आयल निगमले मापदण्ड परिवर्तन गरेर पम्पको लाइसेन्स खोल्यो, पम्प खोल्न यस्तो छ मापदण्ड


दिनेश खड्का/बिजमाण्डू

काठमाडौं।नेपाल आयल निगमले मापदण्ड संशोधन गरेर पेट्रोल पम्पको लाइसेन्स खुला गरेको छ । पेट्रोल पम्प संचालन सम्वन्धी विक्रेता विनियमावली संशोधन गरेर नयाँ पम्पका लागि लाइसेन्स खुला गरिएको हो । विक्रेतामा नियुक्त हुन चाहने फर्म/कम्पनी/संगठित संस्थाले निगमको विक्रेता विनियमावली २०७५ को परिच्छेद- २ विनियम (४) बमोजिम दुई महिना (६० दिन) भित्र आवेदन दिन सकिन्छ । सोही विनियमावलीको विनियम ५ बमोजिम निगमको पेट्रोलियम पदार्थ विक्रेता विनियमावली २०७५ को अनुसुची १ बमोजिमको ढाँचामा निगमको कार्यालयहरुमा सम्पर्क गर्न सकिने उल्लेख गरिएको छ ।

पूराना केही विकृतिहरुलाई सुधारेर नयाँ ल्याएको निगमले जनाएको छ। प्रक्रिया र मापदण्ड पूरा गरेर पम्प संचालन गर्न चाहनेले आवेदन दिन सक्ने नेपाल आयल निगमका प्रवक्ता विरेन्द्र गोईतले जानकारी दिए। उनका अनुसार नमुना पम्प संचालन गर्नका लागि एक वर्षभित्र आवेदन दिन सकिने छ भने सामान्य पम्पका लागि हरेक तीन बर्षमा खुल्ला गरिनेछ। योसँगै पूराना व्यवसायीको सिन्डिकेट तोडिएको छ।

निगमका अनुसार साधरण विक्रेता र पेट्रोल विक्रेता वीचको विक्री स्थलको दुरी कम्तीमा ३ सय मिटरको दुरीमा हुनुपर्नेछ। तर पुर्व पश्चिम राजमार्गको हकमा भने उक्त दुरी पाँच सय मिटर बाहिर हुनुपर्नेछ। प्याक्ट विक्रेताको हकमा नमुना पम्प विक्रेताको विक्री स्थलभन्दा कम्तीमा पाँच किमी बाहिर हुनुपर्छ। एउटा नमुना पम्प विक्रेताको विक्रीस्थलबाट अर्को पम्पको दुरी १० किलोमिटर र उक्त स्थलमा मट्टितेल विक्रेता बाहेक अन्य कुनै विक्रेतालाई नियुक्ती नदिने नयाँ मापदण्डमा उल्लेख छ। तर नमूना पम्प विक्रेताले प्रमाणपत्र पाउनुअघि स्थापना भएका विक्रेताहरुको हकमा भने यस्तो व्यवस्था लागु नहुने निगमले जनायो। नमुना पम्प निगमले करिव दुई बर्ष अघि परिकल्पना गरेको थियो। नमूना पम्पका लागि तराई र मधेशमा एक विघा जमीन हुनुपर्ने प्रावधान छ। हिमाल र पहाडमा ५ रोपनी हुनुपर्नेछ। यो पम्प २४ सै घण्टा संचालन गर्नुपर्नेछ। पुरानो डिस्पेन्सिङ मेसिन जडान गर्न नपाइने निगमले जनायो।

विक्रेताको प्रस्तावित विक्रीस्थल नेपालको अन्तराष्ट्रिय सीमाबाट कम्तीमा दुई किमीको सडक दुरीभन्दा पर हुनुपर्ने छ । सीमा नाकाबाट पेट्रोलियम पदार्थ तस्करी हुन सक्ने खतरालाई मध्यनजर गर्दै यस्तो व्यवस्था गरिएको निगमका प्रवक्ता गोईतले जानकारी दिए ।

विनियम १६ (क) बमोजिमको पूर्व पश्चिम राजमार्गको हकमा ३ हजार ३ सय वर्ग मिटर वा १० कठ्ठा र राजमार्ग तर्फको मोहडा ५० मिटरको हुनुपर्ने प्रावधान छ। राजमार्ग र अन्य सडक तथा स्थानहरुको लागि भिन्न भिन्न मापदण्ड तोकिएको छ। काठमाडौं र ललितपुर हकमा कम्तीमा ७ सय ५० वर्ग मिटर वा ४ कठ्ठा वा एक रोपनी ८ आना हुनुपर्ने प्रावधान छ। #साभार#

प्रकाशित मितिः     १७ बैशाख २०७६, मंगलवार १६:४४  |