एक वर्षमा मोबाइल बैंकिङ प्रयोगकर्ता २८ लाख ६४ हजारले बढे


काठमाण्डौं : नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०७५/०७६को ६ महिनामा मोबाइल बैंकिङ प्रयोगकर्ता ६३ लाख ९४ हजार ९ सय १६ जना पुगेका छन् । जुन गत वर्षको पुष मासान्तको तुलनामा २८ लाख ६४ हजार ६ सय ८९ ले बढी हो । आर्थिक वर्ष २०७४/०७५को पुस मसान्त सम्म ३५ लाख ३० हजार २ सय २७ जना मोबाइल बैंकिङ सेवामा आवद्ध भएका थिए ।

इन्टरनेट बैंकिङ प्रयोगकर्ता भने खासै बढेका छैनन् । चालु आर्थिक वर्षको पुष मासान्त सम्मको तथ्याङ्क अनुसार इन्टरनेट बैंकिङ प्रयोगकर्ता ८ लाख ५६ हजार ६ सय ९५ जना पुगेका छन् । गत वर्ष सोही अवधिमा ८ लाख ४२ हजार ४ सय ३१ जनाले इन्टरनेट बैंकिङको प्रयोग गरेका थिए । इन्टरनेट बैंकिङमा भन्दा मोबाइल बैंकिङमा सेवाग्राही आकर्षित भएको देखिन्छ । मोबाइलबाटै एप्सको माध्यमबाट पैसा पठाउन सकिने, ब्यालेन्स हेर्न सकिने, स्टेटमेन्ट हेर्न सकिने, रिचार्ज लगायत विभिन्न बिल्सहरु भुक्तानी गर्न सकिने भएकाले पनि पछिल्लो समय मोबाइल बैंकिङका प्रयोगकर्ताहरु बढ्दै गएका हुन् ।

मोबाइल बैंकिङको प्रयोगबाट बैंकिङ कारोबार गर्न सहज हुने भएकाले यसको प्रयोगकर्ता बढेको देखिन्छ । बैंकहरुले पनि वित्तीय पहुँच बढाउने सजिलो माध्यमका रुपमा मोबाइल बैंकिङ सेवालाई लिएका छन् । त्यसैले यसको प्रयोगकर्तामा उच्च वृद्धि भएको देखिन्छ ।

#बैंकिंगखबरबाट#

प्रकाशित मितिः     ६ बैशाख २०७६, शुक्रबार ०७:५६  |