फागुन मसान्तसम्म २ करोड ५६ लाख ५८ हजारले खोले बैंकमा बचत खाता


काठमाण्डौं : चालु आर्थिक वर्षको फागुन मसान्त सम्म बैंक तथा वित्तीय संस्थामा २ करोड ५६ लाख ५८ हजार ३ सय ८७ वटा बैंक खाता खुलेका छन् । जसमध्ये वाणिज्य बैंकहरुमा २ करोड ९ लाख ७८ हजार २ सय ६१, विकास बैंकहरुमा ४१ लाख २७ हजार ८ सय १८ र वित्त कम्पनीमा ५ लाख ५२ हजार ३ सय ८ रहेको छ ।

फागुन मसान्त सम्ममा बैंकहरुबाट कर्जा लिनेहरुको खाता संख्या १३ लाख ६० हजार ३ सय १४ पुगेको छ । जसमध्ये वाणिज्य बैंकबाट कर्जा लिनेहरु ९ लाख ८७ हजार ९ सय ४२ जना रहेका छन् । विकास बैंकबाट कर्जा लिनेको संख्या ३ लाख ३१ हजार र वित्त कम्पनीबाट कर्जा लिनेको संख्या ४१ हजार १ सय ३९ रहेको छ ।

त्यस्तै ब्रान्चलेस बैंकिङबाट बैंकिङ सेवा लिने सेवाग्राहीको संख्या १ लाख ११ हजार ६ सय ७० पुगेको छ । यसमा वाणिज्य बैंकहरु र विकास बैंकहरुमात्र समावेस छन् । अहिले सम्म वित्त कम्पनीहरुले ब्रान्चलेस बैंकिङ सेवा दिएको देखिदैन् । विकास बैंहरु मध्ये एउटा मात्र बैंकको एउटा मात्रै ब्रान्चलेस बैंकिङ सेवा सञ्चालनमा रकेको राष्ट्र बैंकको तथ्याङ्कमा उल्लेख छ । जसबाट १ सय २९ जनाले बैंकिङ सेवा लिइरहेका छन् । वाणिज्य बैंकहरुको बान्चलेस बैंकिङबाट सेवा लिने सेवाग्रही भने १ लाख ११ हजार ४ सय ४१ रहेका छन् ।

बैंक तथा वित्तीय संस्थामा मोबाईल बैंकिङ प्रयोगकर्ताहरुको संख्या ६३ लाख पुगेको छ । त्यस्तै इन्टरनेट बैंकिङ प्रयोगकर्ताहरु पनि ८ लाखभन्दा माथि पुगेका छन् । डेविट कार्ड प्रयोगकर्ताहरु ५९ लाख ६२ हजार भन्दा धेरै रहेका छन् भने क्रेडिट कार्ड प्रयोगकर्ताको संख्या १ लाख माथि र प्रिपेड कार्ड प्रयोगकर्ताहरु ६४ हजार पुगेको नेपाल राष्ट्र बैंकको तथ्याङकमा उल्लेख छ ।

#बैंकिंग खबरबाट#

प्रकाशित मितिः     २९ चैत्र २०७५, शुक्रबार १२:२९  |