हुलाकी सडक वर्षा अघि नै पीच गर्ने तयारी


नेपालगञ्ज, बैशाख २० गते– नेपालगञ्जदेखि कट्कुईयासम्म निर्माणाधिन हुलाकी राजमार्गमा देखिएको अवरोध हटेपछि निर्मााण कार्यले पुनः गती लिएको छ । सम्वाद समूह बाँकेको पहलमा वर्षौदेखिको सडक विवाद साम्य भएपनि निर्माण कार्यले अपेक्षाकृत गती लिन सकिरहेको थिएन तर एक हप्ता यता निमार्ण कार्यले तिव्रता पाएको छ ।

नरैनापुर गाउँपालिका वडा नम्बर ५ मटेहियास्थित निर्माण कार्यमा देखिएको अवरोध, सडक नक्सांकन, मुआव्जा विवाद सम्वाद समूह बाँकको सहजीकरणमा गत मंसीर २७ गते जिल्ला प्रशासन कार्यालयमा सर्वपक्षिय सहमती गरिएको थियो । बाँके क्षेत्र न १ का प्रदेश सभा सदस्य कृष्णा केसी(नमूना), प्रमुख जिल्ला अधिकारी मदन भुजेल, नेपालगञ्ज उपमहानगरपालिका उपप्रमुख उमा थापा मगर, नरैनापुर गाउँ पालिकाका प्रमुख इस्तियाक अहमद शाह, हुलाकी राजमार्ग योजना कार्यालय नेपालगञ्जका तत्कालीन प्रमुख कृष्णनाथ ओझा, नरैनापुर वडा न ५ का अध्यक्ष कृष्णचन्द्र मौर्य, स्थानीय जग्गाधनी, समूहका सदस्य समेतको उपस्थितीमा सहमती कायम गरिएको हो ।

हाल चालु सडकलाई नै कायम राख्ने गरि निर्माण कार्यलाई अविलम्व बढाउने, निर्माणमा अवरोध नगर्ने, उत्तरतर्फको सडक नक्सामा परेको (व्यक्तिगत) जग्गा फिर्ता गर्ने प्रक्रिया अघि बढाउने र चालु सडकमा पर्ने जग्गाको मुआव्जा(१०मी.) दिने कुरामा लीखीत सर्वसहमती कायम गरिएको थियो । तथापी दुई जना जग्गाधनीले सहमती कार्यान्वयनमा असमहती जनाएपछि तिव्र रुपमा जारी निर्माण कार्य केही समयका लागि रोकिन गएको थियो । जग्गाधनी बाबुलाल यादव र मासुम अलीलाई निर्माण कार्यमा अवरोध नगर्न गरिएको पटक पटकको आग्रहपछि अहिले सहज स्थितीमा निर्माण कम्पनीले माटो पटान, ग्रावेल, रोलर लगायतका कार्य बढाएको हो ।

अहिले निर्माण कार्यमा कसैको विरोध देखिएको छैन । खाल्डा खुल्डी देखिने सडक फराकिलो र चिल्लो देखिएपछि स्थानीवासी पनि खुसी देखिएका छन् । हुलाकी राजमार्ग योजनाले ४४ किलोमिटर सडक २ खण्डमा विभाजित गरेर २०७३ फागुनदेखि निर्माण थालेको हो । निर्माण कार्य ०७६ असार मसान्तसम्म पूरा गर्नुपर्ने समयसीमामा रहेको छ । हुलाकी राजमार्ग निर्माणको ठेक्का पप्पु लुम्बिनी जेबी कन्ट्रक्सनको नाममा रहेपनि पप्पुले यो ठेक्का ६० करोडमा गणपति गु्रप कन्ट्रक्सनलाई दिएको छ ।

चालु हुलाकी सडक खण्ड भन्दा फरक सर्भे(उत्तर) र नापी भएपछि उत्पन्न विवाद बढन गई ०७५ वैशाखदेखि सडकको निर्माण कार्य अवरुद्ध रहीरहेकोमा समूहले ०७५ वैशाखदेखि सहजीकरण गर्दै निकास खोज्ने प्रयास गरेको हो । समूहले जग्गाधनी, निर्माण कम्पनी लगायत सरोकार पक्षसँग नियमित सम्वादमार्फत आपसी विश्वास अनी सहज बातावरण सिर्जना गरेपछि निर्माण कार्यले गती लिएको समूहका सहजकर्ता शुक्रऋषि चौलागाईले जानकारी दिनु भयो । सडक मुआव्जाको प्रक्रियामा भने अझै सम्वाद जारी राखीएको छ । हालसम्म १७ कीमी बाटो पीच बनीसकेको र समयावधीभित्रै पीच हुने गरि निर्माण कार्य बढाइएको कन्सट्रक्शनका चेयरम्यान तुल्सीराम भण्डारीले जानकारी दिनु भयो । उहाँकाअनुसार– एक हप्ता भित्र थप ५ कीमी पीच गर्ने र बाँकी ग्रावेलको कामलाई तीव्रता दिइनेछ ।

यसैवीच समूहका तर्फबाट सहजकर्ता चौलागाई नेतृत्वको टोलीले सडक विवादको स्थलगत अवलोकन गरेको छ । टोलीले नरैनापुर गाउपालिका प्रमुख मो इस्तियाक अहमद साह, वडा ५ का वडा अध्यक्ष कृष्ण चन्द्र मौर्य लगायतलाई भेट गरको छ । सडक निर्माण लगायतका अन्य सवाल, सम्वाद प्रक्रिया बारे पनि छलफल गरिएको छ ।

प्रकाशित मितिः     २० बैशाख २०७६, शुक्रबार १५:३९  |