रजिस्ट्रार कार्यालयमा कम्पनी खारेज गराउनेको चाप, वैशाख १९ गतेसम्म खारेज गर्नेलाई सहुलियत


काठमाडौँ।कम्पनी रजिस्ट्रार कार्यालयमा नयाँ बर्षपछि कम्पनी खारेज गराउनेको चाप बढेको छ।लामो समयदेखि निस्कृय रहेका कम्पनीलाई खारेजीमा लैजान दिएको छुटको समय सकिन लागेकोले चाप बढेको हो।

बुधवार सम्म ८ सय ३५ कम्पनीले खारेजीको प्रक्रिया अघि बढाएको कम्पनी रजिस्ट्रार कार्यालयका प्रवक्ता सन्तोष दाहालले जानकारी दिए। यसअघिनै ३ सय १७ कम्पनी खारेज भइसकेको दाहालले बताए। कम्पनी खारेज गर्न चाहनेले वैशाख १९ गते सम्म निवेदन दिन सक्छन्। कार्यालयले सहुलियत दिएपनि अपेक्षाकृत कम्पनी खारेजीमा गएनन्।हाल सम्म दुई लाख १२ हजार २८१ कम्पनी कार्यालयमा दर्ता छन्।त्यस मध्ये ४० प्रतिशत कम्पनी निस्कृय रहेको अनुमान कार्यालयको छ।बुधवार सम्मको प्रक्रियामा करिब १२ सय कम्पनी मात्रै खारेज हुने देखिएको छ।

दुई वर्ष अघि कम्पनी ऐन संशोधनपछि खारेजी प्रक्रिया अघि बढेको थियो। कम्पनी दर्ता गर्न सजिलो भए पनि खारेज गर्न कठिन भएका कारण लामो समयदेखि निष्कृय कम्पनीको सङ्ख्या बढ्दै गएका थिए। कम्पनी खारेज गर्न ऐननै संशोधन गरेर सहुलियत दिइएको थियो।कम्पनी खारेज गर्न दिएको सुविधामा कम्पनीको चुक्ता पूँजीको ०.५ प्रतिशत वा जम्मा जरिवानाको रकममध्ये जुन कम हुन्छ त्यही तिरेर बन्द गर्न सक्ने लगायतका प्रावधान छ। सोही प्रावधान अनुसार कम्पनीको साधारणसभाको निर्णय र कम्पनीले तोकेको जरिवाना भूक्तान गरेर कम्पनी रजिस्ट्रारले तोकेको ढाँचामा निवेदन दिएका कम्पनीलाई खारेज गरिएको छ।

लामो समयदेखि निस्कृय भएका कम्पनीका सञ्चालकलाई नयाँ कम्पनी खोल्न समेत रोक लगाएको छ। हाल पुरानो कम्पनीलाई अध्यावधिक गर्न लगाएर मात्र नयाँ कम्पनीमा सञ्चालक हुन स्वीकृति दिने व्यवस्था कार्यालयले गरेको छ।

प्रकाशित मितिः     ५ बैशाख २०७६, बिहीबार १३:३७  |