चालू आवमा ६.८१ आर्थिक वृद्धि हुने, प्रतिव्यक्ति आय ३० डलर बढ्ने


वैशाख १३, काठमाडौं :  चालू आर्थिक वर्षमा ६.८१ प्रतिशत आर्थिक वृद्धि हासिल हुने भएको छ । केन्द्रीय तथ्यांक विभागले अर्थतन्त्रको आकार आधार मूल्यमा २९ खर्ब २१ अर्ब रूपैयाँको हुने प्रक्षेपण गरेको छ ।

केन्द्रीय तथ्यांक विभागका अनुसार गत आर्थिक वर्षमा ६.३ प्रतिशत र त्यस अघिको आर्थिक वर्षमा ७.७४ प्रतिशतको आर्थिक वृद्धि हासिल भएको थियो ।केन्द्रीय तथ्यांक विभागले शुक्रवार सार्वजनिक गरेको राष्ट्रिय लेखा तथ्यांक अनुसार चालू आर्थिक वर्षको कुल गार्हस्थ्य उत्पादनमा सबैभन्दा बढी अंश विगतमा झै कृषि समूहको हुने प्रक्षेपण गरिएको छ ।

गत आव २०७४/७५ मा कृषि क्षेत्रको योगदान २८ दशमलव ०६ प्रतिशत थियो । चालू आवमा यो हिस्सा २६ दशमलव ९८ प्रतिशत हुनेछ । कुल पन्ध्रओटा औद्योगिक क्षेत्रमध्ये गत वर्षको तुलनामा कुल गार्हस्थ उत्पादनको अंश बढ्नेमा उद्योग, विद्युत, तथा ग्याँस र पानी, थोक तथा खुद्रा बजार रहेका छन् । विभागका अनुसार थोक तथा खुद्रा ब्यापारको गार्हस्थ्य उत्पादनको अंश १४ दशमलव ३७ प्रतिशत रहनेछ । गत आवमा यो १३ दशमलव ९५ प्रतिशत थियो । यसैंगरी रियल स्टेट था व्यवसायिक सेवाको योगदान ११ दशमलव ५३ प्रतिशत हुने अनुमान गरिएको छ ।

उद्योगको योगदान स्थिर रहँदै ५ दशमलव ५९ प्रतिशत रहेको छ । निर्माणमा पनि गत वर्षभन्दा शून्य दशमलव २० प्रतिशतले बढेर ७ दशमलव ७७ प्रतिशत कुल गार्हस्थ उत्पादनको अंश रहने प्रक्षेपण विभागको छ । यातायात सञ्चार तथा भण्डारणको क्षेत्रले यसवर्ष पनि नगत वर्षझै ७ दशमलव २३ प्रतिशत नै जीडीपीमा योगदान गर्नेछ ।

विभागका अनुसार चालू मूल्यमा कुल स्थिर पूँजी निर्माण कुल गार्हस्थ्य उत्पादनको ३६ दशमलव ९३ प्रतिशत रहेको छ । यस्तै अन्तिम उपभोग खर्च कुल गार्हस्थ्य उत्पादनको ७९ दशमलव ७३ प्रतिशत रहेको छ । विभागले चालू आवमा ९ खर्ब ०८ अर्ब ९४ करोड विप्रेषण आउने अनुमान गरिएको छ । विभागले प्रतिव्यक्ति कुल वार्षिक आय रू. १ लाख १७ हजार ४ सय ५५ अर्थात् १०३४ अमेरिकी डलर हुने प्रक्षेपण पनि गरेको छ । गत वर्ष प्रतिव्यक्ति आय १००४ अमेरिकी डलर थियो । चालू वर्षमा कृषि क्षेत्रमा ५.०३ प्रतिशत र गैरकृषि क्षेत्रको वृद्धिदर ७.४८ प्रतिशत रहने अनुमान पनि गरिएको छ । गत वर्ष यो वृद्धिदर कृषिमा २ .७९ र गैर कृषिको ७ .६९ थियो ।

प्रकाशित मितिः     १३ बैशाख २०७६, शुक्रबार १९:०५  |