अब इन्टरनेट सेवा विस्तारमा पनि कम्पनी जुटेको हो ।

त्यसका लागि प्रारम्भिक चरणमा रू. २० करोड लाग्ने आकलन गरिएको आचार्यले जानकारी दिए । ‘पहिलो चरणमै ठूलो लगानी गर्नुभन्दा सानो लागतबाट क्रमिक रूपमा सेवा र बजार बढाउँदै जाने योजना छ,’ उनले भने, ‘हामीले दुई किसिमबाट इन्टरनेट विस्तारको कामलाई अगाडि बढाउन खोजेका छौं, जसमा तारसहितको ‘वायर एफटीटीएच’ र ताररहित स्याटेलाइट प्रविधि छन् ।’

उनका अनुसार नेपालको आफ्नै स्याटेलाइट नभएका कारण अन्य अन्तरराष्ट्रिय कम्पनीसँग सहकार्य गर्नुपर्छ । सोही कारण उक्त प्रविधिको इन्टरनेट सेवा विस्तार निकै खर्चिलो छ । आचार्यका अनुसार तारमार्फत सेवा दिन समस्या हुँदैन तर स्याटेलाइट मार्फत दिइने सेवाका लागि केही समय लाग्ने देखिएको छ ।

कम्पनीले स्याटेलाइट इन्टरनेटका लागि दुई विदेशी कम्पनीसँग छलफल गरिरहेको छ । ती कम्पनीले आगामी असार १५ र कात्तिक १४ भित्र स्याटेलाइट प्रक्षेपण गर्ने तयारी भइरहेको जानकारी डिसहोमलाई दिएका छन् । कम्पनीले ती स्याटेलाइट कम्पनीको नाम खुलाएको छैन । ग्रामीण भेगमा पनि इन्टरनेट सेवा विस्तार गर्ने उद्देश्यले स्याटेलाइट प्रविधि रोजेको कम्पनीले जानकारी दिएको छ ।

गत असार ३० मा डिसहोम र सिम टीभी आपसमा गाभिएका थिए । टेलिभिजन सेवाको लाइसेन्सबाटै इन्टरनेट सेवा विस्तार गरिने आचार्यले बताए । डिसहोमको इन्टरनेट विस्तार योजना राम्रो रहेको नेपाल दूरसञ्चार प्राधिकरणका कार्यवाहक अध्यक्ष पुरुषोत्तम खनालले बताए । अहिले नेपालमा करीब दुई दर्जन इन्टरनेट सेवाप्रदायक छन् ।

टीभी च्यानल २४० पुर्‍याउँदै
डिसहोमले २०७६ सालभित्र टेलिभिजन च्यानल २४० ओटा पुर्‍याउने तयारी गरिरहेको छ । हाल १७० ओटा च्यानल उपभोक्तालाई वितरण गरिरहेको छ । डिसहोमले नेपालमा टीभी हेरिने घरमध्ये २५ प्रतिशतमा पहुँच पुर्‍याएको छ । आचार्यका अनुसार हालसम्म १५ लाखभन्दा बढी सेट–टप बक्स बिक्री भइसकेका छन् । स्थापनाको करीब १ दशकमा टेलिभिजन सेवा दिएबापत उक्त कम्पनीले ४ अर्ब रुपैयाँ राजस्व तिरिसकेको छ ।  #आर्थिक अभियानबाट#

प्रकाशित मितिः     २७ चैत्र २०७५, बुधबार ०८:४१  |