स्वदेशमै गाडी एसेम्बल्ड गर्न अर्को कम्पनी पनि थपियो, वार्षिक ८ हजार गाडी उत्पादन गर्ने


खेमराज श्रेष्ठ/बिजमाण्डू 

काठमाडौं। स्वदेशमै गाडी उत्पादनका लागि लक्ष्मी मोटर कर्पोरेशनले उद्योग दर्ता गरेको छ। ५ अर्ब १० करोड रुपैयाँ लगानीमा स्वदेशमै एसेम्बल्ड प्लान्ट स्थापना गर्ने उदेश्यसहित उद्योग दर्ता भएको हो। लक्ष्मी मोटर लक्ष्मी समूह अन्तर्गतको कम्पनी हो। यो समूह अन्तर्गतको लक्ष्मी इन्टरकन्टिनेन्टल हुण्डाई गाडीको नेपालको अधिकृत बिक्रेता हो।

लगानी बोर्डबाट कोरियाली कम्पनी मोट्रेक्सले एसेम्बल्ड प्लान्ट राख्न विदेशी लगानी स्वीकृति गराएपछि यो समूहले गाडी एसेम्बल्डका लागि उद्योग दर्ता गरेको हो। मोट्रेक्सले सात वर्ष अर्को कुनै कम्पनीलाई एसेम्बल्ड प्लान्ट राख्न नदिने शर्त राखेपछि विदेशी ब्राण्डका गाडी बिक्री गर्ने कम्पनीले एसेम्बल्ड प्लान्टको प्रकृया अघि बढाएका हुन्। नेपालमा सुजुकीपछि प्यासेन्जर भेहिकलमा सबैभन्दा बढी हुण्डाईको गाडी बिक्री हुन्छ। कम्पनीका अनुसार वार्षिक रुपमा हुण्डाईको गाडी चार हजार बिक्री हुँदै आएको छ। संचालक निराकार श्रेष्ठ रहेको यो कम्पनी गत वैशाख ८ गते दर्ता भएको छ। उद्योगको चुक्ता पूँजी २ अर्ब १३ करोड रुपैयाँ छ।

उद्योग नवलपरासीको रामग्राम नगरपालिका वडा नं.६ मा राख्ने उल्लेख छ। उद्योगबाट वार्षिक ८ हजार गाडी उत्पादन गर्ने लक्ष्य राखिएको छ। शत् प्रतिशत स्वदेशी लगानीमा स्थापना हुने उद्योगमा ४ सय ४० जनाले रोजगारी पाउने उल्लेख छ। कम्पनीका संचालक निराकारले प्रारम्भिक चरणमा एसेम्बल्ड उद्योगका लागि कम्पनी दर्ता गरेको बताए।

‘हामीले एसेम्बल्ड प्लान्टका लागि प्रारम्भिक चरणको प्रकृया अघि बढाएका हौं। उद्योग दर्ता गरेर हामी पनि गाडी उत्पादन गर्न तयार छौं भन्ने जानकारी दिएका छौं। तर एसेम्बल्ड प्लान्टका लागि सरकारले समेत विशेष प्राथमिकता दिनुपर्छ’ उनले बिजमाण्डूसँग भने, ’एसेम्बल्ड प्लान्टका लागि राजस्व लगायतका सहुलियत चाहिन्छ। विदेशबाट आउने गाडी र यहाँ बन्ने गाडीमा भन्सार अन्तर फरक नभए उत्पादन लागतनै धान्न सक्दैन। सरकारले नै एसेम्बल्ड प्लान्टका बारेमा स्पस्ट हुन आवश्यक छ।’हुण्डाईले नीतिगत स्थिरता र राजस्व लगायतका विषय सल्टाएर एसेम्बल्ड प्लान्ट लगाउन सकिने जानकारी दिएको स्रोतले बतायो।

महिन्द्रा पनि तयार
महिन्द्रा गाडीको नेपालको आधिकारिक बिक्रेता अग्नि समूहले पनि एसेम्बल्ड प्लान्ट नेपालमा स्थापना गर्ने योजना बनाएको छ।

राजनीतिक संक्रमणको अन्त्यसँगै स्वदेशमै एसेम्बल्ड प्लान्ट स्थापनाको सोच बनाएको यो समूहले नीतिगत स्थिरतानै खोजिरहेको छ। महिन्द्राले समेत औपचारिक रुपमै एसेम्बल्ड प्लान्ट स्थापनाका लागि सकारात्मक छ।

महिन्द्राले एसयुभी सेग्मेन्टमा सबैभन्दा बढी गाडी बिक्री हुन्छ। महिन्द्राको स्कोर्पियो र बोलेरो गाडी धेरै बिक्री हुनेमा पर्छ। स्रोतका अनुसार कम्पनीले पहाडी क्षेत्रमा प्रयोग हुने बोलेरो गाडी नेपालमै एसेम्बल्ड गरेर योजना अघि बढाउन चाहेको छ।

