काठमाडौं। आन्तरिक हवाई उड्डयनमा वुद्ध एयरको आधा भन्दा बढी बजार हिस्सा रहेको पाइएको छ। नेपाल नागरिक उड्डयन प्राधिकरणले उपलब्ध गराएको तथ्यांकमा बुद्ध एयरको बजार हिस्सा ४७.२९ प्रतिशत छ।
सन् २०१८को तथ्यांक अनुसार वुद्ध एयरबाट १३ लाख २५ हजार ४ सय ९ जनाले यात्रा गरेका छन्। वुद्धले २८ हजार ८ सय ८१ फ्लाइटमार्फत यी यात्रु बोकेको हो। भरपर्दो र सुरक्षित भएकै कारण यात्रुको रोजाईमा परेको कम्पनीका बजार प्रमुख रुपेश जोशीले बताए। कम्पनीसँग सात वटा ७२ सीटे एटिआर,तीन वटा ४२ सीटे एटिआर र दुईवटा विचक्राफ्ट जहाज छ।
कम्पनीले जुलाईसम्ममा अर्को ७२ सीटे एटिआर थप्दैछ। वुद्धपछि दोस्रो स्थानमा यति एयरलाइन्स छ।तर वुद्ध र यतिबीच बजार हिस्सा झण्डै आधाकै फरक छ। यतिले एक वर्षको अवधिमा १९ हजार एक सय ४० वटा उडान मार्फत छ लाख ६८ हजार छ सय ६४ यात्रुलाई सेवा दिएको छ। यतिको बजार हिस्सा २३.९१ प्रतिशत मात्रै छ।
हाल कम्पनीसँग चारवटा एटिआर ७२ र छ वटा जेट स्ट्रीम जहाज संचालनमा छन्। क्षमता विस्तारका लागि कम्पनीले निकट भविष्यमा थप एउटा एटिआर ७२ भित्र्याउने जनाएको छ। फ्लाइट मुभमेन्ट बढी भएपनि साना जहाज(जेट स्ट्रीम)को संख्या बढी र ठूला जहाज(एटिआर ७२)को संख्या कम भएकाले यात्रुको संख्या कम भएको कम्पनीका अपरेशन म्यानेजर गोविन्द पौडेलले जानकारी दिए।
स्टल रुटमा उडान गर्दै आएको यति एयरलाइन्सकै भगिनी कम्पनी तारा एयरले चार हजार आठ सय ४६ उडानमा ५२ हजार दुई सय ४६ यात्रुलाई सेवा दिएको छ। कम्पनीले ट्वीनअटर डोर्नियर सहित छ वटा जहाज संचालन छ। फिक्सविङमा केही वर्ष अघि आएको श्री एयरलाइन्सले एग्रेसिभ रुपमा बजार हिस्सा बढाएर बजार हिस्साका आधारमा तेस्रो बनेको छ। एक वर्षको अवधिमा श्रीले ८८ सय २८ उडानमार्फत चार लाख सात हजार आठ सय ७७ यात्रुले सेवा लिएका छन्।
श्रीको बजार हिस्सा १६.१ प्रतिशत पुगेको छ। हेलिकोप्टर संचालन गर्दै आएको यो कम्पनीले फिक्सविङ संचालनमा ल्याएपछि वुद्ध र यतिको बजार खोसेको छ।सिआरजे सिरिजका जहाज मात्रै भएकाले वुद्ध र यतिले उडान भर्ने सबै स्थानमा यो कम्पनीका जहाज उड्न सक्दैनन्। त्यसैले यो कम्पनीले दुईवटा टर्बोप्रोब जहाज ल्याउँदैछ।
एक महिनाभित्र दुई वटा टर्बोप्रोब जहाज भित्र्याउने योजना रहेको प्रवक्ता अनिल मानन्धरले जानकारी दिए।
