हाइड्रो पावरको हब बन्दै नौमूले


  • पंखबहादुर शाही

दैलेख । स्वदेशी लगानीमा दैलेखको नौमूले गाउँपालिकामा ४ ओटा हाइड्रो पावर कम्पनीले कामको थालनी तीव्र गरेका छन् । चारओटै हाइड्रोपावर गाउँपालिकाका ३, ४ र ५ नम्बर वडा क्षेत्रफलभित्र छन् । द्वारीखोला हाइड्रोले गत वर्षदेखि विद्युत् उत्पादन शुरू गरेको छ भने पदमखोला हाइड्रोपावरको काम ७० प्रतिशत सम्पन्न भएको छ । तल्लो लोहोरे खोला हाइड्रोको काम प्राविधिक समस्याले रोकिएको छ भने अपरलोहोरे हाइड्रोको काम शुरू हुने तयारीमा छ ।

पदमखोला हाइड्रोपावर कम्पनीका सञ्चालकल कुमार कार्कीका अनुसार आयोजनाको ७० प्रतिशत काम सकिएको छ । कम्पनीले बांगे बजार नजीकैबाट ड्याम निर्माण गरी ३२ सय २० मिटरबाट पानी ल्याई साविकको नौमूले–६ मा निर्माणाधीन पावरहाउसमा पानी खसाली विद्युत् उत्पादन गरिने बताएको छ । ‘बीचमा समस्या नआए जेठ मसान्तसम्म उत्पादन शुरू गर्न सकिनेछ,’ कार्कीले भने ।

पदमखोलादेखि १ किलोमिटर दूरीमा लोहोरेखोला आयोजना बन्दै छ । अपर लोहोरे आयोजनाल जग्गा खरीद प्रक्रिया अगाडि बढाई प्राविधिक काम शुरू गरेको छ । यस्तै, तल्लो लोहोरे आयोजनाले १४ मिटर लामो र ४ दशमलव ५ मिटर अग्लो ड्याम बनाई ३५ सय मिटर तलको तोली भुर्सुको खरखैरनीमा पानी खसाल्ने भएको छ ।

‘नौमुलेमा बन्न लागेको हाइड्रोको क्षमता झण्डै १६ मेगावाट हुनेछ,’ सञ्चालक कार्कीले भने, ‘लगानी गर्न सके जिल्लाको महाबु, ठाटीकाँध गाउँपालिकालगायत अन्य स्थानीय तहमा धेरै हाइड्रो बनाउन सकिनेछ ।’

हाइड्रो बनेसँगै यहाँ पर्यटकको सँख्या बढ्न थालेको छ । ‘डोल्टी’ पावर कम्पनीअन्तर्गत निर्माण सम्पन्न भएको द्वारीखोला हाइड्रो अवलोकन गर्ने आन्तरिक तथा बाह्य पर्यटकको संख्या चार महीनायता दुई हजारको हाराहारीमा पुगेको हाइड्रोपावरको प्रवेश पुस्तिकामा उल्लेख छ ।

आर्थिक उन्नतिको लागि गाउँपालिकामा लगानीमैत्री वातावरण बनाउने गाउँपालिका अध्यक्ष भदे बुढाले बताए । पछिल्लो समय रारा, कैलाशको अवलोकनमा आएका पर्यटक दैलेख ज्वालासँगै हाइड्रोको अवलोकन गर्ने गरेको वडा नं. ५ का अध्यक्ष भगिराम बुढाले बताए ।

‘हाइड्रोमा पाँच सयभन्दा धेरैले रोजगारी समेत पाएका छन्,’ वडाध्यक्ष बुढाले भने । दश वर्षको द्वन्द्वकालमा थला परेको गाउँपालिका स्थानीय सरकार बनेसँगै विकासतर्फ लागेको छ । द्वन्द्वका बेला बाहिरिएका नागरिक पनि पछिल्लो समय घर फर्किन थालेका छन् ।

#आर्थिक अभियानबाट#

प्रकाशित मितिः     ४ बैशाख २०७६, बुधबार ०९:४०  |