एसेम्बल्ड प्लान्ट आउँला
नेपालमा दुई पाँग्रे र चार पाँग्रे सवारी साधन एसेम्बल्ड भएर उत्पादन भइसकेका छन्। तर ती एसेम्बल्ड प्लान्ट सफल भने भएका छैनन्।

सुरुमा चिनियाँ ब्राण्ड कस्मिक इङयाङ् बाइक नेपालमै उत्पादन भएर बिक्री वितरण भएको थियो। तर आर्थिक रुपमा यो बाइकले भारतीय ब्राण्डसँग प्रतिस्पर्धा गर्न नसकेपछि बन्द भयो। त्यसपछि हुलास मोटर्सले गाडीको एसेम्बल्ड प्लान्ट विराटनगरमा स्थापना गर्यो। यो उद्योगबाट मुस्ताङ ब्राण्डका गाडी उत्पादन भएपनि बजारीकरणको अभावमा धेरै समय चल्न सकेन।

डेढ वर्षदेखि बजाजका बाइक नेपालमै एसेम्बल्ड हुन थालेका छन्। गोल्छा अर्गनाइजेशनले नवलपरासीको रामग्राममा स्थापना गरेको एसेम्बल्ड प्लान्टबाट डिस्कभर बाइक उत्पादन भएर बिक्री वितरण भइसकेको छ। तर नेपालमै उत्पादन भएका बाइकले प्रतिस्पर्धा गर्न सकेका छैनन्।

‘एसेम्बल्ड प्लान्ट स्थापना गर्दा ठूलो रकम लगानी हुन्छ। नीतिगत स्थिरता विना ठूलो लगानी लगाउन सकिँदैन। सरकारले केही वर्षका एसेम्बल्ड प्लान्ट राख्दा विशेष व्यवस्थासहित नीतिगत निर्णय गरिदिनुपर्छ’ एक गाडी बिक्रेताले भने, ’उद्योग स्थापनाका लागि आवश्यक जग्गादेखि भन्सार दरमा समेत सहुलियत दिनुपर्छ। तब मात्रै एसेम्बल्ड प्लान्टको लागि नेपालमा गाडी बिक्री गरिरहेका विदेशी कम्पनी आउन तयार हुन्छन्।’

गाडी एसेम्बल्ड प्लान्टसँगै एनसिलरी उद्योग समेत स्थापना हुन्छन्। ती उद्योग पनि एसेम्बल्ड प्लान्टनजिकै हुनुपर्ने भएकाले ठूलो जग्गा आवश्यक पर्छ।

‘अहिले कुनै उद्योग राख्न सबैभन्दा ठूलो समस्या भनेको जग्गानै हो। सरकारले कुनै औद्योगिक क्षेत्रनै छुट्याएर एसेम्बल्ड प्लान्ट राख्नेगरि निर्णय गर्यो भने उद्योग स्थापनाको वातावरण तयार हुन्छ। त्यसपछि आयातित गाडी र स्वदेशमै उत्पादन हुने गाडीको भन्सार अन्तर केही फरक हुनुपर्छ’ ती व्यवसायीले भने, ’राजस्व अन्तर फरक नभए नेपालमा उत्पादन हुने गाडीले प्रतिस्पर्धानै गर्न सक्दैन।’

नीतिगत अस्थिरताले पछि हटेको टाटा
आठ वर्षअघि नेपालमै प्लान्ट स्थापना गर्ने योजना बनाएपनि राजनीतिक वातावरण र नीतिगत स्थिरता नभएको भन्दै टाटा मोर्टस पछि हटेको थियो।

राजनीतिक वातावरण बनेपनि तत्कालै प्लान्ट लगाउने योजना नभएको टाटा मोर्टसको नेपालको आधिकारिक विक्रेता सिप्रदी ट्रेडिङका एक अधिकारीले बताए। नेपालमा प्लान्ट स्थापना गर्न आवश्यक जग्गा, बिजुली र सरकारी सहयोगको अभाव भएको कम्पनीको निष्कर्ष निकाल्दै टाटाले नेपालमा प्लान्ट स्थापना गर्ने योजना त्यागेको थियो, ती अधिकारीले भने, अहिले प्लान्ट लगाउने बारे कुनै छलफल भएको छैन।तत्कालै प्लान्ट लगाउने योजना पनि छैन।‘

सुरुमा विदेशबाट गाडीका पार्टपुर्जा आयात गरी नेपालमै एसेम्बल गर्ने र विस्तारै गाडी निर्माण कारखाना खोल्ने योजना बनाएको टाटा मोटर्सले त्यो लगानी इन्डोनेसिया स्थानान्तरण गरेको थियो।

सुरुमा सिप्रदीले टाटाको ‘एस’ नामको मिनी ट्रक उत्पादन गर्ने सोच बनाएको थियो। नेपालसहित भारत, श्रीलंका र बंगलादेशमा पनि एस गाडी निकै बिकेकोले नेपाल प्लान्ट सोही गाडीबाट सुरु गर्ने योजना बनाएको थियो। #साभार#

प्रकाशित मितिः     १६ बैशाख २०७६, सोमबार १६:४२  |