’नेपाल नागरिक उड्डयन प्राधिकरणमा डकुमेन्टेसनको प्रक्रिया अन्तिम चरणमा रहेको छ। दुईवटा जहाज एक महिनाभित्रै ल्याउने योजना बनाएका छौँ।’ प्रवक्ता मानन्धरले बिजमाण्डूसँग भने। हाल कम्पनीसँग ४० सिट क्षमताको दुईवटा सिआरजे ४० र दुईवटा ७० सिट क्षमताको सिआरजे ७०० संचालित छन्।
एक वर्षको अवधिमा तीन हजार एक सय २६ उडान गरेको समिट एयरमार्फत ४२ हजार एक सय ७२ यात्रुले सेवा लिएका छन्। चारवटा एलइटी जहाजमध्ये दुई महिना अघि एउटा जहाज लुक्ला दुर्घटनामा परेपछि छिट्टै एउटा जहाज थप्ने योजना रहेको कम्पनीले जनाएको छ। नयाँ आर्थिक वर्ष सुरु भएपछि कम्पनीले नयाँ योजना सहित आफ्नो क्षमता विस्तार गर्ने प्रवन्ध निर्देशक मनोज कार्कीले बताए। उनका अनुसार समिटले स्टल रुट तर्फको बजार हिस्सा ३३ प्रतिशत ओगटेको छ।
हाल तीन वटा जहाज संचालन गर्दै आएको कम्पनीले जहाज संख्या पाँच पुर्याउने कम्पनीकाअध्यक्ष विकास राणाले जानकारी दिए। उनले भने ’हामी सँग चारवटा जहाज थियो। लुक्ला इन्सिडेन्टका कारण एउटा जहाज घटेको छ। त्यसको रिप्लेस छिट्टै गर्दैछौँ। निकट भविष्यमा जहाज संख्या पाँचवटा पुर्याउने हाम्रो लक्ष्य छ।’ अध्यक्ष राणाले भने।
सिता एयरले एक वर्षको अवधिमा २८ सय तीस उडानमा ३० हजार चार सय सात यात्रुलाई सेवा दिएको छ। चारवटा डोर्नियर जहाज भएको कम्पनीले मुलुकको विकट गन्तब्यमा उडान गर्दै आएको छ। दुई वर्ष अगाडी नयाँ व्यवस्थापन आएको कम्पनीले भएकै जहाजमार्फत प्रभावकारी रुपमा सेवा दिने कम्पनीका बरिष्ठ महाप्रवन्धक घनश्याम आचार्यले जानकारी दिए।
नेपाल वायुसेवा निगमले एक वर्षको अवधिमा ३९ सय ५५ उडानमा ७९ हजार ७२ यात्रुलाई सेवा दिएको छ। प्राधिकरणले तयार पारेको तथ्याङ्क अनुसार निगमको बजार हिस्सा २.८३ प्रतिशत लिएको छ। आन्तरिक उडान विस्तारको लागि निगमले तीन महीनाको अन्तरालमा इन्स्ट्रक्टर पाइलट तयार गरेर आक्रामक रुपमा उडान गर्ने जनाएको छ। आन्तरिक उडानका लागि निगमसँग छ वटा चिनियाँ र दुईवटा ट्विनअटर जहाज छन्।
यसैगरी सिम्रिक एयरलाइन्सले एक वर्ष अवधिभर ३२ सय ९२ उडानमा ४४ हजार पाँच सय २२ यात्रुलाई सेवा दिएको छ। प्राधिकरणले तयार पारेको तथ्याङ्क अनुसारकम्पनीको कजार हिस्सा १.५९ प्रतिशत रहेको छ।
सौर्य एयरलाइन्सले एक वर्षको अवधिमा २३ हजार ८८वटा उडानमा एक लाख ६१ हजार एक सय ४२ यात्रुलाई सेवा दिएको छ। प्राधिकरणले तयार पारेको तथ्याङ्क अनुसार कम्पनीले ३.८० बजार हिस्सा ओगटेको छ। कम्पनीले दुईवटा सिआरजे २०० जहाज मध्ये एउटा जहाजले चार्टर उडान गर्दै आएको छ।
वसन्तराज उप्रेती /बिजमाण्डू