नेपालगन्ज,४ बैशाख : कोहलपुरस्थित पाँचतारे होटल सेन्ट्रल प्लाजाले भारतको नयाँदिल्लीस्थित ट्राभल ऐजेन्सीसँग सहकार्य गरेर दिल्लीदेखि रारासम्मको टुर प्याकेज शुरु गरेको छ । कर्णाली प्रदेशका उद्योग पर्यटन तथा वन मन्त्री नन्दसिंह बुढाले शनिबार कोहलपुरमा दिल्लीबाट आएका पर्यटकलाई स्वागत गर्दै टुर प्याकेजको औपचारिक उद्घाटन गरे ।
दिल्लीबाट सुरु भएको उक्त टुर प्याकेज राराको इतिहासमा पहिलो पटक अन्तर्रा्ष्ट्रिस्तरको रोड ट्रिप भएको होटल सेन्ट्रल प्लाजाका प्रबन्ध निर्देशक देवानन्द अर्यालले बताएका छन् । उक्त प्याकेज सात दिनसम्मको हुने छ । “पश्चिम नेपालको पर्यटकिय गतिबिधिको प्रचार प्रसारका लागि यो यात्रा अत्यन्त प्रभावकारी हुनेछ ।,” उनले भने, “आगामी दिनमा यो यात्राले अझ तिव्रता पाउने बिश्वास छ ।।”
रारासम्म वाइरोड टुर प्याकेज सञ्चालनका लागि भारतको वल्ड अफ ओभरल्यान्ड एड्भेन्चर ट्राभल ऐजेन्सीसहितको एक समूहले नयाँदिल्ली–रारा सड्कको सर्भे गरेर फर्किसकेको छ । ५ सदस्यीय टोलीले यात्रा गर्ने मार्गको रकी गरेर फर्केको बताइएको छ ।
एकसाताको टुर प्याकेजका लागि भारतीय एजेन्सी र होटल सेन्ट्रल प्लाजाबीच हालै सम्झौता भएको छ । २२ जना भारतीय पर्यटकसहित २६ जनाको टोली सहभागी हुने उक्त टुरमा भारतीय पर्यटकका १० वटा आफ्नै सवारी साधन रहने छन् । एउटा गाडीमा २ जना बसेर आफैं चालकका रूपमा सहभागी हुने गरी प्याकेज डिजाइन गरिएको हुँदा पर्यटकहरूले नयाँ किसिमको अनुभूति गर्न सकिने भएको छ । जेठ ४ गते कोहलपुरबाट कालीकोट प्रस्थान गरेको टोली ५ गते रारा पुग्ने छ । त्यहाँ २ रात त्यहाँ बसेर जेठ ८ गते कोहलपुर आइपुग्ने निर्देशक अर्यालले जानकारी दिए ।
दिल्लीदेखि कोहलपुरसम्म व्यवस्थापनको जिम्मा वल्र्ड अफ ओभरल्यान्ड एड्भेन्चरको भए पनि कोहलपुरदेखि रारासम्मको व्यवस्थापनको सम्पूर्ण जिम्मा सेन्ट्रल प्लाजाको रहेको छ ।