दाहे ब्रान्डको इलेक्ट्रिक कार नेपालमा, यस्तो छ मूल्य र विशेषता


काठमाडौं – नेपाली बजारमा ‘दाहे’ ब्रान्डको नयाँ इलेक्ट्रिक कार (ईभी) भित्रिएको छ । दिगो ग्रुपले सो कार नेपाली बजारमा ल्याएको हो । चिनियाँ ब्रान्ड दाहेको सो ईभी दुई ब्याट्री अप्सनमा उपलब्ध छ । लिड एसिड ब्याट्री र लिथियम आयोन ब्याट्रीका साथ आएको सो ईभीले १०० देखि १५० किलोमिटरसम्म माइलेज दिने कम्पनीले जनाएको छ ।

यसमा दिइएको लिड एसिड ब्याट्रीले एक पटकको फुल चार्जमा १०० देखि १२० किलोमिटरसम्म र लिथियम आयोन ब्याट्रीले १२० देखि १५० किलोमिटरसम्म माइलेज दिने कम्पनीले दाबी गरेको छ । लिड एसिड ब्याट्री जडित कारको सुरुवाती मूल्य १३ लाख ९० हजार रुपैयाँ तोकिएको छ भने, लिथियम आयोन ब्याट्रीयुक्त गाडीको मूल्य १५ लाख ९० हजार रुपैयाँ तोकिएको छ ।

यस कारको अधिकतम गति ६० किलोमिटर प्रतिघन्टा रहेको छ । यसमा १० किलोवाट पिक आवरको मोटर प्रयोग गरिएको कम्पनीले जानकारी दिएको छ ।

यसमा भएको ब्याट्री चार्ज गर्न ४ देखि १० घन्टासम्म लाग्ने कम्पनीले जनाएको छ । लिड एसिड ब्याट्रीलाई घरमा सामान्य एसी चार्जरबाट चार्ज गर्दा ८ देखि १० घन्टा लाग्छ भने लिथियम आयोन ब्याट्री चार्ज गर्न ४ देखि ५ घन्टा लाग्ने कम्पनीले जानकारी दिएको छ । उक्त ईभीमा मनोरञ्जनका लागि इन्फोटेनमेन्ट सिस्टमको व्यवस्था गरिएको छ ।

प्रकाशित मितिः     २७ बैशाख २०७६, शुक्रबार १७:४७  |