पछिल्लो समय भारतमा हिरो करिज्मा एक महिनामा एक युनिट पनि बिक्री हुन सकेन । देशभर हजारौ सोरुम भएको एउटा प्रतिष्ठित कम्पनी र १ अर्ब ३० करोड भन्दा बढी जनसंख्या भएको देशमा एउटा पनि मोटरसाइकल बिक्री हुन नसक्नु आफैमा आश्चर्य थियो । यो बाइकलाई सुरुवाती दिनहरुमा स्पोर्ट बाइकको राजाको रुपमा चिनिन्थ्यो । तर पछि किन यस्तो भएको होला ? यसमा कम्पनीकै बढी भूमिका छ ।
सन् २००० भन्दा पहिले
सन् २००० भन्दा पहिले हिरो छुट्टै अस्तित्वमा थिएन । त्यतिबेला हिरोहोन्डा थियो । त्यो समयमा करिज्मा बाइक दुई पांग्रे सवारीहरुमा एकदमै रुचाइएको बाइक थियो । बाइकको ब्यापार अनि बजार राम्रै चलिरहेको थियो र यसलाई टक्कर दिने कुनै बाइकहरु बजारमा आएका थिएनन् । जसले गर्दा यी बाइकहरु स्वतरुपमा बहुचर्चित थिए । यसको सुरुवाती इन्जिन एकदमै राम्रो थियो जसले १३० किलोमिटर प्रतिघण्टा सम्मको अधिकतम गति तय गर्न सक्थ्यो, जुन कुरा ग्राहकले सोचेका पनि थिएनन् । त्यतिबेला यो बाइक राम्रैसँग बिक्यो र यसले नयाँ पुस्ताका लागि राम्रो संकेत देखाएको थियो ।
बढ्यो प्रतिस्पर्धा
सन् २००९ मा करिज्मा आर नाम गरेको बाइकलाई सम्पूर्ण पाटपूर्जा परिमार्जन गरि अपडेट गरियो, जुन बाइक अहिले बजारमा करिज्मा जेडएमआर नामले प्रचलित छ । यसको पर्पmमेन्सको बारेमा मिश्रित प्रतिक्रिया आउन थाल्यो । त्यही समयमा बजाज पल्सर र टीभीएस अपाचे यसको प्रतिस्पर्धिको रुपमा देखा परे । यी दुई बाइक एक अर्कामा प्रतिस्पर्धा गरिरहेका थिए । सन् २०१० मा टीभीएसले अपाचे आरटीआर १८० लाई ड्युअल च्यानल एबीएस मोडलमा ल्यायो । त्यसैगरी बजाजले तीव्र गतिको मोटरसाइकलको रुपमा पल्सर २२० ल्यायो । तर हिरो करिज्मा आफैमा संघर्षरत रह्यो ।
ओरालो यात्रा
सन् २०१४ मा नयाँ पावरट्रेन र डिजाइनका साथ करिज्मालाई रिफ्रेस गरियो, जुन हिरो करिज्माको अवसानको कारक बन्यो । एरिक बुएल रेसिङसँग सहकार्य गरेर बनाइएको हिरो करिज्माको लुक स्पोर्ट्स बाइक जस्तो देखियो । त्यसपछि नै यसको बिक्रीमा ओरालो यात्रा प्रारम्भ भयो । सन् २०१८ सम्म आइपुग्दा हिरो करिज्मा बाइक किन्न चाहने कोही भएनन् । २०० सीसीको बाइकको बजार राम्रो हुँदाहुँदै पनि हिरोले अपेक्षाकृत गति लिन सकेन । हिरोकै अर्को बाइक एक्स्ट्रिम २०० को बजार समेत खासै राम्रो भएन ।
मानिसहरु बजारमा यही सेगमेन्टको बाइक किन्न चाहे भने कि त बजाज पल्सर १८० खोज्छन् वा टीभीएस अपाचे आरटीआर १८० । भारतमा पछिल्लो ६ महिनामा यो मोटरसाइकल ७२ युनिट मात्र बिक्री भएको कम्पनीले बताएको छ । #नेपाल अटोबाट#