गाउँ–गाउँ पुगेर प्राकृतिक प्रकोपबाट जोगिने उपाय सिकाउँदै सशस्त्र प्रहरी


बिपद् न्यूनिकरणका बिषयमा जानकारी गराउँदै सशस्त्र प्रहरी नायव उपरिक्षक बिमल डाँगी ।

सल्यान,३० बैशाख : आगलागी,बाढी पहिरो जस्ता सम्भावित प्राकृतिक प्रकोपबाट सर्बसाधारणको जिउ,धनको सुरक्षा गर्न सशस्त्र प्रहरीले सल्यानमा सचेतनामुलक कार्यक्रमलाई तिब्र बनाएको छ । सशस्त्र प्रहरीले यतिबेला सर्वसाधारणको घर–घरसम्म पुगेर बिपद् व्यवस्थापन र न्यूनिकरण कसरी गर्ने भन्ने बिषयमा जागरण अभियान नै सन्चालन गरिरहेको छ ।

‘बाढी पहिरो, आगलागी, चट्याङ्गदेखि घरमा बिद्युत सर्ट जस्ता कार्यले हुने आगलागीले बर्षेनी धनजनको क्षती पुर्याएको छ ।’ बिपद् न्यूनिकरण अभियानमा फिल्डमै सक्रिय सशस्त्र प्रहरी सल्यान गुल्मका प्रमुख सशस्त्र प्रहरी नायव उपरिक्षक बिमल डाँगीले भन्नुभयो –‘त्यसबाट आमनागरिक र धन सम्पत्तिलाई कसरी जोगाउने भन्ने बिषयमा सचेतनामुलक कार्यक्रम गरिरहेका छौं ।’ उक्त अभियानमा नेपाली सेना, नेपाल प्रहरीदेखि प्रशासनिकदेखि जनप्रतिनिधि समेतको सहभागितामा रहेको छ ।

हालसम्म सशस्त्र प्रहरीले जिल्लाका कालिमाटी, फारुलेचौर, थारमारे जस्ता ठाउँमा सचेतनामुलक कार्यक्रम गरिसकेको छ । गाउँ पुग्दा सशस्त्र प्रहरीको बिपद् उद्धारमा सक्रिय रहने बिशेष टिमले प्राकृतिक बिपद्बाट कसरी जोगिने भन्ने अभ्यास नै गरेर देखाउने गरेका छन् । त्यस्तै घरमा आईलाग्ने बिपद्बाट जोगिने उपाय पनि सिकाइरहेका छन् ।

‘सर्बसाधारणहरु अत्यन्त खुःसी हुनुहुन्छ ।’– सशस्त्र प्रहरी नायब उपरिक्षक डाँगीले भन्नुभयो,–‘पहिलो कुरा त बिपद् नै नहोस् त्यो उपायको खोजी गर्छौ । भवितब्य भईहाले त्यसबाट कसैको धनजनको नोक्सान नहुने गरी पूर्वतयारी गरिरहेका छौं ।’ सशस्त्र प्रहरी जनचेतनामुलक कार्यसंगै बिपद्का बेला उद्धारका कार्यमा समेत सक्रिय छ ।

प्रकाशित मितिः     ३० बैशाख २०७६, सोमबार १६:०५  |